राजनीतिक व्यवस्था ठिक छ, अव्यवस्था अन्त्य गरौं : विश्वप्रकाश

जीआर धिताल
मेचीनगर । नेपाली काँग्रेसका प्रवक्ता एवम् महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्माले हालको राजनीतिक व्यवस्था नभई यसमा देखिएको अव्यवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

विचार प्रचार प्रसार समितिले आइतबार बिर्तामोडको अग्रसेन भवनमा आयोजना गरेको अवधारणा सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले राजनीतिमा अब केवल त्रुटी औल्याउने मात्र नभई त्यसलाई सच्याउने गरीको अभियान सुरुवात आँफैबाट गर्न आम कार्यकर्ताहरुलाई आग्रह गरे ।

शर्माको ‘हिजो राजनैतिक परिवर्तन, आज राजनीतिमा परिवर्तन’ नामक अवधारणा सार्वजनिक कार्यक्रमको अवसरमा बोल्दै उनले २४ बुँदे अवधारणासमेत प्रस्तुत गरेका छन् ।

शर्माले संविधान बनाउँनेले इमान्दारिता प्रकट गर्न जरुरी रहेको बताउँदै संविधानमा विमती राख्नेको भावना के हो ? बुझ्न जरुरी रहेको बताए ।
सरकारको नेतृत्व जुनसुकै पार्टीले गरे पनि साझा परराष्ट्र नीति आवश्यक रहेको बताउँदै उनले विदेशीसँगको धारणा र सम्बन्ध नेपालको तर्फबाट साझा हुनु पर्ने बताए ।

पार्टीका राजनीतिक द्वन्द्व आ-आफ्नै ठाउँमा रहेपनि बन्दै गरेका सडक, हुँदै गरेका विकास निर्माणका गतिविधि रोकिनु नहुनेमा उनको जोड थियो ।

शर्माले सरकार केवल बन्नेमात्र नभई चल्न सक्ने वाताारण बन्नु पर्ने भन्दै राजनीतिमा निराशामात्र नभई आश जगाउँने किसिमको विश्वासको खाँचो रहेको बताए ।

बाल शोषण, सामाजिक असमानताको बिषयमा विषयवस्तुको उठान गर्दै शर्माले राजनीतिक भित्रको परिवर्तनमा जातीय विभेद गर्ने जोकोहीलाई सबै पार्टीले आफ्नो ढोका बन्द गर्नु पर्ने धारणा राखे ।

नेपाल भित्रै दुई वटा नेपाल रहेको भन्दै उनले एउटा नेपालमा कुनै बालक विहानको १० बजे विद्यालय जाने अनि अर्को नेपालमा एक बालक दिउँसोको २ बजेसम्म होटलको टेबुल पुस्दै गरेको दृश्य देख्न सकिने भन्दै उनले ३३ प्रतिशतको अधिकार भित्र रहेका महिलाहरु क्षेत्रीय प्रतिनिधि र नेतृ बनेर राजनीतिमा देखिदा थुप्रै महिलाहरु मुम्बईको कोठी र रेमिट्यान्सको बाकसमा सपना तुयाउँन बाध्य बन्नु परेको टिप्पणी गरे ।

नेपालमा चुुनाव खर्चिलो हुँदै गएको बताउँदै शर्माले इमानको पैसा र इमानको अन्न खाएर राजनीति गर्न पाउने की नपाउने भन्दै प्रश्न गरे ।

काँग्रेसको हाल भइ रहेको अधिवेशनलाई संकेत गर्दै शर्माले केका लागि खर्च भइ रहेको छ ? कस्ले गर्दैछ खर्च ? भन्दै प्रश्न गरे ।

हालको राजनीतिमा ब्यक्ति नभई पद्धतिको दोष भएको भन्दै उनले निर्वाचन मितब्ययी बनाउने गरीको राजनीतिक रुपान्तरण आवश्य रहेको धारणा राखे ।

राजनीतिक असहिष्णुता हावी हुँदै गएको बताउँदै शर्माले एमाले नेता मदन भण्डारीको शब्दकोशमा राजनीतिक असहिष्णुता कहीँ कतै नभेटिएको तर तिनै पार्टीका नेताहरु आँफ्नै मित्रसँग असहिष्णु किन ? भन्दै प्रश्न गरे । उनले सहिष्णुता मर्दै गए, हार्दै गए त्यो लोकतन्त्र नहुने भन्दै उनले यसबाट मानिसमा राजनीतिप्रतिको निराशा बढेर जाने उल्लेख गरे ।

भष्ट्रचार ऐनले नसुध्रने भन्दै उनले नेपालको सन्दर्भमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सभासद चार पटकसम्म हुन पाउने कानुनी ब्यवस्था गर्न सके हाल सिंहदरबार भित्र देखिएको भिड आँफै हट्ने दावी गरे ।

हजार वा लाखौंको भिड सडकमा उतार्न पाउनु लोकतन्त्र नभई दुःख कष्ट झेलेका बुढी आमाबुवाहरुले सिंहदरबार भित्र छिरेर सरकारसमक्ष दुखेसो गर्न पाउने गरीको न्यायको फास्ट ट्रयाक निर्माण गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उपस्थित भएका सबैले सामुहिकरुपमा राष्ट्र गानमा सरिक हुँदै उद्घाटन गरिएको कार्यक्रममा सिमित वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

काँग्रेस झापाका उपसभापति राम कट्टेलले विश्वप्रकाशलाई महामन्त्रीमा जिताउँन सिंगो झापा काँग्रेस लागि पर्ने बताए ।

केन्द्रीय सदस्य दिलिप राईले विलक्षण प्रतिभा भएका शर्मालाई जित्नेमा आँफू विश्वस्थ रहेको बताउँदै काँग्रेसमा निहित गुट भित्र चाकडी गर्ने तथा गुटको पछि लागेर विभेद गरुन्जेल काँग्रेस अघि बढ्न नसक्ने ठोकुवा गरे ।

महासमिति सदस्य सुर्य सुब्बाको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले स्वागत गरेको कार्यक्रममा प्रवक्ता शर्मा, काँग्रेस झापा उपसभापति तथा सभापतिका उम्मेद्वार कट्टेल, केन्द्रीय सदस्य राई, महासमिति सदस्य नौतली राजवंशीलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमिति सदस्य तथा प्रचार विभाग प्रमुख तेजप्रसाद चौलागाईंले गरेका थिए ।