विरिङमा ठेक्का लगाइने, नलागे निषेधाज्ञा !

झापा । अर्जुनधारा नगरपालिका भएर बहने खोलामा रहेको नदीजन्य सामग्रीलाई व्यवस्थित गर्दै ठेक्का लगाउने प्रक्रियामा जानुपर्ने सुझाव सर्वदलीय छलफलमा उठेको छ ।

अर्जुनधारा नगरपालिकाको सभाकक्षमा नगर क्षेत्रका राजनीतिक दल, प्रशासन र नगरपालिकाका प्रमुखबीच भएको सर्वदलीय बैठकमा विगतका कमी-कमजोरीलाई सच्याउँदै आयश्रोतको मुख्य बाटो नदीजन्य सामग्रीको ठेक्का लगाएरै छाड्नुपर्ने कुरा उठान भएको छ । छलफलमा निजी जग्गाधनीलाई पनि सम्बोधन हुनुपर्ने कुरा पनि उठेको छ ।

छलफलमा नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटाले ठेक्का लगाउन प्रहरी प्रशासनको सक्रिय सहयोगको आवश्यकता रहेको औंल्याउंदै उनले भने, ‘आज नेकपाको पालो छ, भोलि कांग्रेसको हुनसक्छ त्यो बेला पनि खोला सामग्री ठेक्कामा यस्तै बेथिति देखाउन मिल्दैन ।नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले खोलामा लाग्ने ठेक्का लगाउने क्रममा कांग्रेस अवरोध बनेर नआउने दाबी गरे । छलफलमा नगर प्रमुख हरिकुमार रानाले सबैलाई सहजता हुने गरी खोला ठेक्का लगाउने प्रक्रियामा गएको बताउँदै सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औँल्याए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा सम्पन्न छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, झापा प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतले खोला ठेक्का प्रक्रिया अगाडि बढे प्रशासनतर्फबाट सक्दो सहयोग रहने बताए ।

छलफलले अन्त्यमा खोला ठेक्का लगाउने निचोड निकाल्दै यदी खोला ठेक्का लगाउन नसके खोला क्षेत्रमा पूणर् निषेधाज्ञा गर्ने निश्कर्ष निकालिएको नगर प्रमुख रानाले बताए ।

छलफलमा प्रदेश सांसद बृख प्रधान, निर्माण व्यवसायी शेरबहादुर थापा, राप्रपा, जनमुक्ति पार्टीलगायतको उपस्थिति रहेको थियो ।नगरले बिरिङ खोलाको ७ र टाङटिङ खोलाको ५, ठुलो नेते खोलामा ५ स्थानमा उत्खनन् गर्न पाइने बताएको छ । बिरिङ खोलाबाट ९३ हजार, टाङटिङ खोलाबाट ७९ हजार ५० र ठूलो नेतेबाट १४ हजार घनमिटर सामग्री संकलनका लागि नगरले ३ करोड ३५ लाख ८४ हजार न्यूनतम अंक निकालेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया