झापा। झापामा जापानिज इन्सेफलाइटिस (जेई) का कारण ७ जनाको मृत्यु भएको छ । सन् २०२६ को जुनदेखि हालसम्म जिल्लामा जापानीज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन् । उनीहरूमध्ये ७ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा सबैभन्दा धेरै मेचीनगर नगरपालिकामा चार जनामा जेईको संक्रमण देखिएकामा दुई जनाको मृत्यु भइसकेको छ भने जेईका कारण अर्जुनधारा नगरपालिका, बारहदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकामा जेई भाइरसको संक्रमणका कारण एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा जेई संक्रमणबाट ७ जनाको मृत्यु भएको छ, यो देशभरका जिल्लामध्ये सबैभन्दा बढी हो । सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु भएको छ भने मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रेपलाञ्चोक, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा १–१ जनाको मृत्यु भएको छ ।
भोलिदेखि खोप अभियान सुरु
झापा र कैलाली जिल्लामा जापानीज इन्सेफालाइटिसको रोग दर र मृत्युदर सबैभन्दा उच्च रहेका छ । त्यसैले यी जिल्लालाई उच्च प्राथमिकतामा राखी खोप अभियान सञ्चालन गर्न गरिएको छ ।
झापामा भोलिदेखि जापानीज इन्सफलाइटिस विरुद्धको खोप अभियान सुरु हुँदैछ । असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत झापाका १५ वटा पालिकाका ३० वर्ष माथिका ४ लाख ८५ हजार ५५ जनालाई जेई विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासले जानकारी दिनुभयो ।
खोप अभियानका लागि प्रत्येक पालिकामा आवश्यक जनशक्ति तयार गरिएको र जिल्लाका सबै पालिकामा जेई खोप आपूर्ति गराइसकिएको उहाँले बताउनुभयो ।
कुन पालिकामा कति खोप ?
अभियान अन्तर्गत कनकाई नगरपालिकामा २६ हजार जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
त्यस्तै, मेचीनगर नगरपालिकामा ६४ हजार ८४४, बुद्धशान्ति गाउँपालिकामा २५ हजार ९३३, अर्जुनधारा नगरपालिकामा ४१ हजार ३, शिवशताक्षी नगरपालिकामा ३६ हजार १७२ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
यस्तै, कमल गाउँपालिकामा २६ हजार ३६३, दमक नगरपालिकामा ५२ हजार २८३, गौरादह नगरपालिकामा २९ हजार ५५०, गौरीगञ्ज गाउँपालिकामा १७ हजार ४२६, झापा गाउँपालिकामा १९ हजार २७१, बाह्रदशी गाउँपालिकामा १८ हजार ६१२, बिर्तामोड नगरपालिकामा ५६ हजार ६४०, हल्दिबारी गाउँपालिकामा १६ हजार ७३, भद्रपुर नगरपालिकामा ३६ हजार ६३४ र कचनकवल गाउँपालिकामा २० हजार २५१ जनालाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कस्तो अवस्थामा खोप दिनु हुँदैन ?
गर्भवती महिला, पहिले खोप लगाउँदा एनापÞmाइलेक्सिस् भएको वा खोपमा भएको कुनै तत्वको गम्भीर प्रकृतिको एलर्जी भएको भएमा, ज्वरो आएको अवस्थामा पनि यो खोप लगाउनु हुँदैन । तर, ज्वरो कम भएमा वा ठीक भएपछि यो खोप लगाउन सकिन्छ । एचआइभी संक्रमण वा एड्स भएका व्यक्तिले खोप लगाउन नहुने जनाइएको छ ।
के हो जेई ?
जापानिज इन्सेफलाइटिस (जेई) भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

