क्रिकेटर ललित भण्डारीलाई थप उपचार गर्न काठमाडौं लगिँदै

झापा । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललित सिंह भण्डारीको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। थप उपचारका लागि ग्राण्डी अस्पताल लैजाने तयारी गरिएको परिवार स्रोतले जानकारी दिएको छ।

भण्डारीका फुपाजु रामसिंह खत्रीले अवस्था स्थिर रहेको बताए। उनले छाती र टाउकोमा समस्या छ कि भनेर सिटीस्क्यान गर्ने तयारी गरिएको जानकारी दिए।

‘हात र खुट्टामा क्रयाक छ, कम्मरमा चोट छ,’ उनले भने। भण्डारीलाई काठमाडौं लैजान हेलिकप्टर कोहलपुर पुग्दैछ।

उनले चलाएको मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिंदा भण्डारीसहित दुई जना घाइते भएका हुन्।
आइतबार बेलुकी ७ बजे शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिएसपी अमर बहादुर थापाले जानकारी दिए।

उनको चोट निको हुन ६ महिना लाग्न सक्ने फुपाजु रामसिंहले बताए। ‘डाक्टरले के भन्छन् त्यसमा भर पर्छ अहिलेको अवस्था हेर्दा खेल्न सक्ने अवस्थामा पुग्न ६ महिना जति लाग्न सक्छ’, उनले भने।

भण्डारीको उपचार खर्च परिवारले नै व्यहोरिरहेको छ। उनका साथीहरुले काठमाडौं लैजान मद्दत गरेका छन्। लकडाउनपछि खेल गतिविधि बन्द भएकाले भण्डारी कञ्चनपुर घर आएका थिए।

घाइते भण्डारीको उपचारका लागि राष्ट्रिय क्रिकेट टिमले सम्पूणर् सहयोग गर्ने कप्तान ज्ञानेन्द्र मल्लले प्रतिवद्धता जनाएका छन्। ’सम्बन्धीत सरोकारवाला निकायहरुको गम्भिर ध्यानाकर्षण गर्दछु’ कप्तान मल्लले सामाजिक सञ्जालमार्फत अपील गरेका छन्।
२४ वर्षीय भण्डारी तीन वर्षअघि राष्ट्रिय टिममा परेका थिए। बायाँहाते मिडियम पेसरलाई सन् २०१२ सम्म क्रिकेटको रुची थिएन।

भारतमा हुर्किएका ललित एसएलसी परीक्षा दिएपछिको फुर्सद समय बिताउन आफ्नो घर महेन्द्रनगर झलारी आएका थिए। महेन्द्रनगरमा साथीहरूले क्रिकेट खेलेको देखेपछि उनले पनि रमाइलोका क्रिकेट खेल्न थालेका थिए।

सुरुमा यू-१९ र सिनियर टोलीबाट क्षेत्र नम्बर ९ को प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यसपछि उनी नेपाल पुलिस क्लबबमा आबद्ध भए।

उनी २०७४ मा राष्ट्रिय टिममा परेका थिए। प्रधानमन्त्री कपको प्रदर्शनले उनी राष्ट्रिय टोलीको क्याम्पमा पर्न सफल भएका थिए।

तपाईको प्रतिक्रिया