कोरोनाको उच्च जोखिममा ज्येष्ठ नागरिक, टाढैबाट आशीर्वाद लिन आग्रह

काठमाडौं : सरकारले कोरोनाको जोखिम कायमै भएकाले यस वर्षको दशैँको आशीर्वाद टाढाबाट लिन आग्रह गरेको छ। मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन्।

’हाम्रो चाडपर्व नजिकिँदै छ। त्यसले काठमाडौंबाट गाउँ जानेको संख्या पनि वृद्धि भइरहेको छ। त्यसले कोरोनाको जोखिम गाउँसम्म फैलिनसक्छ। त्यसैले यस वर्षको दशैँमा टाढाबाटै आशीर्वाद लिऔं’ उनले भने, ’कोरोनाको उच्च जोखिममा ज्‍येष्ठ नागरिक नै हुनुहुन्छ। त्यसैले चाडपर्व मनाउने अवसर अर्को वर्ष पनि आउँछ।’

’हामी स्वस्थ्य रहेमा फेरि अर्को वर्ष चाडपर्व मनाउन सकिन्छ। दशैँमा अग्रजबाट आशीर्वाद लिने मुख्य हो। तर, ज्येष्ठ नागरिकमा कोरोनाको बढी जोखिममा हुन्छन्। अभिभावकको सुरक्षा सतर्कता अपनाउनुपर्छ’ उनले भने।

काठमाडौंबाट गाउँ र गाउँबाट काठमाडौ आउजाउ गर्दा कोरोनाको जोखिम बढी हुने उनले बताए। ’६० वर्षमाथि संक्रमण दर र संक्रमणपछि मृत्यु हुनेको दर पनि बढी छ। त्यसैले यसवर्ष काठमाडौं र गाउँ आउजाउ नगरौँ आफ्ना अभिभावकहरुको सुरक्षा सतर्कताको ख्याल गरौँ’ उनले भने।

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको उनले बताए। ’काठमाडौंमा दैनिक एक हजारभन्दा धेरै संक्रमित थपिरहेका छन्। कोरोना जोखिम उपत्यकामा धेरै छ। सार्वजनिक यातायात चढ्दा या अरू काम विशेषले बाहिर निस्कनुपरेमा आफ्नो सुरक्षा सतर्कता अपनाउनू’ उनले भने। थाहा खबरबाट