बलिउड अभिनेता सुशान्तको हत्या भएको कुनै प्रमाण भेटिएनः सीबीआई

काठमाडौँ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको दुई महिनापछि सर्वोच्च अदालतले उक्त मुद्दाको छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई दिएको थियो ।सुशान्तको आत्महत्या नभई हत्या भएको आशंकामा सीबीआईले घटना छानबिनको विशेष जिम्मा पाएको थियो । तर एक सातादेखि सुशान्तको मृत्यु प्रकरणमा छानबिन गरिरहेको सीबीआई टोलीका तीन अधिकारीले हालसम्म सुशान्तको हत्या भएको कुनै प्रमाण नभेटिएको भारत टुडेलाई बताएको छ ।अभिनेता सुशान्तको जुन १४ मा मृत्यु भएको हो । उनी मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा भेटिएका थिए । यसमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको थियो । तर निधन भएको एक महिनापछि अभिनेताको परिवारले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न बाध्य बनाएको आरोपमा एफआईआर दर्ता गरेको थियो ।एफआईआरपछि घटना छानबिन गर्ने जिम्मा सीबीआईले पाएको थियो । अहिले सीबीआईले आत्महत्या गर्न उक्साएको हो वा होइन भन्‍ने कोणमा अनुसन्धान केन्द्रित गरिरहेको छ । मुम्बई प्रहरीबाट घटना छानबिनको जिम्मा लिइसकेपछि सीबीआईले अहिलेसम्म जम्मा भएका सबै प्रमाण हेरेर उनको निधनको दृश्यको पुनर्निर्माण पनि गरेको थियो ।साथै सीबीआईले शंकास्पद केही व्यक्तिहरुसँग पनि सोधपुछ गरिरहेको छ । रियासँग सीबीआईले अहिलेसम्म ३५ घण्टा सोधपुछ गरिसकेको छ । यद्यपि सुशान्तको मृत्यु प्रकरणको कारण अझै पत्ता लागेको छैन । (बलिउड हंगामा)

तपाईको प्रतिक्रिया