प्रचण्ड-नेपाल नेकपा झापाको अध्यक्षमा बेदराज

झुलन रेग्मी । जीआर धिताल

मेचीनगर । पार्टी विभाजन भएसँगै नेकपा प्रचण्ड-नेपाल समुहको झापाको अध्यक्षमा बेदराज रेग्मी चयन भएका छन् ।

उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए । नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक ओली पक्षमा लागेपछि नयाँ अध्यक्ष चयन गरिएको हो । सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ रहेका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड-नेपाल समूहले भागबण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी नौ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड-नेपाल समूहले जनाएको छ ।

६८ जिल्ला अध्यक्ष र सचिव चयन गरे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ । यसअघि प्रचण्ड-नेपाल समूहले पार्टी संगठनभित्र ५०-५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी नौबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।

‘रेडगार्ड स्क्वायर्ड’ हुँदै जिल्लाको जिम्मेवारीमा

मेचीनगर । नेकपाको अनौपचारिक विभाजनको दृश्य जिल्ला तहदेखि गाउँसम्म आइपुग्दा एकअर्काले आफ्ना पक्षका कमिटीहरु धमाधम गठन गरिरहेका छन् ।

ओली पक्षीय नेकपाले आफ्नो कमिटी गठन गरेको केही दिनपछि प्रचण्ड-माधव पक्षले समेत सोमबार जिल्ला कमिटी विस्तार गरेको छ । प्रचण्ड-माधव पक्षले पुराना कम्युनिस्ट नेता बेदराज रेग्मीलाई जिल्ला तहको नेतृत्व सुम्पिएको छ ।

विसं २०१२ सालमा ताप्लेजुङको तत्कालीन तेल्लोक गाविसमा जन्मिएका रेग्मी २०२८ सालमा झापा झरे । झापा झरेसँगै २०२९ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका रेग्मी तत्कालीन ‘रेडगार्ड स्क्वायर्ड’ को रुपमा रहेर राजनीतिक यात्रा प्रारम्भ गरे । रेडगार्डलाई त्यो बेला सक्रिय दल कमिटी भनिथ्यो ।

१७ बर्षकै उमेरबाट राजनीतिमा होमिएका उन्ले २०३१ सालमा तत्कालीन नेकपा मालेको झापा जिल्ला मध्य दक्षिण कमिटीको सचिवको जिम्मेवारी प्राप्त गरे । कलिलो मस्तिष्कमै विजारोपण भएको राजनीतिक चेतनाले उनलाई सानै उमेरमा राजनीतिप्रति जिम्मेवार र बफादार बनाउँदै लग्यो ।

पार्टीको विभिन्न भूमिकामा रही निरन्तर जिम्मेवारी निर्वाह गरेका उनी २०४१ सालको नेकपा मालेको जिल्ला अधिवेशनबाट औपचारिक रुपमा जिल्ला कमिटी सदस्य पदमा चुनिए ।

पञ्चायतकालमा पार्टीहरु माथि प्रतिबन्ध लाग्दासमेत भूमिगत रुपमै उनी जिल्ला तहमा कम्युनिस्ट राजनीतिको गोडमेलमा लागि परे । पञ्चायती व्यवस्था ढाल्न झापाबाट उठेको आन्दोलनमा नेकपा मालेबाट उनी लगायतका पार्टीका कमरेडहरु भूमिगत रुपमै लागि परेका थिए । आन्दोलनकै क्रममा २०४६ साल चैत ५ गते निरंकुश पञ्चायती सरकारले उनलाई जिल्लाको दमक क्षेत्रबाट विद्रोहको आवाज उठाएको भन्दै गिरफ्तारी गर्यो ।

पञ्चायती सरकारको निरंकुश कदम ढाल्न देशभरबाट जनताहरु जागे । आम जनताको विरोध र सरकार विरोधी आन्दोेलनले राष्ट्रिय रुप लियो । फलस्वरुप २०४६ साल चैत २६ गते पञ्चायती सरकारले घुँडा टेक्न बाध्य भएको थियो ।

देशमा बहुदलीय व्यवस्थाको घोषणा भएसँगै गिरफ्तारीमा परे अन्य नेतासँगै उनी समेत रिहा भए । व्यवस्था फेरिएसँगै नेता रेग्मीको राजनीति सक्रियता वाममोेर्चातर्फ निरन्तर अघि बढी रह्यो ।

२०४७ साल वैशाख ५ गते झापा जिल्ला कमिटी गठन भएसँगै नेपालमै पहिलो पटक झापामा नेकपा मालेको पार्टी कार्यालय स्थापना भयो । त्यहाँ उनी कार्यालय प्रमुखको रुपमा सचिव भएर काम गरे । २०४७ सालको अन्त्यतिर माक्सवादीहरुसँग एकीकरण भयो र नेकपा एमालेको विजारोपण भयो ।

२०४९ सालमा मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा एमालेको बहुदलीय जनवादको पक्षमा चलेको महाधिवेशनमा रेग्मी झापाको तर्फबाट प्रवक्ताकै रुपमा सहभागी भए । त्यसपछि लगातार उनी झापा जिल्ला कमिटीमा निर्वाचित भइरहे । २०४८ सालको निर्वाचनमा नेकपा एमालेले लालकिल्ला कायम गर्दा उनी पार्टी प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

२०५६ सालमा पार्टी विभाजन भई पुनः रेग्मी नेकपा मालेको जिल्ला कमिटीको नेतृत्व सम्हाल्न सचिवको जिम्मेवारीमा आए । पार्टी विभाजनका कारण निर्वाचनमा पराजय भोगेपछि पुनः पार्टी एकीकरण भयो र रेग्मी अञ्चल कमिटी सदस्यको रुपमा पार्टीमा सक्रिय भए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको ऐतिहासिक बाम एकतापछि नेकपा गठबन्धनको उनी प्रदेश कमिटीमा रहेर राजनीतिक यात्रा अगाडि बढाए ।

पार्टी भित्रको आन्तरिक कलह र विवाद बढ्दै जाँदा पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि यतिबेला पार्टीमा धु्रवीकरण चुलिएको छ । प्रचण्ड-माधव र ओली गरी दुईपक्ष विभक्त भएको सिंगो नेकपा यतिबेला दुई चिरा भएको छ ।

नेकपाको प्रचण्ड-माधव पक्षले झापा जिल्ला कमिटीको अध्यक्षमा झापाको बाह्रदशी निवासी पुराना कम्युनिस्ट नेता रेग्मीलाई पार्टी हाक्ने जिम्मेवारी दिएको हो । जन-संसद् दैनिकसँगको कुराकानीमा माधव-प्रचण्ड पक्षका झापा अध्यक्ष बनेका रेग्मीले भने, ‘पार्टीले फेरि एकपटक मलाई विश्वास गरेर संक्रमणकालीन अवस्थामा जिम्मेवारी दिएको छ । यसलाई चुनौती र अवसर दुवै लिएको छु ।’ आफ्ना शुभेच्छुकले फोन गरेर बधाइ दिँदामात्र आफूलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्तो पाएको उनले सुनाए । ‘पार्टीको केन्द्रीय सचिवालयको निणर्य रहेछ’, रेग्मीले भने, ‘अहिलेको अवस्थामा बहुमत सदस्य नेता र कार्यकर्ताको साथ हामीलाई छ, यो राम्रो पक्ष हो ।’ कुशल ढंगले नेतृत्व गर्दै प्रतिगमन सच्याउन अघि बढ्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया