जबजले निरूपण गरेको समाजवाद        

जननेता मदन भण्डारीका अगुवाइ तथा नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवादले जनवादी क्रान्ति पूरा गर्ने मात्र होइन, यसले माक्र्सवादी सारसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने सुस्पष्ट दिशा निर्देश तथा निरुपण गरेको देखिन्छ ।

जननेता मदन भण्डारीले जबजमा ०४९ सालमा नै अहिले हाल परिवर्तित संघीय लोकतान्त्रिक गणतन्त्र कालमा क्रमशः गर्नुपर्ने कामको प्राथमिकता निम्नानुसार उल्लेख गर्दै समाजवाद उन्मुख हुनका लागि ठोस अवधारणा  अघि सार्नु भएको  देखिन्छ,जस्तै,

  1. पहिलो अवधि- पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि ।
  2.  दोस्रो अवधि- नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि ।
  3. तेस्रो अवधि – समाजवादमा संक्रमणका निम्ति केन्द्रित भएर भौतिक  तथा सांस्कृतिक तयारी गर्ने अवधि ।

त्यसैले भण्डारीले  जबजमा समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै एउटा खुट्टो दरोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ  भन्नु भएको सन्दर्भ विशेष स्मरणीय देखिन्छ ।

अहिले प्राप्त उपलब्धि भनेको समाजको उपरिढाँचा वा आधेयमा भएको परिवर्तन हो । संघीय लोकतान्त्रिक गणतन्त्र अहिले सामन्तवादी जग र जरामाथि टुक्रुक्क बसेको अवस्था हो ।

कार्लमाक्र्सले भनेझैँ अहिले पनि नेकपाका धेरै जसो उपल्लै तहका नेताहरुमा पुरानै शाषक र शाषन व्यवस्थाका विचार र संस्कृति हाबी रहेको देखिन्छ । तिनमा उग्रवादी तथा निम्न पुँजिवादी चिन्तन  प्रभावी भएको देखिन्छ । पार्टी स्थायी समितिका अधिकांश सदस्यहरुलाई माओले भनेझैँ प्राप्त उपलब्धि र सरकारका सकारात्मक कामहरुलाई बेस्सरी समात्न सिकाउनु पर्ने अवस्था देखिन्छ । तर त्यस विपरीतससाना  अनेक निहुँ झिकेर सरकारलाई आफैँ अल्झाउने  सरकार विरुद्ध प्रायोजित सडक साइबर प्रोपगण्डालाई मलजल गर्ने दोबाटे अभिव्यक्ति दिइरहेको देखिन्छ । त्यसैले नेकपा सैद्धान्तिक तथा व्यावहारिक अन्यौलमा रहेका छ ।

समाजवादमा समेत बहुदलीय प्रतिस्पर्धालाई आत्मसात् गर्ने जबजले  त्यतिबेलको संविधान अनुसार दलीय प्रतिस्पर्धा सहितको जनतान्त्रिक वा लोकतान्त्रिक समाजवाद स्थापना गर्ने ध्येय राखेको अध्ययनबाट थाहा हुन्छ । सकेसम्म  शान्तिपूणर् आन्दोलन र अभियानबाट मात्रात्मक हुँदै गुणात्मक रुपान्तरण गर्ने जबजको सैद्धान्तिक मान्यताका आधारमा नेकपा पार्टी परिचालित हुँदा २०६२,०६३ सालमा समेत कम क्षतिबाट  नेपाली समाज क्रमशः रुपान्तरित हुँदै अघि बढेको वास्तविक यथार्थ   हो ।

भण्डारी  पूर्वाद्र्धकालमा आफूमा अन्तर्निहित बलपूर्वक सामाजिक परिवर्तन गर्ने  उग्रवादी सोचलाई आफैँले पुनरावलोकन गर्नु भएको देखिन्छ ।  यसमा वहाँको विश्वकम्युनिष्ट आन्दोलनको कुनै पनि खाले आग्रह रहित गहन र अनुभवको  महत्त्वपूणर् भूमिका सहायक रहेको देखिन्छ ।

भण्डारीले बल प्रयोगलाई सर्वोपरि ठानेर सामाजिक परिवर्तन गर्ने उग्रवादी सोचका विपरीत जनचेतना,जनअभियान र जनसंगठनको आँधीबेहोरी सिर्जना  गरेर आम जनताको सक्रिय सहभागितामा गरिने परिवर्तन मात्र सफल र दीगो हुने निचोडमा पुग्नु भएको हुँदा र त्यस अनुसार स्वैच्छिक रुपमा  देशव्यापी पार्टी संगठन विस्तार हुन सकेको स्पष्ट हुन्छ ।

अझ यसमा कार्लमाक्र्सले श्रमिक वर्गको मुक्ति उनीहरु स्वयंले जितेर लिनुपर्छ भन्नु भएको गम्भीर अन्तर्यलाई मदनले मनन गरेको देखिन्छ । कम्युनिष्ट पार्टीका नाममा केही नेताहरुको ठाडो आदेश ,निर्देश ,दबाब वा  बल प्रयोगबाट सामाजिक परिवर्तन गर्ने जडसूत्रवादी सोच विपरीत स्वयं मुक्तिकामी आम जनताको सचेतता र संगठित शक्तिबाट धेरैभन्दा धेरै जनतालाई आन्दोलनको वरिपरि स्वैच्छिक रुपमा संगठित  तथा आवद्ध गरेर परिवर्तन गर्ने सही सोचमा मदन पुगेको देखिन्छ ।

भण्डारीले भन्ने गरेको कलात्मक हस्तक्षेपको अर्थ पनि वैचारिक,बौद्धिक तथा चेतनामूलक महाअभियानबाट आम जनतालाई सुशिक्षित गर्दै  प्राप्त उपलब्धि र प्राप्तिको जगेर्ना गर्दै समाजवाद स्थापना र विकासका लागि जनतालाई स्वतःफूर्त रुपमा सक्रिय बनाउनु हो ।  मुक्रिप्राप्त कर्ता आम जनता आफैँ सचेत,संगठित तथा  स्वैच्छिक रुपमा  सक्रिय नभए सम्म केही नेताका आदेश,निर्देश र दवावका अग्रगमन स्थायी र दीगो हुँदैन ।

सामन्तवादले आफ्नो जनविरोधी रुढीग्रस्त धर्म र संस्कृतिलाई भौतिक र भावनात्मक रुपमा बहुआयामिक तरिकाले  प्रभावित  गरेर जन मानसलाई स्वैच्छिक रुपमा आफ्नो सत्ता,शक्ति र स्वार्थको दृढ समर्थक बनाएको देखिन्छ । यसरी प्रशिक्षित आम जनता उपर्युक्त खालको अपसंस्कृतिको पक्षपोषण आफैँ दृढताका साथ गरिरहेको देखिन्छ ।  यस मानेमा अग्रगामी पार्टी  र नेताभन्दा सामन्तवाद धेरै बाठो,चङ्ख र चतुर रहेको पाइन्छ ।

यसरी लामो समयदेखि रुढीग्रस्त विचारबाट प्रशिक्षित जनता आफैँलाई चरम शोषण उत्पीडन गर्ने सामन्ती शासन र सत्ताको विरोध गर्नु भन्दा आफ्नै भाग्य र कर्मलाई सराप्छन् ।  समाजवाद प्राप्त गर्ने दुईवटा मध्ये एउटा माथिबाट अर्थात् बलपूर्वक राज्य सत्ता कब्जा गर्ने र राज्यले सबै सम्पत्तिमाथि नियन्त्रण गरेर समाजवाद निर्माण गर्ने एउटा बाटो हो ,जुन चीन र रुस लागायत देशमा लागु गरियो । अर्को  चाहिँ आम श्रमजीवी जनताहरुलाई सचेत एवम् संगठित गरेर समाजवादका ध्येयहरु प्राप्त गर्ने दिशामा अगाडि बढ्ने तलको बाटो । यही बाटोबाट जरैदेखि लोकतान्त्रिक वा जनतान्त्रिक समाजवाद निर्माण गर्ने सुविचारित मान्यता जननेता मदन भण्डारीले जबज मार्फत् अघि सारेको पाइन्छ ।

कार्ल माक्र्सले श्रमिक वर्गको मुक्ति उनीहरु स्वयंले जितेर लिनुपर्छ भन्नु मूल तात्पर्य   तलबाट अर्थात्  व्यापक श्रमजीवी जनताको सचेतता,सजगता र समर्थनबाट समाजवादका ध्येय प्राप्त गर्ने भन्ने  हो । तर विगत कालमा यसको एकतर्फी वा एकलकाँटे व्याख्या मात्रै हुनगयो ।

त्यसैले   तलको बाटोबाट समाजवादी शासन व्यवस्था प्राप्त गर्न र यसलाई टिकाउन सकिन्छ भन्ने जबजको सुस्पष्ट मार्ग दर्शन हो ।

त्यसैले भण्डारीले  जबजमा  समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोरजवर्जस्ती गर्ने कुराको हामी विपक्षमा छौँ । हामी राम्रो काम पनि नरामो  तरिकाले होइन,सकेसम्म राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा रहेका छौँ । हामीले कार्यक्रममा प्रतिस्पर्धा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा जोड दिएका छौँ ।

क्रान्ति सम्पन्न गर्नका निम्ति बाटोको हिसावले वर्ग समन्वय होइन,वर्ग सम्झौता होइन वर्ग संघर्ष नै मूल र आधारभूत कुरा हो …-” भन्नु भएको  हो ।  जननेता मदन भण्डारीले यही कुरामा आधारित भएर …मुक्तिदाता हामी होइनौ, मुक्ति प्राप्त कर्ता, संघर्ष गरेर मुक्ति हासिल गर्ने स्वयम् जनता हुन् भन्नु भएको हो । भण्डारीले जोरजवर्जस्ती र हतारमा  समाजवाद प्राप्त गर्दा त्यो टिकाउ नभएको  इतिहासबाट शिक्षा लिएर यसमा पुनः सृजन गरेको देखिन्छ । नभन्दै चीनमा हतारमा समाजवाद लागु  गरिए पनि तेङ सिआओ पेङले आर्थिक सुधार र खुल्ला नीति नलिएको भए उतिबेलै चीनमा  समाजवाद गम्भीर  संंकटमा परिसक्थ्यो । भण्डारीले मजदुर वर्ग मात्र होइन आम जनतालाई नै समाजवादको पक्षमा संगठित नगरी नेपालमा समाजवादको निर्माण,  रक्षा र विकास सम्भव हुँदैन भन्नु भएको छ ।

जनताको बहुदलीय जनवादले समाजवादी व्यवस्थामा पनि   बहुदलीय प्रतिस्पर्धाको राजनीतिलाई अङ्गीकार गर्नुको गुह्य  अर्थ राजनीतिक तथा आर्थिक दुवै अधिकार सहितको मौलिक समाजवाद हो ।  समाजमा वर्ग रहेसम्म वर्गीय राजनीति हुन्छ र त्यसलाई  प्रतिनिधित्व गर्ने पार्टीहरु पनि हुन्छन् । यो  माक्र्सवाद सम्मत विषयलाई जबज अनुसार बलात् निषेध गर्ने कुरा सरासर बेठीक हो ।  विश्व कम्युनिष्ट आन्दोलनका धेरै खालका प्रायोजित जडतालाई जबजले भत्काएको छ । राज्यको चरित्र नै अधिनायकी हुन्छ भनेर कम्युनिष्ट पार्टीप्रतिको निरपेक्ष आक्षेप जबजले निस्तेज गरिदिएको छ । त्यस अलावा नेपाली जनतालाई कम्युनिष्ट पार्टी विरुद्ध लगाइएका तमाम आरोप,फतुर र फरेवलाई जबजका प्रकाशमा व्यवहारबाट नै निरस्त पारेको हुँदा कम्युनिष्ट नामका कतिपय पसलहरु अहिले सजिलै खुल्न सकेका हुन् ।  तर हँसिया हथौडा झण्डा बोक्तैमा र माक्र्सवाद,लेनिनवाद र  माओवाद खोक्तैमा कम्युनिष्ट भइँदैन भन्ने कुरा मदनले शिष्ट भाषामा उल्लेख गर्नु भएको छ ।  जबज नेपालको मात्रै होइन यो विश्व कम्युनिष्ट आन्दोलनकै नवीनतम  सिद्धान्त हो तर नेकपाका उपल्ला तहका कतिपय  नेताहरुमा अनेक खालका आग्रहका कारण जबजप्रति खोटो दृष्टिकोण राख्छन् । यसै विषयका गहन अध्येता अब जबजको काम छैन भन्दै अत्यन्त सरम लाग्दो चरम सैद्धान्तिक अवसरवादी बोली बोल्दै छन् । त्यसैले माओले सिद्धान्त सही भएर पनि त्यसलाई सिरानी लगाएर सुतिन्छ भने केही हुँदैन भन्नु भएको छ तर सैद्धान्तिक वैचारिक बहुआयामिक अध्ययन केन्द्र बनेको मदन भण्डारी फाउण्डेसनलाई  नै कटु आलोचनाको तारो बनाइएको देख्दा यस लेखकलाई भारी सरम हुन्छ ।

अध्ययन,मनन,चिन्तन र लेखन गर्न पनि अमुक नेताको आदेश चाहिने कस्तो अचम्म उज्यालोले त उज्यालोको रिस गर्दै न त । तर यस विरोधको  अन्तर्यमा जननेता मदन भण्डारी रहनु भएको स्पष्ट हुन्छ । कार्लमाक्र्सलाई पनि घरि दृढ  समर्थन घरि दृढ विरोध गरेको चरम विसंगति देखिन्छ । लासालवाद गुट हो तर माक्र्सवाद गुटगत संकीणर् चिन्तन तथा सिद्धान्त होइन । प्रतिक्रियावादी प्रजातन्त्र र साम्राज्यवादी बहुदल र  जबज भनेको हरियोघाँसमा लुकेको सर्प भनेर प्रशिक्षित नेता अनि यसैलाई मूल आधार बनाएर पार्टी विस्तार गरेको भिन्न तर अत्यन्त गलत स्कुलिङबाट शिक्षित तथा दीक्षित केही नेता र कार्यकर्तामा व्याप्त उग्रवादको धङधङी समयक्रममा मात्र निरस्त हुन्छ । तर हुन्छ र हुँदै गएको पनि छ ।

जबजलाई जनवादी क्रान्ति सम्पन्न गर्ने सिद्धान्त मात्र मान्ने अल्पज्ञानी आग्रहका कारण कतिपय नेताले जबजले गरेको  अत्यन्त दूरगामी दिशा निर्देशलाई बेवास्ता गरिहेको देखिन्छ ।   पार्टीका संस्थापक महासचिव पुष्पलाललाई गद्दार घोषणा गर्दै उहाँले लिएको संयुक्त जन आन्दोलनको दूरगामी सही नीतिलाई समयमै नबुझेर तीसौँ वर्ष भौँतारिएर पछि परेको विगतबाट नेताले बेलैमा सिकेनन्  भने नेकपाका संकटका दिन अरु गहिरा बन्ने छन् र त्यस अवस्थामा यसको अस्तित्व नै धरापमा पर्ने देखिन्छ ।  तर जहिले जहिले सैद्धान्तिक संकट आइपर्छ त्यसलाई निस्तेज गर्ने सामथ्र्य  मदन भण्डारी फाउण्डेसनले भुइँतहदेखि नै विकसित गरेको यस लेखकको ठम्याइ छ र यो नै नेकपाको सशक्त रक्षाकवच बन्ने देखिन्छ । तथापि  भुर्इँको टिप्न खोज्दा गोजीको खसेर पछुताउने अवस्था नआओस् भनेर बेलैमा यस लेखमार्फत्  नेकपाका भावी अध्यक्षका प्रबल दावेदार सहितलाई अग्रिम सुझाव दिन खोजिएको हो ।

तपाईको प्रतिक्रिया