विद्या भण्डारी र अष्टलक्ष्मी शाक्यको २२ वर्षअघि बिग्रेको सम्बन्ध

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्ध ठीकठाक हुँदो हो त नेतृ अष्टलक्ष्मी शाक्य तीन वर्षअघि नै बागमती प्रदेशकी मुख्यमन्त्री हुने थिइन् । पार्टी अध्यक्ष केपी ओली उनीप्रति नरमै थिए । तर, रातारात शीतलनिवास सक्रिय भयो । प्रदेश संसदीय दलमा निर्विरोध हुने अपेक्षा गरिएकी शाक्यविरुद्ध डोरमणि पौडेलले उम्मेदवारी दर्ता गराए र अन्ततः जिते ।

नेकपा विभाजनपछि मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले १० पुसमा अविश्वासको प्रस्ताव दर्ता गरायो । अविश्वास प्रस्तावमा नेतृ शाक्यलाई अबको मुख्यमन्त्री प्रस्ताव गरिएको छ । यसपटक पनि आफूलाई रोक्न राष्ट्रपति भण्डारी सक्रिय रहेको उनले आरोप लगाएकी छन् । ‘अष्टलक्ष्मी मुख्यमन्त्री हुने भई भनेर बालुवाटार र शीतलनिवासलाई बडो चिन्ता छ । सभामुखलाई निरीह बनाएर अल्पमतको सरकारको आयु लम्ब्याइरहेका छन्’, शाक्यले भनिन् ।

राजनीतिक शीर्ष तहमा पुगेका दुई नेतृ भण्डारी र शाक्यको सम्बन्ध अनेक उतारचढाव पार गर्दै अहिलेको कटुतापूर्ण स्थितिमा आइपुगेको हो । राजनीतिको एउटै डुंगामा झण्डै चार दशक सवार भए पनि उनीहरूको सम्बन्धमा हार्दिकता कम, अस्वस्थ प्रतिस्पर्धा र मनमुटाव ज्यादा देखिन्छ ।

विद्या भण्डारीसँग शाक्यको पहिलो भेट २०४१ सालमा विराटनगरमा भएको थियो । त्यतिबेला भण्डारी विद्यार्थी राजनीति गर्थिन् । शाक्य अनेम संघको मेची अञ्चल इन्चार्ज थिइन् । पार्टी इन्चार्ज थिए, उनका पति अमृत बोहोरा । शाक्यले त्यतिबेलै उदीयमान नेतृको परिचय बनाइसकेकी थिइन् । अष्टलक्ष्मी २०३६ सालमै पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत भइन् । तत्कालीन मालेसँग सम्पर्क भएपछि उनी त्यतै लागिन् । उनको पार्टीजिम्मेवारी भने झापामा थियो ।

महिला नेतृका रूपमा विद्या भण्डारीलगायतको अगुवाइमा भएको विद्यार्थी भेलामा सहभागी हुन शाक्य विराटनगर पुगेकी थिइन् । ‘हाम्रो पहिलो भेट त्यहीँ भयो । दिनभरको भेलामा महिला र विद्यार्थी आन्दोलनलाई कसरी सँगसँगै लैजाने भन्नेमा छलफल भयो’, उनी भन्छिन्, ‘नजिकको सम्बन्ध भने बहुदलपछि मात्र भएको हो ।’

बहुदल आएपछि भूमिगत सबै नेताहरू खुला भए । राजनीतिमा कमै महिला मात्र सक्रिय थिए । पञ्चायतकालमा राजनीतिमा आइसकेका महिला पनि बहुदलपछि घरगृहस्थी सम्हालेर बस्न थाले । विद्या भण्डारी पनि निष्क्रिय थिइन् । २०३५ सालमा भोजपुरमा तत्कालीन माले युवा लिगबाट राजनीति थालेकी भण्डारी २०३७ मा तत्कालीन माले पार्टी सदस्य भइन् । २०३९ मा महेन्द्र मोरङ क्याम्पसमा स्ववियु कोषाध्यक्ष भएकी उनी त्यही वर्ष नेता मदन भण्डारीसँग विवाह गरेपछि सक्रिय राजनीतिबाट टाढिएकी थिइन् ।

