माई मेला सञ्चालन नगर्न झापा जिल्ला प्रशासन निर्देशन

झापा । हरेक वर्षको माघ १ गते माघे संक्रान्तिका दिन लाग्दै आएको मेला यस वर्ष नलगाउन प्रशासनले निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सूचना जारी गरी कोरोना संक्रमणको जोखिम विद्यमान रहेको भन्दै मेलामा अत्यधिक भीडभाड हुने र त्यसबाट संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सो निणर्य गरिएको उक्त सूचनामा उल्लेख छ । मेलामा रोटे पिङ, सर्कसजस्ता मनोरंजनलगायतका कार्यहरु र हाटबजार टेन्ट टाँगेर गरिने व्यापार व्यवसाय गर्न रोक लगाइएको छ ।

कनकाई नदी पूर्व कनकाई नगरपालिका र पश्चिम शिवसताक्षी नगरपालिकामा माई मेला लाग्ने गरेको छ । ती दुवै नगरपालिकाले आआफ्ना निणर्य जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । कनकाई नगरपालिकाले पुष २४ र शिवसताक्षी नगरपालिकाले पुष २६ गते आफ्नो निणर्य पाएको थियो । त्यही निणर्यलाई आधार मानेर मेला नलगाउने निणर्य गरिएको सहायक प्रजिअ पाण्डेले बताए ।

प्रदेशकै ठूलो मेलाको रुपमा चिनिएको माई मेला कोरोना संक्रमणको जोखिमले यस वर्ष नलगाउने निणर्य गरिएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन् ।

उनले स्वस्फुर्त रुपमा मकर नुहाउन आउने मानिसहरुलाई खुल्ला गरिएको जानकारी दिइन् । धार्मिक क्षेत्रमा दैनिक रुपमा बस्ने पूजा सामग्रीको पसलबाहेक पिङ, होटल अन्य सामग्रीका पसल सञ्चालन गरी भीडभाड गर्न नदिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डुु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यहाँ स्नान गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत, भुटान र बंगलादेशबाट समेत हजारौँको सँख्यामा भक्तजन आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया