माधव नेपाल नै मदन भण्डारी विरुद्ध किन ?

जननेता मदन भण्डारी सिद्धान्तका सबालमा घुमाउरो कुराको कुनै अर्थ छैन भन्नु भएझैँ जबजका बारेमा अहिले माधव कुमार नेपालको धारणा सुस्पष्ट र खुलस्त हुन जरुरी देखियो । अब जबजका बारेमा दुई अर्थी,दोधारे र अलमल कुरा गरेर हुँदैन । कुहिराको काग भएको पाइलटले जहाजलाई सकुशल अवतरण गराउन सक्तैन ।

माधव कमरेड, तपाईं बारबार मदन भण्डारी फाउण्डेसन को विरुद्ध बोल्दै हुनुहुन्छ । कमरेड,फाउन्डेसन जबजको पाठशाला हो,अध्ययन र अनुसन्धान केन्द्र हो । फाउन्डेसनमा तपाई सहित झलनाथ खनाल,बामदेव गौतम र डा. बेदुराम भुसालले जबज सम्बन्धी लिखित कृतिको गहन अध्ययन अन्वेषण गर्ने केन्द्र हो । फाउन्डेसनका माध्यमबाट वैचारिक, सैद्धान्तिक र दार्शनिक अध्ययनको वातावरणबाट यो लेखक धेरै लाभान्वित भएको छ । यो संस्था सदावर्त पार्टी अध्यक्ष,प्रधानमन्त्री,नेता,मन्त्री,माननीय लगायत राज्यबाट प्राप्त हुने सबै शुभलाभ आफैँ मात्र पाउनका लागि ज्यान फालेर षडयन्त्रपूर्वक लाग्ने गुट होइन ।
माधव कमरेड, त्यसैले फाउन्डेसनको विरोध जबजको विरोध हो र अनि जबजको विरोध जननेता मदन भण्डारीकै विरोध हो । यत्ति सामान्य कुरा हामी बुझ्छौँ । तर सुरुमै भण्डारीको विरोध गर्दा आम कार्यकर्ताबाट आफू एक्लिने भएकाले किस्ता किस्तामा भण्डारीको विरोध गर्ने दुराशय स्पष्ट हुन्छ ।

विशाल वृक्षलाई एक्कै चोटि ढाल्न खोज्दा ढाल्नेहरु आफूहरु सहित किचिएर समाप्त हुने डर हुन्छ । त्यसैले सबैभन्दा पहिले रुखका हाँगाबिँगाहरु काट्तै क्रमशः किस्ताबन्दीमा जबजको जरो उखेल्ने अभियानमा देखिन्छ ।

सारलाई सरापेर रुपलाई सुम्सुम्याउनुको कुनै अर्थ छैन । शरीरका छाला नै ताछ्ने गरी गैँडाले चाटेझैँ माया गर्नु पनि माया हो र ?

यो कुरा अनेक आग्रह,ज्ञान,गुह्य र सूक्ष्म सूचनाका कारण अहिले नबुझ्नेहरुले भोलि नै बुझ्ने निश्चित छ । तर समयमै बुझ्दा आलोघाउ बेलैमा निको पार्न सकेझैँ समाधान गर्न सकिन्थ्यो भन्ने मात्र हो,पछि निक्कै गाह्रो हुन्छ ।

माओले बेलैमा आलोचना गर्नु र यस्तो आलोचना अलि कडा रुपमा गर्नुपर्छ भन्नु भएझैँ यो लेख लेखिएको हो ।

जननेता मदन भण्डारीको आत्मा,अन्तर्य र सारतत्व जबज हो । भण्डारी भन्ने बित्तिकै जबजको बिम्ब आम जनसमक्ष पहिले आउँछ । जब आत्मालाई समाप्त पारिन्छ तब मानव शरीर जिउँदो शरीर नरहेर शव हुन्छ ।

जबजका आधारमा राजनैतिक र राजकीय उपल्लो तहको कहिल्यै नसोचेको प्राप्ति र प्रतिफल पाएर तथा पचाएर पनि पनि परोक्ष रुपमा तिनले जबजकै विरुद्ध षडयन्त्रपूणर् गतिविधि गरिरहेको देखिनु कुन संस्कार हो ?

विभिन्न पेसा,व्यवसाय र क्षेत्रमा काम गरेर निवृत्त भएका जबज पक्षधर प्राज्ञ,लेखक, बुद्धिजीवी,स्रष्टा तथा चिन्तकहरु स्वतःस्फूर्त रुपमा यसको रक्षा र विकासका संगठित रुपमा राष्ट्रव्यापी अभियानको तयारीमा छन् भन्ने कुरा तपाईंलाई बताउन चाहन्छु । अहिले जबजको रक्षाका निम्ति भण्डारी प्रशिक्षित अनेक व्यक्तित्वहरु छन् ।

जननेता मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या भए पछि यस लेखकले वहाँको उत्तराधिकारी माधव कुमार नेपाल नै हुनुहोला भन्ने स्पष्ट अनुमान गरेको थियो । भण्डारीले पार्टीका विशेष वा महत्वपूणर् जिम्मेवारी प्रदान गर्दा र औपचारिक रुपमा जीवराज आश्रित र माधव नेपाललाई प्रायः साथमा लिएको यस लेखकले देखेको थियो । प्रमुख नेतृत्वको खासियत सक्षम तथा सबल उत्तराधिकार तयार पार्नुमा निहित रहेको हुन्छ । मदन भण्डारीका अनुसार सकेसम्म योग्यहरु मध्ये योग्यतम नेतृत्व निर्माण र स्थापना गर्ने नत्र अयोग्य मध्ये योग्य छनौट गर्ने हो ।

भण्डारीकै अनुसार यस्तो नेतृत्व एक दुई मात्र दसवटा गुण भएको हुनुपर्छ । थप त्यसमा पनि प्रमुख नेताका आँखा ठूला,कान लामा र मुख सानो हुनुपर्छ । अर्थात् गम्भीरतापूर्वक धैर्यपूर्वक हेर्ने, धेरै सुन्ने तर कम बोल्ने नेताको गुण हो ।

भण्डारीले आफ्नो भन्दा पनि पार्टीको सिद्धान्त,कार्यक्रम,कार्यदिशा र रणनीति जस्ता संगीन सबालमा नेपाललाई एक सम्भावित उत्तराधिकारी ठहर गरेको यस लेखकको धारणा रहेको थियो र छ । तर माधव नेपाल अहिले परोक्ष रुपमा जननेता मदन भण्डारी विरुद्ध मोर्चाबन्दी गरिरहेको देख्दा यो लेखक तिनचित परेको छ ।

तपाईंहरु जबजको मियो हल्लाएर र आफ्नै सरकारका राम्रा कामहरु देखेर पनि नदेखेझैँ गरेर जग हँसाउने जुन उपध्रो गरिहनु भएको छ यो चाहिँ अब हजम हुन छाड्यो ।
ओली फाउ जिन्दगी तपाईंहरुकै भोलिको,भावी पिँढीका लागि र सुदृढ भविष्यका लागि सरकारी सुविधा समेत त्याग गरेर समर्पित रहेको देखिन्छ । प्रधानमन्त्रीलाई सिकिस्त विरामी हुँदा र नहुँदा दुवै अवस्थामा कटुआलोचना गर्नु अब असह्य हुन थाल्यो ।
माधव कमरेड,नेता माननीय,मन्त्री,प्रधानमन्त्री वा राष्ट्रपति तपाईंहरु नै हुने हो । हामी त कारमा होइन कलम,किताब र कपीमा गर्व गर्ने मान्छे हौँ । हामी पद भन्दा प्रतिष्ठालाई महत्व दिन्छौँ, भात भन्दा भविष्य हेछौँ । त्यसैले हामी देश,जनता र जनजीविकाको हितका लागि नै लेखिरहेका छौँ । घाम उदाउँदा हामीले र जनताले पाउने उज्यालो मात्र हो । आम जनतालाई स्थिर,सुरक्षित,शान्त र समृद्ध देश चाहिएको छ ।

धमिलो पानीमा माछा मार्न उद्यत बाह्य शक्तिहरु कहिल्यै नेपालको भलो चाहँदैनन् । उहिलेदेखि अहिले सम्म र आजभोलि भएको नेकपाको कचिङ्गल नेपाललाई चरम अस्थिर र दलदलमा पार्ने नियत हो । तपाईंहरु पुनरुत्थानलाई सघाउ पुर्‍याउने काम गरिहनु भएको छ ।
माधव कमरेड, तपाई त गोपीरमण उपाध्यायद्वारा सम्पादित कृतिको आफ्नो लेखमा जबज कायनीतिक विचार मात्र होइन यो रणनीतिक ( समाजवाद साम्यवाद ) लक्ष र कार्यक्रम हो भनेर लेख्नु भएको थियो, अहिले के भन्नु हुन्छ ?

नेपाली क्रान्तिको सिद्धान्त जबज नामको आफू लिखित कृतिमा नेपालले नेकपा माओवादीको खुल्ला र शान्तिपूणर् राजनीतिमा प्रवेश सँगसँगै जनताको बहुदलीय जनवादको सन्दर्भमा पुनः बहस छेडिएको बताउनु भएको थियो र यससँगै मिल्ने गरी एक्काइसौँ शताब्दीको जनवाद भनेर नेकपा माओवादीबाट विचार प्रस्तुत गर्ने कुराले जबजको सान्दर्भिकता,प्रासंगिकता,औचित्य विषयमा बहस गर्नु आवश्यक देखिएको छ भन्नु हुन्थ्यो

अहिले के भन्नुहुन्छ ?

नेताको बोली देशलाई दूरदृष्टि दिने खालको हुनुपर्छ नि !
परम्परागत समाजवादले लोकतन्त्र र जनताको अधिकार सबलीकरणको पक्षलाई कम महत्व दियो । रुसमा सामूहिकताका नाममा व्यक्तिहरुको आकांक्षामाथि ठूलो प्रहार भयो । रुचि अनुसारको पोसाक लगाउने,खाना खाने, र जीवन यापन गर्ने अधिकार सम्म पनि दिइएन । समाजवादमा व्यक्तिगत स्वतन्त्रताको हरण गरियो भन्दै जबजको औचित्य माधव नेपाल

आफ्ना कृतिमा उल्लेख गर्नुहुन्थ्यो,अहिले के भन्नुहुन्छ ?
अनि त्यसैगरी जबजले आधारभूत तहका जनताको मूल भूमिकालाई आत्मसात् गरेको छ भन्नुहुन्थ्यो अहिले के धारणा बनाउनु भएको छ ?

जबजले जनताको जनवादी व्यवस्थामा पनि बहुदलीय प्रतिस्पर्धाको पद्धति अपनाउने विषयलाई संस्थागत गरेको बताउनु हुन्थ्यो र परोक्ष रुपमा आर्थिक र राजनैतिक अधिकार सहितको जबज निरुपित समाजवादको सार उल्लेख गर्नु हुन्थ्यो अहिले के भन्नु हुृन्छ ?
विगतमा समाजवादी व्यवस्थामा लिएको एकदलीय पद्धतिको शासन व्यवस्थाभन्दा जबजले प्रतिस्पर्धात्मक प्रणाली आत्मसात् गरेको बताउनु भएको थियो । एक दलीय भन्दा बहुदलीय पद्धति जनतालाई प्रभावकारी रुपमा उतार्ने,राजनीतिमा भाग लिने, र राजनीतिक पार्टीहरु माथि जनताको नियन्त्रण कायम राख्न बढी उपयोगी पद्धति हो भन्दै जबजको औचित्यलाई आफ्ना लेख रचनाहरुमा पुष्टि गर्नुहुन्थ्यो अहिले के सोच्दै हुनुहुन्छ ?

