झापामा चट्याङले लागेर प्रहरी चौकी इन्चार्जको मृत्यु

भद्रपुर । झापामा सोमबार राति चट्याङले लागेर प्रहरी चौकी प्रमुखको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय सहायक निरीक्षक महादेव ठाकुर छन् ।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो ।

उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए । गस्तीमा उनीसहित दुईजना निस्केका थिए । सँगैरहेका प्रहरी हवल्दार सकुशल रहेका बताइएको छ ।

तपाईको प्रतिक्रिया