सेयर बजारमा ‘बुल’ सकिएको हो, कस्ता छन् बजार घट्ने आधार ?

काठमाडौं । भदौ २ गते सेयर बजारको परिसूचक नेप्सेले नयाँ कीर्तिमानी ३१९८ कायम गर्‍यो। त्यसयता बजार घटिरहेको छ ।

बुधबार परिसूचक ३०७६ मा झरेको छ। मंगलबार ५६ र बुधबार ४८ अंकले बजार घटेको हो ।

परिसूचक मात्रै होइन, कारोबार रकम पनि घटिरहेको छ । भदौ ३ गते साढे २० अर्बको कारोबार भएकोमा हिजो मंगलबार १६ र आज १२ अर्बमा सीमित भयो ।

सेयर बजार बढ्नु र घट्नु यसको विशेषता नै रहे पनि उच्च अंकको कीर्तिमानी कायम गरेपछिको गिरावट पनि ठूलै हुने गरेको छ। कतिपयले यो बजार घटाइलाई ‘बुल’ को चरण नै सकिएको दावी गर्छन्। कतिपयले भने यो सामान्य सुधार मात्रै रहेको तर्क गर्छन् ।

खासगरी बजारमा यतिबेला सेयर किनेर बसेकाले बुल आउनै बाँकी छ भन्ने हल्ला गर्ने गरेका छन् भने बेचेर बसेकाले बुल सकिएको दावी गर्दै आएका छन् । तर बजारलाई प्रभाव पार्ने तत्वहरू कति शक्तिशाली छन् भन्नेमा निर्भर रहन्छ ।

बजारको उतारचढावमा मुख्यतः सैद्धान्तिक पक्षहरु बढी महत्वपूर्ण हुन्छन् । राष्ट्र बैंकले सेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गर्नुले नै बजारलाई असर पारेको बताउँछन् सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल ।

राष्ट्र बैंकले गरेको यो गलत व्यवस्था सच्चिनुपर्ने फुल्लेलको तर्क छ ।

‘हामीसँग सम्पत्ति छ, हाम्रो सम्पत्ति धितो राखेर ऋण लिन किन नपाउने, त्यसको जोखिम त अरूले लिइदिनु पर्दैन । व्यक्तिगत सम्पत्तिको अधिकारमा नियामकले बन्देज लगाउन मिल्छ र?,’ उनले प्रश्न गरे ।