अन्तरद्वन्द्व

कविता 

मलाई आगोले पोल्दैन अचेल,
हिउँ उस्तै न्यानो लाग्न थालेको छ,
नरम स्पर्श गर्छ काँडाले पनि ।

म, रक्ताम्य सुनामी उर्लन्छु आफ्नै नसा नसामा,
ज्वालामुखी बिस्फोट हुन्छु मनदेखि मस्तिष्कसम्म,
पहिरो खस्छु जिन्दगीका उराठीला पाटाहरुमा
अनि, भूकम्प थर्किन्छु छातिबाट, हृदयबाट
र हल्लाउँछु
स्वार्थी सम्बन्धको मतलवि संसार ।

म उंभो उंभो बग्छु विवसताको गुरुत्व बल बगाउँदै,
लाचार जिन्दगीका गल्छि, खोल्सा,
खहरे र नदी हुदै, घ्रिणाले अग्लिएका विशाल पहाड र हिमाल उक्लंदै,
सुक्न लागेको प्रेमसागर भेटाउन ।

मेरा आँखा हरु मन टुसाएको देख्छन निस्ठुर पथ्थर भित्र,
ढुङ्गो उम्रिएको देख्छन कोमल मनको बगैचामा,
अनि कानहरु सुनि दिन्छन् निर्जीव धड्कन हरु,
किन घोच्छ ?
च्वास्स च्वास्स ?
शून्यता भित्रको आवाजको स्पर्शले ?
मेरो घ्राण स्नायु वेचैन छ
कुहिएको मनवताको डङ्डङ्ती दुर्गन्धसंगको महाभारतले,
वस् बाँकी छ एक बिग ब्याङ्ग हुन समग्र शरीर,
अनि बाँकी छ अलगिएको मनले
पिण्ड, समय, शक्ति र ब्रम्हाण्डको सापेक्षता ग्रहण गर्न ।

लालयित छन् मेरा भावनाका काल्पनिक दुष्मनहरु,
मेरो सिर्जनापथ भरी खाल्डो खन्न,
भ्रमको क्रुसमा मेरो मनलाई शूली चढाउन,
र म भित्रको आत्मबिश्वासको घाँटी निमोठ्न ।

चौतर्फी घेरिएको छ मेरो वसन्त पतझर शिशिरहरुले,
खुसिहरु उल्का बनेर खसिरहेछन्
सपनाको अनन्त आकाशमा,
उता खुशीहरु सधैं क्षितिजमा उदाउन खोज्छन मात्रै,
यता दुःख, पीर र वेदनाहरु अस्ताउने चेस्टै गर्दैनन्,
म संग दिन र रातको लुकामारि कहाँ छ र ?
मेरो धरातलले घुम्न विर्सेको छ आफ्नो अक्ष दौडिन थाकेको छ आफ्नो कक्ष ।

त्यसैले, यस्तो कल्पिन्छु आयतन शून्य(2D)
भएरबिलाइदिउ कतै,
यस्तो लाग्छ, कालो छिद्र भन्दा रहस्यमय छ मेरो दुनियां,
म अपरिभाषित हुँ, सत्य भित्रको असत्य जस्तो हुँ,
म आखिर म नै हैन फगत म मात्रै हुं,
बस् म एक द्वन्द्व भित्रको द्वन्दात्मक म हूँ ।

जीवन जगदीश धिताल
शिक्षक (शनिश्चरे मावि, झापा)

तपाईको प्रतिक्रिया