स्थानीय सरकारको कामको औचित्य कति ?

झापाको मेचीनगर नगरपालिका अन्तर्गत धुलावारी क्याम्पसमा यस वर्ष देखि ३ वर्षे डिप्लोमा नाम दिइएको आर्टिटेक्चर इन्जिनियर र सूचना प्रविधिमा अध्यापन हुने गरी भर्ना खोलिएको सूचना प्राप्त भएको छ । यसै सूचनालाई आधार मानेर हालै एक विद्यार्थीका अभिभावकलाई विद्यार्थी पठाउन अनुरोध गरियो, अभिभावकले ३ वर्षमा तोकिएको शुल्क त जम्मा गरिएला तर रोजगारी पाइन्छ भन्ने ग्यारेन्टी छ ? भन्ने प्रश्न गर्दा जवाफ फर्काउन सकिएन । नेपालमा सिटिइभिटिको प्रमाणपत्र बोकेर रोजगारी नपाएकाहरुको संख्या ठुलो भएकाले यो कठिन प्रश्न थियो । सिटिइभिटीसँगको सम्बन्धमा निजी क्षेत्रले रोजगारी पाइने र स्वरोजगार हुने भनी सञ्चालनमा ल्याएका व्यवसायिक शिक्षाहरुका विज्ञापन र विभिन्न रोग जाती हुने भनेर गरिएका बिज्ञापनमा खासै अन्तर नदेखेको धेरै भइसकेको छ ।

हालसम्म मेचीनगरमा डिप्लोमा तहको प्राविधिक कक्षा सञ्चालन नभएको र यो डिप्लोमा तहको भएको सुनिएका आधारमा आम मानिसका लागि केही खुसी हुने भाव पैदा हुनु स्वाभाविकै भएपनि यसको दिर्घकालिन प्रभावको बारेमा मेचीनगरले अध्ययन सर्वेक्षण गरी सञ्चालनमा ल्याउने निणर्य गरेको भए राम्रो हुने थियो भन्ने मात्र यस पङ्कतिकारको धारणा रहेको छ । अझ प्रमुख वयवस्थापक नै मेचीनगरका शिक्षा अधिकारी भएकाले यसमा मेचीनगर नै सञ्चालकको प्रमुख भुमिकामा रहेको प्रष्ट छ । यस्तो अवस्थामा भोली उत्पादन भएको जनशक्ति श्रमबजारमा बिक्न नसक्ने अवस्था उत्पन्न भयो भने यसको के असर होला ? हालका लागि मेचीनगर क्षेत्रभित्रका केही शिक्षक र कर्मचारीहरुका लागि थप आयको श्रोतको व्यवस्था त होला नै तर लगानी गरेका अभिभावकहरुको लगानीको प्रतिफल प्राप्त नभएको अवस्थामा स्वयं मेचीनगर नै सञ्चालक भएको शिक्षण संस्था माथि प्रश्न त अवश्य नै उठने छ ।

मेचीनगरले किन यो विषयमा रुची देखायो त्यो त मेचीनगरलाई नै थाहा होला तर मेचीनगरमा भौतिक पुर्वाधार र पर्याप्त जमिन भएका मेची जनसाधारण माध्यमिक विद्यालयमा जहाँ कृषि शिक्षा सञ्चालन गर्न सकेको भए निस्चित रुपमा योभन्दा बढी फाइदा पुग्दो होला । यसैगरी, मेचीनगर वडा नं. ३ को जनता माध्यमिक विद्यालय पनि भौतिक पुर्वाधारका हिसाबमा अब्बल भएपनि त्यस तर्फ ध्यान जान सकेन । सामुदायिक वनहरु भएको यस इलाकामा वनविज्ञानका कक्षाहरु सञ्चालन गर्न सक्ने हो भने त्यो बिद्यालयले वैज्ञानिक वन व्यवस्थापनको क्षेत्रमा ठुलो सहयोग पुर्याउने थियो होला । यसका अलावा बाहिरबाट अध्ययन गर्न आउने बिद्यार्थीका कारण त्यस क्षेत्रमा ज्ञानको आदान प्रदान हुने र त्यस क्षेत्रका मानिसहरुको आयमा समेत वृद्धी हुने थियो ।

बिभिन्न प्रकारका बिज्ञापन र सहरी आकर्षणका कारण ग्रामिण क्षेत्रभन्दा सहरमा खोलिएका शिक्षण संस्थाहरु नाफामा चलेका छन् । बिर्तामोडमा सञ्चालनमा रहेका शिक्षण संस्थाहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरु पनि यिनै ग्रामिण क्षेत्रका धेरै मात्र छैनन् ती शिक्षण संस्थाहरुको रिजल्टमा आकर्षण थपिदिने पनि तिनै ग्रामिण क्षेत्रबाट अध्ययन गर्न जाने बढी नै होलान । सञ्चालन उन्मुख रहेको मेची पोलिटेक्निकल इन्सिच्यूटको बारेमा कुरा गर्ने हो भने पनि भोली अधिकतर विद्यार्थीहरु यिनै ग्रामिण क्षेत्रबाट त्यस संस्थामा अध्ययन गर्न जाने हुन् । सहरी क्षेत्र काँकरभिट्टा र धुलावारीका विद्यार्थीहरु कमै मात्र अध्ययन गर्लान् । ग्रामिण क्षेत्रमा रहेको विद्यार्थीहरु भोलीका दिनमा रोजगारी पाइने आशा बोकेर व्यवसायिक शिक्षा अध्ययन गर्ने गर्दछन् । यस हिसाबले गर्दा हाल बिज्ञापन गरिएको सिट संख्या भरी भराउ गर्ने संख्या पनि यिनै ग्रामिण क्षेत्रका विद्यार्थी नहोलान भन्न सकिदैन ।

