शिवसताक्षीमा कोभिड अस्पतालको उद्घाटन

झापा । शिवसताक्षी नगरपालिकाले नगरको कोभिड अस्पतालको उद्घाटन गरेको छ ।

नगरको झरना प्राथमिक विद्यालयमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेको हो । नगरपालिकाले ढिलै भएपनि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट सबै पालिकाहरुले आफ्नै कोभिड अस्पताल बनाउने पर्ने परिपत्र अनुसार कोभिड अस्पताल निर्माण गरेको हो ।

अस्पतालको नगरप्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा नगरप्रमुख सेर्मा झरना प्राथमिक विद्यायलको खाली भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरिएको जानकारी दिए । नगरका कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्नका लागि अस्पताल निर्माण गरिएको बताए । उनले विपन्न वर्ग, अशाय, पारिवारिक अवस्था कमजोर भएका संक्रमितहरुले अस्पतालबाट लाभ लिन सक्ने जानकरी दिए ।

हाल अस्पतालमा ५ ओटा बेड राखिएका छन् । डा. सविन ढकालको नेतृत्वमा ४ जना नर्सले २४ घण्टा सेवा दिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा उपप्रमुख भोजकुमारी नेपालले कोरोना भाइरसको संक्रमण दर परीक्षण नगरेका कारण कमी देखिएको बताइन् । नगरमा अहिले पनि कोरोना संक्रमित रहेको उनले जानकारी दिइन् । यस नगर भित्रका अन्य अस्पतालहरुमा उपचारका लागि जाँदा अस्पतालले गरेको पिसिआर परीक्षणमा अहिले पनि कोरोना संक्रमित भेटिएको बताइन् ।

अस्पताल व्यवस्थान गरिएको विद्यालयमा घेराबारा, शौचालय र अन्य अस्पतालका लागि आवश्यक पूर्वाधार तयार पार्दा केही समय अस्पताल सञ्चालनमा ढिला भएको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले जानकारी दिइन् । हाल ५ बेड तयार गरिएको छन् आवश्यक परे बेड थप गर्न समेत सकिने अधिकृत राईको भनाई थियो ।

शिवसताक्षी नगरपालिकामा हाल ३ जना सक्रिय संक्रिमत रहेका छन् । हालसम्म नगरमा संक्रमितको संख्या १ सय ६३ जना पुगेको छ भने, कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भइसकेको छ ।

क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शिवसताक्षी नगरपालिका वडा नं ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष समेत रहेका सामाजिक शाखाका प्रमुख छविलाल पाठककोपनि उपस्थिति थियो । स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट संजय ठकुरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका स्वास्थ्य संयोजक हरि विमलले गरेका थिए ।

तपाईको प्रतिक्रिया