माओले बेस्सरी समात भनेर तत्कालीन उपल्ला तहका नेताहरुलाई सम्झाए जस्तै नेताहरुलाई प्राप्त उपलब्धि र सरकारले गरेको सबै राम्रा कामहरु सहित जबजलाई बेस्सरी समात्न यो लेखक हार्दिक आग्रह गर्दछ । यो कुनै स्वार्थ र पार्टी कार्यकर्ताको संकीणर् भावनाले यस लेखकले भनिरहेको छैन ।

जबजकै आधारमा देशव्यापी पार्टी संगठन बन्यो, यसले नै नौमहिने अल्पमतको सरकार मार्फत् पनि कम्युनिष्ट पार्टीका विरुद्ध लगाइएका तमाम अभियोेग,आरोप,अन्धता र जडतालाई व्यावहारिक रुपमा भत्कायो । यसले नै ,माक्र्सवादको पुनः सृजन गर्‍यो ।
जबजकै मूल आलोक र आधारमा मुलुक यहाँसम्म आएको छ । अनि यसैको जग र जरा उधिन्न सुहाउँछ ?

जननेता मदन भण्डारीले जबजमा ०४९ सालमा नै अहिले परिवर्तित संघीय लोकतान्त्रिक गणतन्त्र कालमा क्रमशः गर्नुपर्ने कामको प्राथमिकता उल्लेख गर्दै समाजवाद उन्मुख हुन सुविचारित तथा सुपष्ट मान्यता अघि सार्नु भएको देखिन्छ,।

भण्डारीले समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै एउटा खुट्टो दरोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ पनि भन्नु भएको हो ।
अहिले प्राप्त उपलब्धि भनेको समाजको उपरिढाँचा वा आधेयमा भएको परिवर्तन हो । संघीय लोकतान्त्रिक गणतन्त्र अहिले सामन्तवादी जग र जरामाथि टुक्रुक्क बसेको अवस्था हो । यस अवस्थामा उपल्ला तहका तपाईं नेताहरु बढी जिम्मेवार धैर्यवान् हुनुपर्ने हो । आजको चार महिनापछि हुने एकता महाधिवेशन सम्म पनि पर्खिने धैर्य तपाईहरुमा देखिएन । यत्ति साह्रो अधेर्य किन ?

कार्लमाक्र्सले श्रमिक वर्गको मुक्ति उनीहरु स्वयंले जितेर लिनुपर्छ भन्नु भएको गम्भीर अन्तर्यलाई मदनले मनन गरेको देखिन्छ । कम्युनिष्ट पार्टीका नाममा केही नेताहरुको ठाडो आदेश ,निर्देश ,दबाब वा बल प्रयोगबाट सामाजिक परिवर्तन गर्ने जडसूत्रवादी सोच विपरीत स्वयं मुक्तिकामी आम जनताको सचेतता र संगठित शक्तिबाट धेरैभन्दा धेरै जनतालाई आन्दोलनको वरिपरि स्वैच्छिक रुपमा संगठित तथा आवद्ध गरेर परिवर्तन गर्ने सही सोच जबजमा देखिन्छ ।

भण्डारीले भन्ने गरेको कलात्मक हस्तक्षेपको अर्थ पनि वैचारिक,बौद्धिक तथा चेतनामूलक महाअभियानबाट आम जनतालाई सुशिक्षित गर्दै प्राप्त उपलब्धि र प्राप्तिको जगेर्ना गर्दै समाजवाद स्थापनाका लागि मलिलो आधार बनाउनु हो । मुक्रिप्राप्त कर्ता आम जनतालाई स्वैच्छिक रुपमा अग्रगमनका लागि आफैँ सक्रिय हुन र बनाउन प्रयत्न गर्ने हो ।
तर अहिले पनि सिद्धान्तका सबालमा उग्रवाद र अवसरवाद दुवै हाबी र कुप्रभावी हुन थालेको देखिन्छ । यत्तिखेर यो दुवै अतिवाद देशको स्थिरताका लागि सबैभन्दा घातक रहेको छ ।
पुष्पलाललाई उतिबेला गद्दार भनेर व्यर्थै गाली गरिएछ भनेर बुढेसकालमा गनगन, गथासो तथा पश्चात्ताप गर्ने दिन भोलि आउनेछ तर त्यति बेला नेपालको कम्युनिष्ट आन्दोलन धराशायी भइसकेको हुनेछ माधव कमरेड ।

तपाईको प्रतिक्रिया