ब्राण्डिङ कि समाजको रूपान्तरण ?

जसरी पनि निर्वाचन जित्ने, अनि त्यस कार्यका लागि जस्तो सुकै कार्यको अवलम्वन गर्नाले समाजको रुपान्तरण सम्भव छैन  । निर्वाचन नजिते पनि नागरिकका मनमा वस्ने सकिन्छ र एक दिन अवश्य जीत हात पर्नेछ भन्ने सोच आजको आवश्यकता हो । व्राण्डलाई मात्र भजाउने समय सकिँदैछ ।

‘नेताज्यू कहिले आउनु भयो, भोट माग्न आउनु भएको हो ?’ एक मानसिक सन्तुलन गुमाएकी जस्तो देखिने एक महिलाले रुम्जाटार विमास्थल बाहिर निस्कँदै गर्दा गरिएको प्रश्न थियो । कोभिडको लकडाउन पश्चात बन्द रहेको रुम्जाटार विमानस्थल सुनसान भएपनि एक पटक हेर्ने इच्छाले विमानस्थल फर्कदै गर्दा जब ति महिलाले यो प्रश्न गरिन, आफु नेता नभएको र भोट नमागेको भएपनि यो प्रश्नको सामना गर्ने हिम्मत भएन र विषयवाट भाग्नका लागि छिटो छिटो हिँड्नुको विकल्प थिएन ।

आफु कुनै स्वास्थ्य विशेषज्ञ नभएकाले ति महिला मानसिक अवस्था गुमाएकी हुन् कि हैनन् भन्न नसकिए पनि सामान्य हुलियाको आधारमा मात्र अन्दाज गरिएको हो । मानौँ ति महिला मानसिक अवस्था गुमाएकी भएपनि उनले नेतालाई सोधेको प्रश्न भुइँ तहका मानिसले सोध्ने प्रश्न नै हो । सम्वृद्ध नेपाल र सुखी नेपालीको नारा गुञ्जायमान भएको अवस्थामा आम मानिसले यस्ता प्रश्न सोध्ने हिम्मत निकाल्दैन, किनकी यातायातको पहुँच प्राय सबैतिर देखिन्छ । साना ठुला सवारी साधन चलेका छन् । यत्रतत्र नागवेली आकारमा सडकहरु देखिन्छन् । तराईको तुलनामा घरहरु राम्रा देखिन्छन् । पहाडका सदरमुकाम र पक्का सडक आसपास सम्पन्नता र सम्वृद्धिको अनुभूति हँुदै गएको देखिन्छ । यात्राका साथीहरुले पनि सडकहरु खुलेको, मानिसहरुले रोजगारी पाएको र सरकारले राम्रो काम गरेको जस्ता धारणा राख्ने गरेको पाइयो । घुमघाम र मोजमस्तीमा हिँडेकाहरुले भुइँ तहका मानिसहरुका जीवनका पलहरु अनुभूति गर्ने कुरै भएन ।

मानसिक सन्तुलन गुमाइएका, घरवार गुमेका, गम्भीर रोग लागेर पीडामा छटपटाइरहेका, सडक बालबालिकालगायत सबैका लागि सरकार नागरिकको अभिभावक नै भएपनि, ति महिला जस्तै नागरिकको वास्तविक समस्या के हो भन्ने वारेमा को गम्भीर भएको होला र । उनले सोधेको एक प्रश्नको आधारमा यति त पक्कै भन्न सकिन्छ कि सरकारसँग उनका गुनासा रहेका छन् । उनको नजरमा पनि नेता भोट माग्नका लागि मात्र आउने मात्र रहेका छन् । उनी भित्रका अनेकन समस्याको आँकलन गर्न सकिन्छ । हुन सक्छ १० वर्षको द्वन्द्वमा उनका आफन्त गुमेका होलान, घरवार क्षत विक्षत भएको होला लगायतका समस्याको बोझ उनको मस्तिष्कले वोक्न नसकेको होला । नेपालमा कम्युनिष्ट पार्टीको सरकार भएकाले हो कि आफ्ना पीडाको नेताले सम्वोधन गर्ने आशा बोकेर त्यस्तो पश्न गरेकी पनि हुन सक्छ ।
देशमा कम्युनिष्ट व्राण्डको सरकार रहेको छ । व्यापार व्यवसायमा व्राण्डको महत्व धेरै हुन्छ । सामानहरु खरिद गर्दा व्राण्डका आधारमा नै खरिद गर्ने आम मानिसको चलन रहेको नै छ । व्यापार सफल वनाउनका लागि विज्ञापनको महत्वपूर्ण भूमिका हुने निश्चित नै छ । तर अहिले राजनीतिक वजारमा देखिएको विज्ञापन र यसले पार्ने व्यापारिक एवम् लाभको प्रभाव राजनीतिमा लामो समय पक्कै पनि रहन सक्दैन । जसको उदाहरण धेरै देशमा देख्न सकिन्छ । छिमेकी भारतको पश्चिम वंगालमा माक्र्सवादी कम्युनिष्ट पार्टीको सरकार ३४ वर्षसम्म समय चल्यो तर अहिले त्यहाँ कम्युनिष्टहरु रक्षात्मक मात्र हैन दयनीय अवस्थमा पुगेका छन् ।

