रुख्खिएको मन


डिल्लीराम भण्डारी

यो मन रुख्खिएको छ,
हाँसो कतै गुम्सिएको छ ।
हाँसौ हाँसौँ लाग्ने यो मन
आज खोइ किन थलिएको छ ।

यो मन त बिरामी झै झोक्राइरहेको छ,
विस्वको कहाली लाग्दो झट्काले
यो मुटु झस्किएको छ ।
म हेर्छु साथीहरू अझै काममा ब्यस्त
मानौं यहाँ केही भएको छैन ।

तर हैन यहाँ उथलपुथल भएको छ,
स्कूल जाने मेरो नानी मावल गएको छ ।
पसल जाने मेरी श्रीमती चुलोचौका
अनि छिमेकीका कपाल कोर्दै
गफमा भुलेकि छ ।

म र मेरो काम को कुनै टुंगो छैन,
स्वदेश न बिदेश सबै चकमन्न छ ।
म अलमलिएको बटुवा जस्तो
मेरा निमुखा नानीलाई सम्झिन्छु ।

मुसुक्क हाँस्दै छेउ आउँछ १३ महिने मेरो कान्छो छोरो ।
उ अबोध छ, उ केवल भोक जान्दछ
म रुञ्चे हाँसो फर्काउन कोशिस गर्छु
भित्रभित्रै अमिलो हुन्छ यो मन ।

हाँस्ने दबाई नखोज साथी
यो बज्रपात खस्यो सबैमाथि ।
तिमि पनि त्यस्तै आधि मुस्काउँदै
ति हुर्कदै गरेका अनुहारमा भुलिन्छौ
मलाई थाहा छ, म मात्रै हैन
भोलि धेरै भोका हुँदैछन् ।

कतिले बुझे कतिले बुझेनन्
सुन्छु कोभिडको नयाँ भेरियन्ट,
यो मात्रैले मन बुझाउन सकिन
लागेको भोक तह लाउन कठिन ।

न सरकार सुन्छ न कर्मचारी,
न डाक्टर जान्दछ न त जट्टाधारी ।
सबै सशङ्कित झै लाग्छ,
आँफुलाइ भुलाउन नयाँ खेल रच्छ ।
मानौं उनीहरु सुरक्षीत छन् ।

तर मलाई थाहा छ,
तिनको आत्मबल दरिलो छ
वास्तबिकता त भित्र धेरै अमिलो छ ।

काँकरभिट्टा, झापा ।

तपाईको प्रतिक्रिया