बहुदलपछि तत्कालीन मालेमा शाक्यलगायत केही नेतृ मात्र सक्रिय थिए । उनी त्यतिबेला अखिल नेपाल महिला (अनेम) संघको अध्यक्ष भइसकेकी थिइन् । पार्टी नेताहरूले पनि आफ्ना पत्नीहरूलाई घरधन्दामै सीमित गर्न थालेपछि शाक्यले असन्तुष्टि जनाइन् ।

नेता पत्नीहरूलाई राजनीतिमा फर्काउन शाक्यको सकारात्मक भूमिका रह्यो । मदन भण्डारी, झलनाथ खनाल, माधव नेपाललाई भेटेरै आग्रह गरेकी थिइन् । ‘आफ्नी श्रीमतीलाई घरमै राखेर अरुका श्रीमतीलाई राजनीति गर्न पठाऊ भन्न मिल्दैन भनेर मैले अड्डी कसेपछि मदन (भण्डारी) कमरेडले विद्याजीलाई अनेम संघमा पठाउनुभयो’, उनी सम्झिन्छिन् । सुरुमा त मदनले बालबच्चा र घर रेखदेख गर्नुपर्छ भनेर आनाकानी गरेका थिए । तर, २०४६ मा भएको अनेमसंघको कीर्तिपुर सम्मेलनमा भण्डारी मोरङबाट प्रतिनिधि बनेर आइन् । त्यसले राजनीतिमा उनको टुटेको कडी जोड्न मद्दत पनि पुर्‍यायो ।

अनेम संघमा जोडिए पनि पार्टी राजनीतिको मूलप्रवाहमा भने विद्या भण्डारी थिइनन् । त्यसैले पार्टी संगठन निर्माण र परिचालनमा शाक्यजति उनी खटिनन् । भण्डारी राजनीतिमा पूर्णकालीन भएर फर्किएको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा पति मदन भण्डारीको निधनपछि हो । लगत्तै भएको उपनिर्वाचनमा एमालेले मदनपत्नी विद्यालाई उम्मेदवार बनायो । शोकलाई शक्तिमा बदल्ने नारासहित चुनावमा होमिएका एमाले कार्यकर्ताले ‘जनताकी छोरी विद्या भण्डारी’ अभियान चलाए । भण्डारीको पक्षमा काठमाडौं १ मा माहौल बनाउने रैथाने नेतामा शाक्य पनि एक थिइन् ।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि भण्डारी एकाएक चर्चामा आइन् । एक वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि उनले सजिलै जितिन् । त्यसपछि हो, नेतृ शाक्य र भण्डारीले एकअर्कालाई प्रतिस्पर्धी ठान्न थालेको । पार्टी राजनीतिमा विद्यादेवी र अष्टलक्ष्मीबीच दुई दशकदेखि चर्को प्रतिस्पर्धा छ । त्यसले सतहमा सामान्य देखिए पनि भित्रभित्रै उनीहरूबीच अस्वस्थ र कटुतापूर्ण सम्बन्ध बन्न पुग्यो ।

पार्टी राजनीतिमा भण्डारी र शाक्य दुवै सफल नेतृ मानिन्छन् । अष्टलक्ष्मी एमालेको पाँचौँ महाधिवेशनयता केन्द्रीय कमिटीमा छिन् । विद्यादेवी २०५४ को छैटौँ महाधिवेशनयता पार्टी नेतृत्वमा थिइन् । संयोग, २०६५ को आठौँ र २०७१ को नवाैँ महाधिवेशनमा दुवै नेतृ तत्कालीन एमालेको उपाध्यक्षमा राम्रो मतसहित निर्वाचित भए । उनीहरूबीच हार्दिकता कमै थियो, तर देशभरका महिला नेता/कार्यकर्ताले दुवैलाई आफ्नो आदर्श ठान्थे । समयक्रममा महाधिवेशनमा हुने प्यानल–गुटबन्दीको असरस्वरूप भण्डारी र शाक्य दुवैले आ-आफ्नो खेमामा मात्र पकड जमाउन थाले ।

