द्वन्द्व रुपान्तरण केन्द्रले बाँड्यो सर्वसाधारणलाई दशहजार मास्क

मेचीनगर । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सरकारले सञ्चालन गरेको मास्क अभियानलाई सहयोग गरेको छ । केन्द्रले झापासहित अन्य जिल्लाहरुमा मास्क अभियान अन्तर्गत सर्वसाधारणलाई मास्क वितरण गरेको हो ।

सरकारले गत साउन २३ गतेदेखि सुरु गरेको साताव्यापी ‘तपाईंको मास्क खोई ?’ भन्ने अभियानलाई ऐक्यबद्धता जनाउँदै मेचीनगर, अर्जुनधारा, कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिकाका विभिन्न चोक/बजार क्षेत्रमा गरी १० हजार थान मास्क वितरण गरिएको केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले जानकारी दिइन् ।

यसैबीच, केन्द्रले शुक्रवार मेचीनगर क्षेत्रमा मास्क वितरण गरेको छ । मेचीनगरको धुलाबारी, काँकरभिट्टा र चारआली क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क वितरण गरेको केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति थापाले बताइन् ।

‘महामारी नियन्त्रण रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मुख्य नाराका साथ सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । मास्क नलगाई हिँड्डुल गर्ने व्यक्तिलाई लक्षित गरी वितरण गरिएको हो ।

धुलाबारी बजारमा मास्क वितरण गर्न वडा नं. ९ का वडाध्यक्ष गोपाल खड्का, वडा सदस्यहरु तथा प्रहरीले सहयोग गरेका थिए । प्रत्येक पालिकाको समन्वयमा मास्क वितरण गरिएको केन्द्रले जनाएको छ । यसअघि पनि केन्द्रले स्थानीय पालिकाहरुलाई महंगो मूल्यको स्वास्थ्य सामाग्री निःशुल्क सहयोग गरेको थियो ।