सन्दीप लामिछाने आइसिसी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयन सार्वजनिक गरेको छ ।

मनोनयनमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने ‍परेका छन् । मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकाका ब्याट्सम्यान जस्करण मल्होत्रा परेका छन् ।

सन्दीपले ओमानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट बलिङ गरेका थिए । सिरिजअघि उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा पपुवा न्युगिनीविरूद्ध ६ विकेट लिँदा  ११ रन खर्चिएका थिए ।

ओमानमा सन्दीपले ६ एकदिवसीय खेलमा १८ विकेट लिएका थिए । त्यहाँ उनको औषत ७.३८ रहेको थियो ।

बंगलादेशका नसुमले न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा ८ विकेट लिएका थिए । उनले चौथो खेलमा ४ विकेट लिँदा १० रन मात्र खर्चिएका थिए । सिरिज बंगलादेशले ३-२ ले जितेको थियो ।

अमेरिकाका मल्होत्राले पपुवा न्युगिनीविरूद्धको खेलमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए ।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हिर्काउने चौथो खेलाडी बनेका थिए । खेलमा उनले नटआउट १७३ रन जोडेका थिए ।

फ्यानको भोटको आधारमा महिनाको उत्कृष्ट खेलाडीको विजेता सार्वजनिक गरिनेछ । आइसिसीले आगामी साता विजेता सार्वजनिक गर्ने जनाएको छ ।