भण्डारी र शाक्यबीच मनमुटावको मुहान खोज्दै जाँदा २०५५ पुसमा विराटनगरमा भएको अनेम संघको चौथो अधिवेशनसम्म पुगिन्छ । २०४६ सालको आन्दोलनअघि नै संघको अध्यक्ष भइसकेकी शाक्य तत्कालीन माले र मार्क्सवादीबीच पार्टी एकतापछि महासचिवमा झरिन् । अध्यक्ष भइन्, महिला नेतृ सहाना प्रधान । २०५४ फागुनमा एमाले विभाजनपछि प्रधान मालेतर्फ लागेपछि स्वाभाविक रूपमा शाक्य अनेम संघको अध्यक्ष बन्न चाहन्थिन् । तर, सक्रिय राजनीतिमा फर्किएको चार वर्षमै भण्डारी मुख्य प्रतिस्पर्धी बनेर उदाइन् । त्यसैले  एकीकृत संघको अध्यक्ष शाक्यको धोको भण्डारीका कारण पूरा हुन पाएन् । उनी नेतृत्व प्रतिस्पर्धाबाट बीचैमा बाहिरिएपछि भण्डारी निर्विरोध अध्यक्ष भइन् । ‘केपी कमरेड नै बन्द सत्रभित्रै हस्तक्षेप गर्न आउनुभयो । अनेक चलखेल र गुट भेला हुन थाले । वातावरण राम्रो नदेखेपछि मैले छाडिदिएँ’, उनी भन्छिन् ।

विद्या भण्डारीसँग शाक्यको पहिलो भेट २०४१ सालमा विराटनगरमा भएको थियो । त्यतिबेला भण्डारी विद्यार्थी राजनीति गर्थिन् । शाक्य अनेम संघको मेची अञ्चल इन्चार्ज थिइन् । शाक्यले त्यतिबेलै उदीयमान नेतृको परिचय बनाइसकेकी थिइन् ।

२०५४ फागुनमा एमाले विभाजनपछि सहाना प्रधान मालेतर्फ लागेपछि स्वाभाविक रूपमा शाक्य अनेम संघको अध्यक्ष बन्न चाहन्थिन् । तर, सक्रिय राजनीतिमा फर्किएको चार वर्षमै भण्डारी मुख्य प्रतिस्पर्धी बनेर उदाइन् ।

भण्डारी अध्यक्ष भएपछि उनीहरूबीच कहिल्यै राम्रो सम्बन्ध बनेन । उनी २०६२ र २०६९ मा पनि अध्यक्ष दोहोरिइन् । राष्ट्रपति निर्वाचित हुनुअघिसम्म भण्डारी अनेम संघको अध्यक्ष थिइन् । भण्डारीले अनेम संघलाई एकलौटी रूपमा सञ्चालन गरेको शाक्यको आरोप छ । संघमा शाक्यलाई बोलाउन छाडियो । बोलाए पनि आफूमाथि अपमानजनक व्यवहार भएको सुनाउँदै उनी भन्छिन्, ‘विद्या कमरेडकै व्यवहारका कारण म अनेम संघ जानै छाडेँ ।’

चौथो अधिवेशनदेखि बिग्रेको दुई नेतृको सम्बन्ध अहिलेसम्म उस्तै छ । २०७४ को प्रदेशसभा निर्वाचनसम्म आइपुग्दा उनीहरूको खराब सम्बन्ध छताछुल्ल हुन थाल्यो । बागमती प्रदेशको मुख्यमन्त्री हुन चाहन्थिन्, अष्टलक्ष्मी । तर, आफूभन्दा निकै जुनियर हेटौँडा नगरपालिकाका पूर्वमेयर डोरमणि पौडेललाई रातारात उम्मेदवार बनाएर आफूलाई योजनावद्ध रूपमा संसदीय दलमा हराइएको उनको आरोप छ ।

हुन पनि प्रदेशसभा निर्वाचनमा भावी मुख्यमन्त्रीका रूपमा शाक्यको प्रचार गरिएको थियो । चुनाव लड्नुअघि नै अध्यक्ष केपी ओलीलाई भेटेर उनले सल्लाह मागेकी थिइन् । राष्ट्रपति भण्डारीले त्यतिबेलै उम्मेदवारीसमेत रोक्न खोजेको उनको दाबी छ । ओलीले भने ‘जित्न सक्नुहुन्छ भने लड्नुस्, मेरो साथ रहन्छ’ भनेर वचन दिएका थिए । शाक्यले चुनाव जितिन् पनि । तर, संसदीय दलको नेता निर्वाचित हुन सकिनन् । पार्टीभित्रको केपी ओली–माधव नेपाल गुटको चर्को रस्साकस्सी एउटा कारण थियो, मुख्य कारण भने उनलाई रोक्ने राष्ट्रपति भण्डारीको रणनीतिलाई मानिएको छ । ओली समूह बहुमतमा रहेको प्रदेशसभाका सदस्यहरूलाई पौडेलको पक्षमा भोट हाल्न शीतलनिवासबाटै निर्देशन दिइएको शाक्य बताउँछिन् ।