बितेका केही दशकमा शिक्षा समेत व्यापारको एक प्रमुख क्षेत्र भएको प्रष्ट छ । स्वभावैले व्यापारमा नाफा महत्वपूणर् हुन्छ । जब राज्यले निजी क्षेत्रलाइै वेलगाम छोडिदिन्छ त्यस बेला नाफाका लागि कुन क्षेत्रमा लगानी गर्ने भन्ने लगानीकर्ताको प्राथमिक छनौट प्रभावकारी हुन्छ । काँकरभिट्टा माध्यमिक विद्यालयले उच्च माध्यमिक तहमा मानविकीका कक्षाहरु सञ्चालनमा ल्याएको छ भने आडैमा रहेको काँकरभिट्टा बहुमुखी क्याम्पसको स्नातक तहमा मानविकीका कक्षाहरु सञ्चालनमा छैनन । यदि व्यापारमा समेत विद्यार्थीको हितमा सोचीने भएको भए काँकरभिट्टा मा.वि.बाट पास आउट भएका बिद्यार्थीहरुका लागि आडैमा रहेको क्याम्पसमा मानविकीका लागि व्यवस्था हुने थियो । काँकरभिट्टाबाट पास आउट भएका मानविकी संकायका विद्यार्थीहरु अब उच्च शिक्षाका लागि फेरी अर्को गन्तव्य तय गर्नुपर्ने बाध्यतामा हुनेछन् ।

सम्पन्नहरु पिछडीएकालाई उनीहरुको अबिस्कारमा रहेको सूचना, ज्ञान, प्रविधि र सिप जस्ता कुराको अनुसरण गर्न बाध्य बनाउँछन् भन्ने बिश्व व्यवस्था दृष्टिकोणमा इमान्युएल वालरस्टाइनले गरेको ब्याख्या यहाँ पनि लागु हुन्छ । मेचीनगर नगरपालिका भने पनि यसका धुलावारी र काँकरभिट्टा केन्द्रमा छन् जुन शक्तिशाली छन्, बाँकी क्षेत्रहरु यिनका पृष्ठमा रहेका छन् । केन्द्र जहिल्यै पनि शक्तिशाली हुन्छ र पृष्ठभागलाई शासन गर्दछ । शिक्षाको हकमा पनि त्यही हुने हो । केन्द्रमा रहेकाहरुले अनेक विज्ञापन र प्रभावमा उनले चाहेको विषय पढ भन्ने वातावरण तयार गर्छन अर्कोतिर केन्द्र बाहिरका लागि छनौटको बिकल्प नहुने हुन्छ । निर्वाचनमा प्रतिनिधि छनौटदेखि बिकास निर्माणका क्षेत्रमा समेत यही सिद्धान्त लागु हुन्छ । केन्द्र शक्तिशाली हुनका लागि जुनसुकै उपायहरुको अबलम्वन गर्ने गरेका कैयौं उदाहरणहरु पाउन सकिन्छ ।

सबैको धन सम्पत्ती र श्रोत साधनमा पहुँच नभएपनि ठुलो जनसंख्याको हिस्सामा सूचना र सञ्चारको पहुँच भने पुगेको नै छ । यस्तोमा कसैले भन्दैमा सहज बिश्वास गर्लान् भनेर नसोचे हुन्छ । खोलाको डिलमा बसेर नदीजन्य पदार्थको दोहन भयो भनेर रोइलो गाउनेहरुले किन बिकास र निर्माणका नाममा सड्क, ठुलामहल, कम्प्लेक्समा मात्र प्राथमिकता दिन्छन् भन्ने सबैले बुझेका छन् । यो पनि बुझेका छन् कि तिनीहरुनै कि त डोजरका मालिक छन् र हैन भने तिनका नातेदार र कनिष्ट कार्यकर्ताहरु नै ठेकेदार रहेका छन् ।

संविधान जारी भएको ५ वर्ष पुगेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३ वर्ष नाघि सकेको छ । संघको कुरै नगरौं त्यो हामीभन्दा टाडा छ तर आँगनको सरकारको गतिविधि उपर निगरानी राख्नु हाम्रो अधिकार हो । केही समय केहीलाई मुर्ख बनाउन सकिएला सदाकाल मुर्ख बनाउन सकिदैन भन्ने हेक्का राखे राम्रो हुन्छ । शिक्षामा कति लगानी भयो कतिवटा स्वास्थ्य संस्थाहरु खुले त्यो सबैले देखेका छन् । मेचीनगरमा भित्र ग्रामिण क्षेत्रमा अवस्थित केही बिद्यालयहरुमा अति न्यून विद्यार्थी संख्या छ कति विद्यालयमा विद्यार्थी भन्दा शिक्षकहरुको संख्या ज्यादा रहेको छ । किन त्यो प्राथमिकतामा पर्दैन ? एक स्वास्थ्य संस्थामा ९ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी भएपनि सरकारले भनेको २ मिटरको सामाजिक दुरी कायम गरेर बस्ने ठाउँसमेत नपुग्ने स्वास्थ्य संस्था यही नगरपालिका भित्र रहेको छ । किन त्यो स्वास्थ्य संस्था प्राथमिकतामा पर्दैन ? लगायतका निरन्तर प्रश्नहरु छन् । ओठे जवाफ हैन तार्किक जवाफको मात्र अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया