यसरी मारिएको रहेछ भागरथीलाई

झापा । दोगाडाकेदार गाँउपालिका-७, बैतडीकी १७ बर्षिया किशोरी भागरथी भट्टको हत्यारालाई तेह्र दिनपछि प्रहरीले आज सार्वजनिक गरेको छ । हत्या आरोपमा सोही ठाउँका दिनेश भट्टलाई पक्राउ र आवश्यक अनुसन्धानपछि आज जिल्ला प्रहरी कार्यालय,बैतडीमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो । स्थानीय विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथीलाई सोही विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्र दिनेशले हत्या गरेको पुष्टि भएको छ ।

विद्यालयबाट माघ २१ गते दिउँसो २ बजे एक्लै फर्किंदै गरेको मौका पारेर भागरथीलाई बाटो छेउको जंगलमा बलात्कारपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । साँझसम्म पनि घर नफर्केपछि मोबाइल स्वीच अफ भएको पाइएको र भोलिपल्ट दिउँसो ४ बजे स्थानीय लडालेकको लबलेक जंगलको सडक छेउबाट अन्दाजी ३० मिटर तल मृत अवस्थामा फेला पारिएको थियो ।

दिनेशले घचेट्दै जंगलको खोल्सामा लडाई पहिले बलात्कार र त्यसपछि हत्या गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र प्रदेश प्रहरीको संयुक्त अनुसन्धानबाट खुलेको छ । मृत अवस्थामा भेटिएकी किशोरीको टाउकोमा चोट,घाँटीमा दबाइएको नील डाम,खुट्टाको औंलामा पनि डाम र शरीरको तल्लो भागको संवेदनशील अंगबाट रगतजस्तै पदार्थसमेत बगेको थियो ।
पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीले दिएको जानकारीअनुसार भट्टले प्रहरीसमक्ष अपराध स्वीकारेका हुन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीमा मृतक भागरथीका दाइले दिएको किटानी जाहेरीसँगै प्रहरीले दिनेशमाथि अनुसन्धान सोझ्याएको थियो । अनुसन्धान र सोधपुछको क्रममा दिएको बयान,घटनामा संलग्नताको आधार र टेलिफोन ट्रयाक तथा लोकेशनको आधारमा दिनेशको अपराध पुष्टि भएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

भागरथीको हत्याको बिरोधमा स्थानीयवासीले आयोजना गरेको विरोध कार्यक्रममा समेत दिनेशले सहभागिता जनाउँदै आएका थिए । अन्ततः प्रहरीसँग भट्टले मृतक भागरथीका बुबाले आफ्नी फुपुलाई दुर्ब्यवहार गरेकोमा त्यसैको रिसइवी साँधेको बताएका छन् । भागरथीका बुबाको हालै निधन भइसकेको छ ।

घटनाको दिन अभियुक्त विद्यालयको अन्तिम कक्षा बहिस्कार गरेर घर हिँडेको र घटनास्थलमा भागरथीभन्दा पहिल्यै पुगेर ढुकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सडकको माथिल्लो भागमा ढुकेर बसेका भट्टले किशोरीलाई खोल्सा नजिकैबाट बाटोभन्दा तलतिर धकेलेर लडाएको थियो । त्यसपछि सबै काम सकेर भागरथीको साथमा रहेको मोबाइलको ब्याट्री झिकी घटनास्थल नजिकै फालिदिएको र त्यहि बाटो हुँदै घर गएको तथ्य समेत प्रहरीले पत्ता लगाएको छ ।

तपाईको प्रतिक्रिया