खोपले कसरी काम गर्छ ?

हाम्रोवरिपरि सबैतिर सूक्ष्म जीवाणुहरू छन् । हाम्रोवरिपरिको वातावरण र शरीरमा रहेका सूक्ष्म जीवाणुहरू ब्याक्टेरिया, भाइरस वा परजीवीको सम्पर्क र लडाइँका क्रममा शरीरमा रोग लाग्छ, मृत्युसमेत हुन सक्छ ।

हाम्रो शरीरमा जीवाणुविरुद्ध लड्ने थुप्रै हतियार छन् । पहिलो चरणमा छाला, म्युकस र सिलिया (फोक्सोबाट फोहर बढार्ने सूक्ष्म रौँहरू) ले जीवाणुलाई शरीरभित्र छिर्नबाट रोक्छन् ।

यदि जीवाणुहरू यहाँबाट उम्केर हाम्रो शरीरभित्र प्रवेश गरिहाले भने हाम्रो शरीरले यसको प्रतिरक्षा गर्छ, जसलाई प्रतिरक्षा प्रणाली भनिन्छ । यो प्रणालीले जीवाणुमाथि हमला गर्छ । यसपछि जीवाणु नष्ट हुन्छ वा जीवाणु शरीरमा हाबी हुन्छ । यो लडाईंको क्रममा व्यक्तिलाई रोगका लक्षण देखापर्छन् ।

शरीरको प्राकृतिक प्रतिक्रिया

सूक्ष्म जीवाणुका स-साना विभिन्न भाग हुन्छन्, जसलाई ‘एन्टिजिन’ भनिन्छ । यिनै एन्टिजिनको प्रतिक्रिया दिन हाम्रो शरीरमा ‘एन्टिबडी’ बन्ने गर्छन् । एन्टिबडी रगतका विशेष सेता रक्तकोष ‘बी सेल’ ले उत्पादन गर्ने प्रोटिन हुन् । यी एन्टिबडीले जीवाणुको रसायनलाई निष्कृय पार्छन् वा तिनैसँग बेरिएर जीवाणुले शरीरका कोष छेड्नबाट रोक्छन् । शरीरमा एक पटक एन्टिबडी विकास भइसकेपछि यिनीहरू कैयौँ दिन वा महिनौँसम्म रगतमा रहिरहन सक्छन् ।

जीवाणुको एन्टिजिनको प्रतिक्रियामा बन्ने एन्टिबडी प्रतिरक्षा प्रणालीको महत्त्वपूणर् भाग हुन् । अर्थात्, एन्टिबडीले शरीरमा सिपाहीको काम गर्छन् । यी सिपाही शरीरमा प्रवेश गर्ने एन्टिजिन चिन्न अभ्यस्त भएका हुन्छन् । हाम्रो शरीरमा हजारौँको संख्यामा एन्टिबडी हुन्छन् । जब पहिलो पटक कुनै एन्टिजिन शरीरमा प्रवेश गर्छ, प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गर्न समय लगाउँछ । त्यही समय व्यक्ति बिरामी बन्छ ।

एक पटक एन्टिजिनविरुद्ध विशिष्ट एन्टिबडी उत्पादन भएपछि एन्टिबडीले बाँकी रहेको प्रतिरक्षा प्रणालीसँग काम गर्छ र जीवाणु नष्ट हुन्छ । रोग निको हुन्छ । एउटा किटाणुविरुद्ध उत्पादन भएका एन्टिबडीले अर्को किटाणुविरुद्ध लडाईं गर्दैनन्, किटाणु ज्यादै समान भएको अवस्थामा बाहेक ।

एक पटक शरीरले एन्टिबडी उत्पादन गरेपछि यसले एन्टिबडी उत्पादन गर्ने ‘स्मृति कोषहरू’ सिर्जना गर्छ । जुन कोष जीवाणु मृत भइसकेपछि पनि अस्तित्वमै रहन्छन् । यिनै स्मृति कोषका कारणले त्यस्तै किटाणु फेरि शरीरमा आक्रमण गर्दा किटाणुविरुद्ध छिटो प्रतिक्रिया जनाउँछन् र तत्काल प्रतिरक्षा प्रणालीको निसानामा पर्छन् ।

खोपले कसरी मद्दत गर्छ ?

खोपमा कुनै एउटा निश्चित जीवाणुका कमजोर वा निष्क्रिय भाग राखिएको हुन्छ ।

उदाहरणका लागि कोभिड-१९ विरुद्ध बनाइएको खोपमा कोरोना भाइरसकै वा समान प्रकृतिको भाइरसको अंश राखिएको हुन्छ, जो शरीरका लागि खतरनाक हुँदैनन् ।

खोपमार्फत यिनीहरू शरीरमा पुगेपछि शरीरको प्रतिरक्षा प्रणालीलाई जिस्काउँछन्, प्रतिरक्षा प्रणाली उत्तेजित बन्छ । यसैका कारण शरीरले त्यस्ता जीवाणुविरुद्ध लड्ने एन्टिबडीको विकास गरिहाल्छ ।

भविष्यमा समान खालका वास्तविक जीवाणु शरीरभित्र प्रवेश गरिहालेमा ति जीवाणुविरुद्ध तत्काल एन्टिबडीको विकास हुन्छ र रोग लाग्दैन । पोलियो, रेबिज, दादुरा, हेपाटाइटिस, टिटानास, कोभिड-१९ विरुद्ध जति पनि खोपको विकास गरिएको र गरिँदैछ, यही धरातलमा टेकेर निर्माण भएका हुन् ।

तपाईको प्रतिक्रिया