भारतसँगको हारको जिम्मेवार म हुँ, खेलाडी होइनन् : प्रशिक्षक अलमुताइरी

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भयो ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गर्‍यो । जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको पहिलो जित हो ।

खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको खेलमा सन्तुष्टि जनाए ।

‘हामीले राम्रो खेल्यौं । एक गल्ति गर्‍यौं । त्यसैमा एक गोल खायौं । हामी फिनिसिङमा भाग्यमानी हुन सकेनौं । सबै कुरा ठिक छ । अब हामीसँग फाइनल पुग्न एक मात्र अवसर बाँकी छ । हामी बंगलादेशलाई हराउनेछौं र फाइनल पुग्नेछौं । अब हामी अर्को खेलका लागि काम गर्नेछौं,’ उनले खेलपछि भने ।

नेपालले भारतविरुद्ध रक्षात्मक खेलेको हो ? भन्ने प्रश्नमा अलमुताइरीले नेपालले रक्षात्मक नखेलेको दाबी गरे ।

‘नेपालले बल गुमाएको अवस्थामा ५-४-१ ले खेलेका हौं । आफूले बल पाएको अवस्थमा ३-४-३ को रणनीतिमा खेलेका हौं,’ उनले आफ्नो रणनीति बारे भने ।

उनले आफूले खेल हारेको तर खेलाडीले नहारेको प्रतिक्रिया दिए । उनले हारको जिम्मेवारी आफ्नो भएको बताउँदै खेलाडीलाई कुनै दोष नदिन आग्रह गरे ।

‘हारको जिम्मेवार म हुँ खेलाडी होइनन्,’ उनले भने ।

साफ च्याम्पियनसिप २०२१ मा अब समूह चरणका अन्तिम दुई खेल बाँकी छन् । आगामी बुधबार नेपाल र बंगलादेश तथा आयोजक माल्दिभ्स र भारतबीच खेल हुनेछ ।

यी दुई खेलपछि फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । दिउँसो ४:४५ बजे नेपाल र बंगलादेशबीच खेल हुँदैछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरीको खाँचो छ । बंगलादेशलाई भने जित आवश्यक छ ।

राति ९:४५ बजे हुने खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ ।

अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेपालको पनि ६ अंक छ ।

भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ । १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ ।