प्रहरीले हत्यारा जोगाउन खोजेको भन्दै उर्लावारीमा प्रहरी कार्यालय घेराउ

मोरङ । मोरङको उर्लावारीका एक युवकको हत्या घटनामा संलग्न अभियुक्तलाई जोगाउन खोजेको भन्दै मृतकका आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेका छन् ।

गत पुस ५ गते मृत फेला परेका उर्लाबारी-६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको हत्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका हुन् ।

आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन्।

घटनाको मिसिल बनाउँदा प्रहरीले मृतकको सट्टामा अर्कै व्यक्तिको तस्बिर राखेको मृतककी बहिनी सदिक्षा बास्तोलाले बताएकी छन्।

यस्तै मृतकका ज्वाइँ दीपेन्द्र पौडेलले यो घटनामा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका छन्। उनले घटनालाई कमजोर पार्न खोजेर प्रहरीले न्याय मारेको उनले बताए।

यसैबीच इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घटनामा कुनै कमी कमजोरी नगरेको बताएका छन्। उनले प्रहरीले गरेको अनुसन्धानमाथि शङ्का नगर्न पनि आग्रह गरेका छन्।

हत्या घटनाको छानबिनमा इलाका प्रहरी कार्यालयले लापरवाही गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा प्रहरी नायब उपरीक्षक राईको नेतृत्वमा प्रहरी सहायक निरीक्षक दिवस कुँवर र प्रहरी हवल्दार रमेश थापा छन् । ‘आइतबार नै प्रहरी नायब उपरीक्षक राईको नेतृत्वको छानबिन समितिले अनुसन्धान शुरु गरेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले भने ।

मृतकका परिवारले किटानी जाहेरी दिएपछि जोरहीका आधारमा पक्राउ परेका व्यक्तिहरुलाई सरकारी वकिलको कार्यालयसम्म पुर्‍याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ। अहिले पनि मृतकका आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया