सहाराद्वारा सदस्यलाई सामाजिक सुरक्षा भत्ता


काँकरभिट्टा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिँदै आएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यसवर्ष झापा र मोरङ जिल्लामा ५३ लाख ७६ हजार रुपैयाँ भत्ता वितरण गरिएको संस्थाले जनाएको छ ।
सहकारीको विर्तामोड अनुगमन कार्यालयका अधिकृत घनश्याम रायका अनुसार वार्षिक रुपमा एकल महिलाले आठ हजार, एकल पुरुषले ६ हजार, शारीरिक अशक्तले १० हजार, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले ६ हजार, ७० वर्ष नाघेकाले आठ हजार र ८१ वर्ष नाघेका व्यक्तिले १० हजारका दरले भत्ता पाउने गरेका छन् ।
यसवर्ष ६९५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर वितरण गरिएको अनुगमन अधिकृत रायले बताउनुभयो । सबैभन्दा बढी ४० लाख ८० हजार रुपैयाँ ५१० जना एकल महिलालाई वितरण गरिएको छ । सहारा नेपालका एक लाखभन्दा बढी सदस्य रहेका छन् ।
संस्थाले सदस्यको स्वास्थ्य सुरक्षाका लागि ‘जीवन बरदान’ नामक कार्यक्रम लागू गरेको छ । यसअन्तर्गत सदस्य बनेकाले क्यान्सर, मिर्गौला, मुटु लगायतका जुनसुकै घातक रोग लाग्दा समेत उपचार खर्च पाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया