विश्वेश्वरलाई सम्झने दिन

झापा । वीपी कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला । नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम ।

वीपी कोइरालाको नामबाटै सुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस पार्टी तथा उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

यसपालि पनि नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले वीपी कोइरालालाई साउन ६ गतेको अवसर पारेर सम्झिदै छन् ।कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । कोइराला २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।