सन्दीपले होबार्टबाट बिग ब्यास खेल्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी गरेका थिए । जसमा होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार औपचारिक रुपमा सार्वजनिक गर्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिएका छन् ।

‘सन्दीपका विषयमा बिहीबार भित्र सार्वजनिक गर्ने भनेको छ । खेल्ने लगभग पक्का भई सकेको छ । अष्ट्रेलियाको १० बजे सार्वजनिक गर्ने सम्भावना छ,’ रमनले भने । सन्दीपको पारिश्रमिक भने खुलाउन नमिल्ने रमन बताउँछन् । सन्दीपले बिग ब्यासको सुरुवाती खेल भने गुमाउने छन् । उनी नेपालबाट बिग ब्यास लिग खेल्ने डिसेम्बर दोस्रो साता अष्ट्रेलियातर्फ जानेछन् ।

बिग ब्यास आगमी डिसेम्बर १० देखि सुरु हुने छ । अष्ट्रेलिया सरकारको कोरोना नियम अनुसार दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग खेल्ने छ । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सन्दीपले कम्तिमा चार खेल गुमाउने छन् ।

गतवर्ष होबार्टबाट अफगानिस्तानका युवा लेगस्पिनर काइस अहमद खेलेका थिए । अहमदले यस सिजनको बिग ब्यास लिग नखेल्ने भएपछि उनको स्थान सन्दीपले लिने क्रिकेटडटकम एयूले पनि जनाएको छ ।

गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उक्त उत्कृष्ट प्रर्दशनले यस पटक पनि सन्दीपले मेलबर्न स्टार्सबाटै खेल्ने धेरैले आशा गरेका थिए । तर स्टार्सले सम्झौता नविकरण गरेन ।

मेलबर्न स्टार्सले यस पटक सन्दीपको स्थानमा अफगानिस्तानका स्पिनर जाहिर खानलाई टोलीमा अनुबन्ध गरेको छ । स्टार्सले वेस्टइन्डिजका निकोलस पुरन र इंग्ल्यान्डका जोनी बेयरस्टोसँग पनि सम्झौता गरेको छ ।

होबार्टले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका कोलिन इनग्राम, इंग्ल्यान्डका विल ज्याक्स, डेविड मलान र वेस्टइन्डिजका युवा अलराउन्डर किमो पलले सम्झौता गरि सकेका छन् । कप्तान म्याथ्यु वेड रहँदा पिटर ह्यान्ड्सकम्ब र डार्सी सट जस्ता चर्चित खेलाडी होबार्टमा छन् ।

सिंगापुरमा युवा ब्याट्सम्यान टिम डेभिड पनि होबार्टबाट बिग ब्यास लिग खेल्ने छन् । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए । (हाम्रो खेलकुद) 

तपाईको प्रतिक्रिया