प्रदेश १ को बजेट ३२ अर्बभन्दा बढी

विराटनगर । प्रदेश १ सरकारको आर्थिक वर्ष २०७८्०७९ को विनियोजन विधेयक (बजेट) सार्वजनिक भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङबुहाङले प्रदेशसभासमक्ष बजेट प्रस्तुत गरेका हुन् । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा केन्द्रित रही ल्याइएको भनिएको यो बजेट कुल ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको रहेको छ । कुल बजेटमध्ये पुँजीगत बजेट १५ अर्ब पाँच करोड ३५ लाख रुपैयाँ अर्थात् कुल बजेटको ४६.३ प्रतिशत रहेको छ भने चालु खर्चतर्फ १४ अर्ब १६ करोड १५ लाख रुपैयाँ अर्थात् कुल बजेटको ४३.६ प्रतिशत विनियोजन गरिएको छ ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख रुपैयाँ अर्थात् कुल बजेटको १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रू. ४ अर्ब ९ करोड ७७ लाख, राजस्व बाँडफाँडबाट रू. ९ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ समपुरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ र विशेष अनुदानबाट ५९ करोड ३३ लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिने भएको छ ।

बाँकी अपुग रकम नगद मौज्दातबाट २ अर्ब रुपैयाँ तथा वैदेशिक अनुदानबाट २६ करोड १३ लाख रुपैयाँ व्यहोरिने बजेटमा उल्लेख छ ।