पत्रकार महासंघको निर्वाचन आज

झापा । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । उम्मेद्वारहरुले भेटघाट गरेर, फोन गरेर र सामाजिक सन्जालमार्फत् भोट मागेका छन् । यो पटक केन्द्र, प्रदेश र जिल्लाको एकैपटक निर्वाचन हुँदैछ ।

महासंघको केन्द्रीय नेतृत्वका लागि विपुल पोख्रेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्यानलसहित चुनावी मैदानमा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा निर्मला शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकीले प्रतिष्पर्धा गर्दैछन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिष्पर्धा गर्दैछन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दैछन् भने महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दैछन् ।

प्रदेश तथा जिल्ला समितिहरुको नयाँ नेतृत्वका लागि पनि बुधबार नै मतदान हुँदैछ । प्रदेश तथा जिल्लाका केही पदहरुमा भने पत्रकारहरु सर्वसम्मत चयन भएका छन् ।

महासंघ झापाको नेतृत्व कस्ले लैजाला भन्ने चर्चा बढेको छ । आगामी तीन वर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा तिनजनाको उम्मेद्वारी परेको छ ।

व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलको तर्फबाट वर्तमान उपाध्यक्ष एकराज गिरी, पत्रकार विशाल नेम्वाङ र तिर्थ सिग्देल चुनावी मैदानमा उत्रिएका छन् । यस्तै खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलको तर्फबाट केशव भट्टराई, गोपाल झापाली र हिमाल खरेलको उम्मेद्वारी परेको छ । महिला उपाध्यमा शुशिला संग्रौला र सावित्रा दाहालको उम्मेदवारी परेको छ । यस्तै सचिवमा डिकेश लामा, सुब्रत न्यौपाने र प्रेम आचार्यले उम्मेद्वारी दिएका छन् ।

सहसचिवमा खुल्ला तर्फमा राजु पाठक, विनोद सापकोटा, समावेशी सहसचिवमा अर्जुन राजवंशी र देशराज नेम्वाङले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाई, रमेश तिवारी उम्मेद्वारी परेको छ । त्यस्तै दलित सदस्यमा २ जना, खुल्ला सदस्यका लागि १९ जनाले उम्मेद्वारी दिएका छन् ।

झापा शाखामा २ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश परिषदमा सबै निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद सदस्यमा ३ जना निर्विरोध निर्वाचित हुँदा ४ जना चुनावी मैदानमा छन् ।

महासंघको निर्वाचन आज विहान ९ बजेबाट बिर्तामोड-२ चारपानेस्थित हिमाल सागर पार्टी प्यालेसमा हुँदैछ ।

तपाईको प्रतिक्रिया