झापाका मंगलबार तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

झापा । भद्रपुरका दुई महिलासहित झापामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भद्रपुरमा सोमबार साँझ र मंगलबार बिहान गरी दुई महिलाको मृत्यु भएको हो ।

मंगलबार बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा भद्रपुर १ की ६३ वर्षिया राधिका घिमिरेको मृत्यु भएको हो । मंसिर ७ गते बिएण्डसीमै संक्रमण पुष्टि भएकी घिमिरेको मंगलबार बिहान ४ः३० बजे उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए ।

त्यस्तै सोमबार भद्रपुर ८ की सुमित्रादेवी शाहको घरमै मृत्यु भएको हो । कात्तिक २६ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेर उपचार गर्दै आएकी थिइन् । उनको राति १०ः३० बजे कनकाई माईमा अन्त्येष्टि गरिएको भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा १० पुगेको छ ।

त्यस्तै दमक १० का एक बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षिय बलराम भण्डारी रहेका छन् । मंसिर ५ गते संक्रमण पुष्टि भएका ती बृद्ध होम आइसोलेसनमा थिए । उनको राति ११ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

उनको घर छेउमै परिवार आफैँले अन्त्येष्टि गर्न लागेको भट्टराईले जानकारी दिए ।

योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३० पुगेको छ ।