काँकरभिट्टामा अझै तयार भएन होल्डिङ, स्रोत पर्खदै सेना


जीआर धिताल
काँकरभिट्टा । काँकरभिट्टा नाकामा निर्माण गरी तत्काल सञ्चालनमा ल्याउने भनिएको एक हजार क्षमताको होल्डिङ सेन्टरले अझै पूणर्ता पाउन नसकेको पाइएको छ ।

वैशाख १३ गते झापा जिल्ला अन्तर्गत रहेको जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले पूर्वी नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निणर्य गरेको थियो । तर, निणर्य भएको ९ दिन भइसक्दासमेत निर्माणले पूणर्ता पाउन सकेको छैन् ।

गतसाल जस्तै यो वर्षसमेत काँकरभिट्टा माविको मैदानमा दुई वटा टेन्ट टाँगेर नेपाली सेनाले होल्डिङको स्वरुप खडा गरेको छ । विगतको भन्दा स्तरीय होल्डिङ बनाउने सरकारको योजना अनुसार स्रोत जुटाउन समय लागेको प्रशासन स्रोतले जानकारी दिएको छ ।                                                                                                                                                                                                                        

होल्डिङ स्थापना र सञ्चालनको जिम्मा पाएको चारआली स्थित नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापाले आफुहरुसँग भएको टेन्ट प्रयोग गर्दै होल्डिङ निर्माण गर्न सुरु गरिएको तर पर्याप्त सामग्री र स्रोतको अभावमा यसले पूणर्ता पाउन नसकेको बताए ।

पोहोर साल होल्डिङमा प्रवेश गरेका नागरिकले धेरै समय कुर्नुपर्ने बाध्यता देखिएको र होल्डिङबाटै संक्रमण फैलने संभावना भटिएकाले यस पटक त्यस्ता समस्या आउन नदिन नाका प्रवेश विन्दूबाट एन्टिजिन नेगेटिभ आएका नागरिकहरुलाई मात्र होल्डिङमा राखिने गरिको तयारी भइरहेको प्रमुख सेनानी थापाले बताए ।

एन्टिजिन पोजेटिभ भेटिएकाहरुलाई प्रवेश बिन्दूसँगै रहेको टेन्टमा राखेर सम्बन्धित स्थानीय तहसम्म पठाउने तयारी भइ रहेको र सोको कार्यान्वयका लागि प्रशासनसमक्ष अनुरोध गरिएको थापाले जानकारी दिए ।

यसरी हेर्दा सीमानाकामा होल्डिङ स्थापनासँगै स्क्रिनिङको काम सुरु हुन अझै कति समय लाग्ने हो भन्ने टुंगो देखिदैन । सामग्रीको अभावमा काम सुरु गर्न नसकेको सेनाले प्रशासनले स्रोत उपलब्ध गराएको एकदिन भित्रमै स्क्रिनिङको काम सुरु गर्ने जनाएको छ ।

आवश्यक स्रोत जुटाउने सन्दर्भमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीसहितको उपस्थितिमा काँकरभिट्टमा सुरक्षा समितिको बैठक बस्ने तयारी भइरहेको झापाका प्रमुुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

भारतमा दैनिक चारलाख भन्दा धेरै कोरोना संक्रमित थपिरहँदा भारतमा रहेका नेपालीहरु दैनिक २ सयको हाराहारीमा नेपाल प्रवेश गरिहेको नाकामा रहेको सशस्त्र प्रहरीको काँकरभिट्टा विओपीको तथ्यांकले देखाएको छ ।

जसमा एन्टिजिन पोजेटिभ आउनेको संख्या समेत दैनिक जसो भएको स्वास्थ्य शाखाले राखेको अभिलेखमा देखिएको छ ।

व्यवस्थित होल्डिङ सेन्टरको अभावमा नाका छिरेका सबै नागरिक सिधै आफ्नो गन्तब्यतर्फ प्रस्थान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया