बुधबार राति १२ बजेबाट मेचीनगर एक हप्ता सिल( के–के खुल्छन् ?)

जीआर धिताल
मेचीनगर । बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ ।

मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट श्रावण १३ गते राति १२ बजेबाट साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर नगरपालिका क्षेत्र सिल गर्ने निर्णय भएको मेचीनगर कार्यवाहक प्रमुख मीना उप्रेतीले जानकारी दिइन् ।

कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै नगरपालिकामा सोमबार बसेको कोभिढ १९ संक्रमण नियन्त्रण समितिको बैठकले कम्तिमा एक हप्ताका नगर सिल गर्ने प्रस्ताव गरेको थियो ।

कार्यपालिकाको बैठकले समितिको सोही प्रस्तावको कार्यान्वयन गर्दै नगरपालिका अत्यावश्यक केही सेवाहरु वाहेक सम्पूर्ण क्षेत्र बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

सिल अवधिमा अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोरमैला व्यवस्थापन, विद्युत तथा सञ्चार सम्बन्धि सेवा मात्र सञ्चालनमा आउने छन् ।

त्यस्तै दुध, अण्डा, फलफुल, तरकारी पसल विहान ६ बजेदेखि ८ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ ।

नगरभित्र सञ्चालनमा आउने कक्षा ११ को परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने छ ।

अन्य पसल, व्यवसाय, होटल, बैंक तथा बित्तीय संस्थाहरु समेत पूर्णरुपमा बन्द रहने छन् ।

कोभिड–१९ विरुद्धको खोप लगाउने सन्दर्भमा तोकिएका उमेर समुहका अशक्त सोवाग्राहीहरुले सवारी साधन प्रयोग गरी खोप केन्द्रसम्म जानु परेमा उमेर खु्ल्ने कागजात र तोकिएका अन्य समुहका ब्यत्तिः तथा अग्रपंक्तिका कर्मचारीको हकमा परिचय पत्र साथै बोकीमात्र आवतजावत गर्न पाइने उल्लेख छ ।

साथै नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान अत्यावश्यक वाहेकका अन्य सेवाहरु समेत बन्द रहनेछन् ।

कार्यपालिकाको बैठकले कोभिड – १९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पिसीआर तथा एन्टिजिन परीक्षणको दायरा बढाइने कार्यपालिको बैठक पछि आयोजित पत्रकार भेटघाटको अवसरमा जानकारी गराइएको छ ।

कोरोना संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन बरालले मेचीनगरमा एन्जिटनि विधिबाट परीक्षण जारी रहेको तथा केही दिन स्थगित भएको पिसीआर परीक्षणलाई शीघ्र सुचारु गरिने जानकारी दिए । बरालले संक्रमणको अवस्था यकिन गरी यसको नियन्त्रणमा कार्यदलले सक्रियता बढाउने बताए ।

सो अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बन्दाबन्दीको कार्यान्वयनको पक्ष चुनौती पूर्ण रहे पनि जारी गरिएको आदेशलाई कडाईका साथ लागु गरिने बताए ।

उनले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीलाई आम नगरबासीहरुको तर्फबाट सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरे ।

झापामा हालसम्म ७ पालिकाले सिल गर्ने निर्णय गरि सकेका छन् । झापाका बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई, दमक र शिवसताक्षी यसअघिनै सिल गरिएका छन् ।

त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै गौरादह र बिर्तामोड नगरपालिकाले समेत नगर क्षेत्र सिल गर्ने निर्णय गरेका छन् ।

यस्तो छ कार्यपालिकाको निर्णय :