पाँचथरका निर्दलले जीते साइक्लिङ

धुलाबारी । झापाको धुलाबारीमा सम्पन्न साइक्लिङ प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले जीतेका छन् ।

१५० जना प्रतियोगीलाई पछि पार्दै फिदिमका केरुङले निर्धारित ४० किमि यात्रा १ घण्टा २८ मिनेटमा पार गरे । च्याम्पियन बनेका केरुङलाई प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले नगद ३५ हजार, प्रमाणपत्रसहित ट्रफी र गिफ्टहेम्पर प्रदान गरे ।

त्यस्तै १ घण्टा ३६ मिनेटमा निर्धारित यात्रा पार गरेका ताप्लेजुङका आशिष गुरुङले दोस्रो स्थान हासिल गर्दा १ घण्टा ३८ मिनेटमा यात्रा पुरा गरेका ताप्लेजुङ कै प्रविन राई तेस्रो भए । गुरुङ र राईले क्रमश नगद ३० हजार र २५ हजार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट दशौं स्थानसम्म हासिल गरेका सचिन रिमाल दमक, आकाश श्रेष्ठ बिर्तामोड, विष्णुकुमार राई बुद्धशान्ति, प्रशिद्ध बस्नेत बिर्तामोड, सुदिपकुमार गेडी धुलाबारी, युद्ध राई एवम् अजय राई मेचीनगरलाई एक हजार नगद, ट्रफी र गिफ्टहेम्परसहित पुरस्कृत गरिएको सञ्चारकर्मी सचिन सुब्बाले जानकारी दिए ।

४० किलोमिटर दुरीको प्रतियोेगिता धुलाबारीदेखि सुरु भई पुरानो टिमाई शरणार्थी शिविर, शान्तिनगर, बहुवन, बेशीबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर सम्पन्न भएको थियोे ।

प्रतियोगितामा सहभागी पुरुषका लागि ३ घण्टा र महिलाका लागि ४ घण्टाको समय तोकिएको थियो ।

आन्तरिक पर्यटन प्रबर्धन गर्ने उद्देश्यका साथ जेनियम युवा क्लब धुलाबारीले ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा साइकल चलाऔँ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रबर्धन गरौँ भन्ने नारा तय गरिएको थियो ।

वडा नं ९ र १० का वडा अध्यक्ष क्रमश गोपाल खड्का र सुदयकुमार पनेरुले उद्घाटन गरेको प्रतियोगिताको समापन समारोहको प्रमुख अतिथि प्रदेश सांसद बुढाथोकी रहेका थिए ।

क्लबका अध्यक्ष धनराज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कमल नेपालले गरेका थिए ।

तपाईको प्रतिक्रिया