पश्चिम बंगालमा भएका अनेकन कमी कमजोरीका वावजुद फेरी माक्र्सवादीहरु सच्चिन थालेको देखिएको छ । हालै पश्चिम वंगालको इलाकाको वैशाली निर्वाचन क्षेत्रमा एकातिर सिटिङ्ग एमेले जगमोहन डालमियाकी छोरी वैशाली डालमिया र अर्कातिर माक्र्सवादीका तर्फवाट ज्वाहरलाल नेहरु विश्व विद्यालयमा पपुलेसन जोग्रफीमा पि.एच.डि. गर्दै गरेकी दिपसिता धर रहेकी छन् । विविसी हिन्दी सेवाका पत्रकारले लोकतन्त्र र निर्वाचन महँगो हँुदै गएको विषयमा सोधिएको एक प्रश्नको उत्तर नेपालका कम्युनिष्ट पार्टीका महोदयहरुले पनि सुन्न लायक छ ।

दिपसिता भन्छिन ‘कम्युनिष्टहरुले जहिल्यै पुँजीपती विरुद्ध नै लड्ने हो । धनि र सम्पन्न पुँजीपतीले मजदुरको श्रम पसिनालाई आफ्नो पुँजी बनाउने भएकाले कम्युनिष्टहरुले उनीहरुको विरुद्ध लड्नुको विकल्प छैन । निर्वाचनका लागि कम्युनिष्टहरुको संगठन र तिनै गरिव र विपन्न वर्गका आधारभूत सवाल र ति सवाल सम्वोधन गर्ने प्रतिवद्धता मात्र आवश्यक छ ।’

आज कम्यूनिष्टको व्राण्ड भजाउनेहरुका लागि दिपसिताको भनाइ महत्वपूर्ण हुन्छ भन्ने हेतुले मात्र उद्धरण गरिएको हो । आज हरेक निर्वाचनमा उम्मेद्वार छान्नेदेखि चुनावका अभियान संचालन गर्ने सम्वन्धमा पैसा नभएका तर ज्ञान विवेक भएकाहरु पाखा लागेका छन् । जसले ठेकेदारी र अवैध धन्दा गरेर भएपनि पैसाको प्रचुरता देखाउन सक्छ त्यही ब्यक्ति नै उम्मेद्वारदेखि विजयी बन्नेसम्मको अवस्था सिर्जना भएको छ । २८ वषकी दिपसीता जस्तो साहस देखाउन यहाँका युवा तयार देखिदैनन् । नेताको भक्तिभाव गर्ने र उनीहरुले जे भनेपनि ठिक भन्ने र मात्र आफ्नो राजनीतिक भविष्य देख्ने अवस्थाले युवाहरु समेत परिवर्तनका वाहक बन्न सकेका छैनन् ।

समाजशास्त्री जे.एस.मिग्डलका अनुसार जब राजनीतिक दलहरु जनताका मनमा बस्न सक्दैनन् त्यस पश्चात सामाजिक संघ–संस्थाहरुमा हस्तक्षेप गर्दछन् । हाम्रोमा पनि आज सामाजिक संस्थाहरुका पदाधिकारी छनौटदेखि निर्वाचनसम्ममा दलहरुले प्रत्यक्ष हस्तक्षेप सुरु गरिसकेका छन् । सामाजिक संस्थाहरुलाई विशुद्ध सामाजिक रुपमा राख्न नसकेका कारण आज सामाजिक संघ–संस्थाहरुलाई गैरसरकारी संस्थाहरुले हेर्ने दृष्टिकोण परिवर्तन भएको मात्र हैन नेपालमा हुनुपर्ने सामाजिक आन्दोलनहरु कमजोर भएका छन् । अर्कोतर्फ राजनीतिक दलहरु मध्ये पनि कम्युनिष्ट पार्टीका नेताहरु जनताका दुःख–सुखमा जोडिनुपर्नेमा क्रमशः उनीहरु जनताका दुःख–सुखमा जोडिने भन्दा पनि ठेकेदारी र अवैध ब्यापार गर्नेहरुसँग जोडिने मात्र हैन अन्तरघुलन समेत भएका छन् ।

सतही रुपमा देशको अवस्था हेर्दा प्रगतिको पथमा गएको देखिन्छ । ठुला ठुला महल निर्माण भएका छन् पहाडदेखि तराईका हरेक स्थामा सडकको संञ्जाल नै बनेको देखिन्छ । पर्यटन क्षेत्रको नाममा भएका क्रियाकलापहरु र विकास निर्माणमा प्रारुपहरु हेर्दा काम भएको देखिएको छ । तर जति विकास निर्माणको गति वढेको देखिन्छ त्यति नै मात्रामा रोजगारको सिर्जना हुन सकेको देखिदैन । शिक्षा र स्वास्थ्य जो आम मानिसले प्रत्यक्ष फाइदा लिन सक्छन त्यसको गति झिनो मात्रामा वढेपनि जति मात्रामा वढ्नु पर्ने हो त्यती वढ्न सकेको छैन ।

वास्तविक रुपमा समाजको रुपान्तरण आजको आवश्यकता हो । समाजमा भएका सवै वर्ग, तह र तप्काका नागरिकहरुले अनुभुति गर्ने खालको कार्यहरु आम मानिसका अपेक्षा हुन । जसरी पनि निर्वाचन जित्ने, अनि त्यस कार्यका लागि जस्तो सुकै कार्यको अवलम्वन गर्नाले समाजको रुपान्तरण सम्भव छैन  । निर्वाचन नजिते पनि नागरिकका मनमा वस्ने सकिन्छ र एक दिन अवश्य जीत हात पर्नेछ भन्ने सोच आजको आवश्यकता हो । व्राण्डलाई मात्र भजाउने समय सकिँदैछ । चुस्त संगठन र जनताका वास्तविक सवालहरुलाई मुद्धा नबनाउने र तल्लो वर्गको जीवनमा रुपान्तरण नहुने हो भने एक दिन यो ब्राण्डिङ काम नलाग्ने हुनेमा ढुक्क भए हुन्छ  ।

तपाईको प्रतिक्रिया