मुखैमा आएको मुख्यमन्त्रीबाट वञ्चित गरिएपछि नेतृ शाक्य राष्ट्रपति भण्डारीसित आगो हुने नै भइन् । त्यसको रिस उनले राष्ट्रपति निर्वाचनमा फेर्न खोजिन् । राष्ट्रपति भण्डारीलाई दोहोरिन नदिन उनले भएभरको बल लगाइन् । एउटै व्यक्तिलाई दोहोर्‍याउन नहुने तर्क गर्दै नेतृ शाक्यले २२ फागुन २०७४ को पार्टी  स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाललाई उम्मेदवार प्रस्ताव गरेकी थिइन् । तर, उनको केही सीप लागेन । आफूविरुद्ध पार्टीमा बनेको नकारात्मक माहौल रातारात उल्ट्याएर भण्डारी राष्ट्रपतिमा दोहोरिइन् ।

‘मदन भण्डारीले सधैँ मलाई सहयोग गर्नुभयो । उहाँकी श्रीमतीमा भने महत्त्वाकांक्षा र अहङ्कार मात्र छ’, शाक्यले भनिन्, ‘उहाँ प्रशंसा मात्र मन पराउनुहुन्छ । वरपर ‘एस म्यान’ राखेर खुसी हुनुहुन्छ । विद्याजी मदन भण्डारीको असल श्रीमती हो । तर पार्टी, संगठन र राजनीति बुझेको मान्छे होइन ।’

शाक्यसँग राजनीतिक संघर्षको लामो अनुभव भए पनि अरु नेतृको प्रगति देख्न नसक्ने कुण्ठा रहेको राष्ट्रपति भण्डारीले निकटस्थसँग भन्ने गरेकी छन् । राष्ट्रपति भइसकेपछि पनि शाक्यले उनलाई आलोचनाको तारो बनाइरहेकी छन् । राजनीतिक विषयवस्तु एकठाउँ छ, त्योभन्दा अधिक पुराना मनमुटाव र असन्तुष्टिहरूले काम गरेको भण्डारीनिकटको बुझाइ छ ।

भण्डारी पहिलोपल्ट राष्ट्रपति हुँदा शाक्य पनि खुसी थिइन् । विगतका तितामीठा बिर्सेर राष्ट्रपति भइसकेपछि आफूहरूप्रतिको व्यवहार परिवर्तन हुने उनले ठानेकी थिइन् । तर, बितेका छ वर्षमा शीतलनिवासबाट एक पटक पनि उनलाई भेटको निम्तो आएन । राष्ट्रपतिले महिला नेतृ र विज्ञको परामर्श लिएर हिँड्नुपर्ने ठान्छिन् उनी । विविध क्षेत्रका व्यक्तिसँग राष्ट्रपतिले भेटेको खबर थाहा पाउँछिन् । तर, आफू र पार्टीका प्रतिस्पर्धी नेतृलाई कहिल्यै नसम्झिएकोमा उनको चित्त दुखाइ पनि छ ।

भण्डारीले शीतलनिवासबाटै पार्टी र गुट चलाएर मन नपरेका नेतालाई सिध्याउने खेल खेल्ने गरेको भन्दै नेतृ शाक्य आफूमा कुनै कुण्ठा नभएको बताउँछिन् । ‘मदन भण्डारीले सधैँ मलाई सहयोग गर्नुभयो । उहाँकी श्रीमतीमा भने महत्त्वाकांक्षा र अहङ्कार मात्र छ’, उनले भनिन्, ‘उहाँ प्रशंसा मात्र मन पराउनुहुन्छ । वरपर ‘एस म्यान’ राखेर खुसी हुनुहुन्छ । विद्याजी मदन भण्डारीको असल श्रीमती हो । तर पार्टी, संगठन र राजनीति बुझेको मान्छे होइन ।’

भण्डारी र शाक्यको पार्टी नेकपा विभाजन भइसकेको छ । त्यसैले अब झन् सम्बन्ध सुध्रिन्छ भन्ने दुवैलाई लाग्न छाडेको छ ।

 

तपाईको प्रतिक्रिया