कर तिर्ने समयावधि बढाउन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर तिर्ने र विवरण बुझाउने समयावधि बढाउन आग्रह गरेको छ । गत असार १ देखि बन्दाबन्दी (लकडाउन) खुले पनि भदौ ३ देखि पुनः निषेधाज्ञा जारी भएकाले कर तिर्न र विवरण बुझाउन व्यवसायीले नसक्ने भएकाले समय थप्‍न चेम्बरले माग गरेको छ ।

आन्तरिक राजस्व विभागले भदौ ७ गतेभित्र कर तथा विवरण बुझाउन सूचना जारी गरेको थियो । तर, कर तथा विवरण दाखिला गर्ने म्याद बाँकी रहँदै निषेधाज्ञा जारी भई पूणर् रुपले बन्दाबन्दी भएको र विगतको लकडाउनभन्दा कडिकडाउ भएकाले कतिपय करदाता राजस्व दाखिला गर्न वञ्‍चित भएको चेम्बरले जनाएको छ । साथै व्यवसायका समस्त खातापाता कारोबार स्थलमै रहेको र निषेधाज्ञाका कारण कारोबार स्थलमा पुग्न सम्भव नभएकाले विद्युतीय माध्यमबाट पनि कर तथा विवरण पेस गर्न सकिने अवस्था नरहेको चेम्बरले जनाएको छ ।
निजी क्षेत्र राजस्‍व दाखिला गर्ने सम्बन्धमा सदैव सहयोगी भूमिका निर्वाह गर्दै आएको र यसअघि पनि उल्लेखनीय रुपमा राजस्व दाखिला भएको भन्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञा हटेको मितिले बाटोको म्यादबाहेक दुई महिनाभित्र कर तथा विवरण दाखिला गर्न पाउने व्यवस्था गर्न माग गरे । उक्त अवधिमा कुनै प्रकारको जरिवाना नलिने व्यवस्था गर्नसमेत अनुरोध गर्दै चेम्बरले अर्थ मन्त्रालयका राजस्व सचिवको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया