कोलकाताद्वारा दिल्लीलाई विशाल लक्ष्य


झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुनिल नराइन र नितिस रानाको अर्धशतकको मद्दतले कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ९५ रनको विशाल लक्ष्य सुम्पेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो ।
खराब सुरुवात गरेको कोलकाताका लागि नराइन र रानाले अर्धशतकीय पारी खेले । दुबैले अर्धशतकीय पारी खेल्दै ११५ रनको साझेदारी गरेका थिए । नराइनले ६४ रनको योगदान दिए । उनले ३२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकीय पारी खेलेका हुन् ।
त्यस्तै रानाले ८१ रनको योगदान दिए । उनले ५३ बलमा १३ चौका र एक छक्का प्रहार गर्दै ८१ रनको योगदान दिएका हुन् । राहुल त्रिपाठीले १३ रन जोड्दा सुभमन गिल ९ र दिनेश कार्तिक तीन रनमा पेभिलियन फर्किएका थिए । कप्तान इयोन मोर्गन १७ रनमा अविजित रहे ।
दिल्लीका लागि एन्रिच नोट्र्जे, मार्कुस स्टोइनिस र कागिसो रबाडाले समान दुई–दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया