सेलिब्रिटी एक भ्रम

कला र जीवन एक हिसाबले अभिन्न छ । हामी जीवनका विभिन्न खुसीहरु नाचेर, गाएर व्यक्त गर्छौं । जीवन कलाभन्दा भिन्न त छैन । हामी गीत गाउँदै मेलापात गर्छौं, गीत गाउँदै काम गर्छौं, काम गर्दै गीत गाउँछौं । तर, गीत मात्र गाउँदैनौं । अहिले जहाँ पनि कर्कश गीतहरु मात्र जो सुनिन्छ, मेलापात नै छोडेर गीत मात्र गाएर काम अगाडि बढ्दैन । त्यसैले बेसुरका गीत मात्र नगाऔं भन्न चाहन्छु ।

अब देश नै एउटा घर ठान्ने हो भने, जसलाई अड्याउन, ठड्याउन जगको आवश्यक्ता पर्छ । जुन जग चिसो, अध्यारो एउटा गर्तमा उभिएर जगले घरलाई धानेको हुन्छ । थामेको हुन्छ । जगको पनि गीत होला, कथा होला, व्यथा होला ।
अहिले हामी गजुरको कलाकृतिका, टुँडाल वा मूर्तिका मात्र गीतहरु गाएर बसेका छौं । मूर्ति पनि ढुङ्गा नै हो जगभित्र बसेको पनि ढुङ्गा नै हो ।

जगको ढुङ्गालाई पहिचान नगरी त्यसको महत्व र योगदानलाई उचित मूल्याङ्कन नगर्दा अन्याय भयो कि भन्ने लाग्छ । त्यसरी नै तिनका कथा व्यथाहरु सञ्चारमाध्यमले, हामीले, जसको हातमा कलम छ, जोसँग आवाज छ, उनीहरुले तिनीहरुको आवाज नबोल्ने हो भने अन्याय भयो कि भन्ने लाग्छ । त्यसैले जगको पनि कुरा गरौं, जमिनको पनि कुरा गरौं ।

अहिले हामी जग हाल्ने समयमा छौं । व्यवस्था बसाउने सिलसिलामा छौं । समाजका जुन सार्थक युवाहरु हुन्छन्, राष्ट्रको जग हुन् । उनीहरुको पनि कुरा गरौं । किसानका कुरा गरौं, कालीगढका कुरा गरौं । योगदानको आधारमा उनीहरुको मूल्यांकन र उनीहरुलाई गर्ने प्रोत्साहनको कुरा गरौं ।

मूल पात्र पहिचान गरौं

मान्छे स्वभावैले रंगमञ्चमा, स्पटलाइटमा बस्न चाहन्छ । मानिसको स्वाभाव नै हो । जहाँ लाइट छ, जहाँ स्पट छ, जहाँ माइक छ त्यहाँ मान्छे बस्न चाहन्छ ।

तपाईं सन्चारकर्मीहरु जोसँग कलम छ, किबोर्ड छ, अहिलेको परिस्थितिमा फोकस, स्पटलाइटको व्यक्तिमाथि पार्ने भन्ने निक्र्यौल गर्नुपर्छ । रंगमञ्चमा कुन पात्र महत्वपूणर् छ, कसले संवाद बोल्दैछ, कसले कथालाई डोहोर्याउँदैछ ? उक्त मूल पात्रलाई नचिनेर तपाईंले कोरस वा फाल्तु पात्रमाथि फोकस वा स्पटलाइट पार्नुभयो भने मुख्य पात्रले सम्प्रेषण गर्ने कुराहरु नसुनिएलान् । संप्रेषण नहोलान् ।

त्यसरी नै समाजमा पनि मिडियाको नजरबाट अलिकति वौद्धिक भनाउँदो मान्छेहरुले बनाएका नजरबाट मान्छेको, समाजको धारणा निर्माण हुन्छ । त्यो धारणा बनाउने तपाईं/हाम्रो जुन खालको भूमिका, कर्तव्य हो त्यसलाई सार्थक ढंगले लाइट, माइक्रोफोन उचित पात्रहरुलाई दिएमा राम्रो होला । न्याय होला भन्ने लाग्छ ।

अहिले जसरी कर्कश आवाजहरुले समाजलाई बिथोल्दैछ, अन्तरमनको उज्यालो नहुँदासम्म हामी कुनै बत्तीको उज्ज्यालोमा किराहरु झुम्मिए झै यसरी नै उज्ज्यालोमै झुम्मिन्छौं । आफ्नै मनको उज्यालोलाई नचिनेसम्म हामी बाहिरी उज्यालोमा नै मदमग्न भइरहन्छौं ।

अतः यसरी उज्यालो बाल्नेहरुले चाहिँ सार्थक कामको आधारमा मूल्यांकन गरेर प्रकाशहरु परिचालन गर्नुपर्छ भन्ने लाग्छ ।

मनोरञ्जन पहिलो प्राथमिकता होइन

सार्थकताको कुरा गर्दा केचाहिँ सार्थक भन्ने प्रश्न पनि आउँछ । मान्छेअनुसार, समाजअनुसार के कुरालाई सार्थक मान्ने भन्ने पनि फरक होला । तर, अहिलेको हाम्रो अवस्था र व्यवस्था हेर्दा जुन किसिमको परिस्थितिमा छौं, देशको जगको निर्माण गर्ने, व्यवस्थालाई व्यवस्थित गर्ने अवस्थामा छौं ।

यो बेलामा हामीसँग समाजको प्राथमिकताको हिसाबमा छाना, नाना, मानाको सवाल छ । त्यसभन्दा पछाडि मात्र आउँछ होला मनोरञ्जन, सिनेमा, कला, कलाकार । र, यही आधारमा हामीले मूल्यांकनको आधारहरु निर्माण गर्नुपर्छ होला । नभए त यी जगका ढुंगाहरुले पनि म पनि मूर्ति बन्छु, गजुर बन्छु, ख्याती, चिनारी बनाउँछु भनेर जग छाडे भने घर रहला ? मन्दिर रहला ?

त्यसैले गीत गाऊ । तर, गीत मात्र नगाऔं । मेलापात गर्दै गीत गाऊ ।

किसानले फलाएको त्यो धान, मकै, तरकारी, फलफूलभन्दा हामीले बनाएको फिल्म कुन अर्थमा महत्व राख्छ होला र ? त्यसैले योगदानको आधारमा सबैलाई समुचित स्थान दिलाऔं ।

समाजले अहिले कलाकारलाई आवश्यक्ताभन्दा बढी महत्व दिएको छ भन्छु म । यसको मनोवैज्ञानिक पाटाहरु छुटै होला, त्यो म त्यति धेरै जान्दिनँ । तर, कला र संस्कृति समाजको एउटा बाइप्रोडक्ट हो भन्ने लाग्छ । सुख, दुःखका गीतहरु, चलचित्रहरु जीवन होइनन् । बरु, तपाईं/हामीले भोगेका भोगाइहरुका एक अभिव्यक्ति मात्र हो । त्यसैले तपाईं/हाम्रो आवश्यक्ताको सूचीमा चलचित्र कति नम्बरमा आउला ? आत्ममूल्यांकन गरौं ।

जसले समाजको धुन र लय खोज्छ

स्वधर्मलाई छाडेर हामीले समाजलाई कता डोहोर्याउँदैछौं । आफ्नो मूल कर्मबाट विषयान्तर भएर अर्काको चियोचर्चा, चासो, सरोकार मात्र राखिरहँदा त्यसले हामीलाई कहाँ पुर्याउँछ ?

जबसम्म हामीले आफ्नै समाजका सार्थक कुराहरुलाई पहिल्याउन, पहिचान गर्न असमर्थ हुन्छौं, तबसम्म यस्तै निरर्थक र कर्कश आवाजले कोलाहाल मच्याइरहन्छ । समाजशास्त्रीय नजरबाट एउटा समाज वास्तवमै समाज हुनका लागि मूलभूत रुपमा के कस्ता अवयवहरु चाहिएला ? के कति भूमिका रहला ? समाजशास्त्रीहरुलाई थाहा होला । तर, हामीले समाजमा रहेका सबैलाई उचित मूल्यांकन गरिरहेका छौं, सम्मान गरिरहेका छौं ? जसको जगमा यो समाज उभिएको छ । जसले कलम चलाउँछ, जसको आवाज बिक्छ उनीहरुले आत्ममूल्यांकन गर्नुपर्छ जस्तो लाग्छ ।
जस्तो उदाहरण । मेरो गाउँमा काइँला मगर भन्ने हुनुहुन्थ्यो । उहाँ कटुवाली प्रथा गरेर आफ्नो परिवार चलाउनुहुन्थ्यो । दुःख, अभावकाबीच सात जना छोरीलाई हुर्काएर, बिहे दान गरेर जानुभयो । उहाँ घर-व्यवहार चलाउनमा मेरोलागि कुनै पिएचडी होल्डरभन्दा कम हुनुहुन्न ।

गाउँको आरन चलाएर बस्ने हाम्रो कामी दाइ जो भाँडाबर्तन बनाउनुहुन्छ, हातहतियार, कुटो कोदालो बनाउनुहुन्छ, उहाँको सीप, दमाई दाइले लुगा सिलाउनुहुन्छ, उहाँको सीप, खेतीपाती गर्ने किसानको सीप । यी सबै सीपालु व्यक्तिहरुको सामुन्ने म आफूलाई बामपुड्के पाउँछु । मैले आफ्नो समाजका लागि खास योगदान गरिरहेको छैन जस्तो लाग्छ ।

सेलिब्रिटी भ्रम

आफ्नो कामधन्दा सकेर, खानपिन गरेर, भाँडाबर्तन माझेर एकछिन आराम गर्दा वा फुर्सदको समयमा टेलिभिजनमा हेर्ने म सेलिब्रिटी छु । किन छु ? थाहा छैन । तर, समाजले यो क्षेत्रमा योगदानको आधारमा भन्दा अनावश्यक बढी महत्व दिएको भन्ने लाग्छ ।

खासमा सेलिब्रिटी त उही हुनुपर्ने हो, जसले समाजलाई चलायमान बनाइराख्न आफ्नो ऊर्जा, सीप, श्रम निरन्तर रुपमा खर्चिरहेका छन् । जबसम्म उहाँहरुको चर्चा, सम्मान गर्दैनौं, तबसम्म दुई-चार फिल्म खेलेकाहरुको चर्चा भइरहनेछ । सेलिब्रिटी भनेर उनीहरुको नाम लिइनेछ, पत्रिकामा अन्तरवार्ता छापिनेछ, रेडियो, टेलिभिजनमा उनीहरु नै छाउनेछन् ।

एउटा कलाकारले दुई-चार फिल्म खेलेकै भरमा जुन पत्रिकाले उनको सम्पूणर् जीवन-कथा नै खोजीखोजी उतार्छ, तर जीवनभर खेती-किसानीमा लागेका अनुभव र सीपले माझिएका एउटा किसानको कथा छाप्न कञ्जुस गर्छ ।

एउटा फिल्म बनाउँदैमा, एउटा फिल्म खेल्दैमा संसार नै जिते जसरी, देश नै चलाए झै जसरी मिडियाले उनको जीवन-गाथा लेख्न थाल्छ । भक्ति गान गाउन थाल्छ । सर्वसाधारण पनि उनीहरुकै पछि लाग्छ । किन यस्तो हुन्छ ? म छक्क पर्छु ।

हाम्रै वरीपरीका सार्थक र साँचो सेलिब्रेटीको बारेमा बोलौं, लेखौं । जब उनीहरुको योगदानलाई सही अर्थमा मूल्यांकन गरिनेछ, तब समाजले आफ्नै सुमधुर लय समात्नेछ ।

हामी कलाकारहरुको भ्रम के छ भने यो फिल्मका समस्याहरु सल्टाएर समाज नै हामीले धानेका हौं । यो भ्रम किन पनि छ भने, सबैले अनावश्यक महत्व दिएको छ । अनावश्यक चासो र सरोकार राखिएको छ । निजी जीवनबारे खोज्न थाल्छन् । रुचि एवं चाहनाहरु बुझ्न खोज्छन् । अनि त एउटा कलाकारलाई के भ्रम हुन्छ भने, ‘अहो ! म त वास्तवमै महत्वपूणर् रहेछु ।’

कलाकार भएर हामीले समाजलाई कसरी हेर्छौं ? चलचित्रमा हामी नायकको भूमिकामा हुन्छौं । वास्तविक जीवनमा हामीले त्यो नायकत्व निर्वाह गर्छौ वा गर्दैनौं ? के पनि हुनसक्छ भने पर्दाकै भ्रम पालेर हामी समाजमा हिँड्दा/बोल्दा पनि त्यसकै अवशेषहरु प्रदर्शन गर्छौं कि ? सिनेमामा आदर्शका ठूलै डायलग बोल्ने हामी वास्तविक समाजमा पनि त्यही रुपले प्रस्तुत हुन्छौं ? कि हामी भ्रम र दम्भको आलोकमा उभिएर एकदम फिका नौटंकी जीवन बाँचिरहेका छौं ?

योगदानको मूल्यांकन गरौं

एउटा शिक्षकले गर्ने मेहनत, एउटा पत्रकारले गर्ने मेहनत, एउटा किसानले गर्ने मेहनत, एउटा चालकले गर्ने मेहनतभन्दा सिनेमाको पर्दामा एउटा नायकले गर्ने मेहनत कहाँ र कसरी माथि होला र ? समाज वा राज्यका लागि किसानको तुलनामा एउटा कलाकारले त्यति अर्थपूणर् योगदान गरिरहेको हुन्छ जस्तो मलाई लाग्दैन । यसर्थ सामाजिक योगदानको तराजुमा जोख्दा कलाकारलाई हामीले जति महत्व दिएका छौं, जति चर्चा गरिरहेका छौं, त्यो बढी नै भएको जस्तो लाग्छ मलाई ।

किन र केका लागि यो क्षेत्रमा यति धेरै आकर्षण छ ? मिडियाले यति धेरै महत्व दिने भएकाले, आम मानिसले चासो राख्ने भएकाले सबैजना त्यतै झुम्मिन खोजेको हो भन्ने लाग्छ ।

हामीले पनि फिल्म खेलेर घर नै चलाएका हौं । जबकी किसानले खेती कर्म गरेर घर मात्र चलाएको हुँदैन, समाज नै चलाएको हुन्छ । एउटा चालकले, एउटा कर्मचारीले सबैले आ-आफ्नो पेशा/व्यवसाय गरेर घर नै चलाएका हुन् । यसरी घर-घर चलेर समाज चलेको होला । समाज चलेर देश चलेको होला ।

अहिले संचार माध्यममा, सामाजिक सञ्जालमा जसरी फिल्म र सेलिब्रिटीबारे कुरा उठेको छ, अरु क्षेत्रलाई नै ओझेलमा पार्ने भय देखिएको छ । समाजमा गर्नुपर्ने कुरा अरु धेरै होलान्, उठाउनुपर्ने मुद्दाहरु अरु धेरै होलान्, किसानका दुःखका कुरा होलान्, निमुखाका पीडाका कुरा होलान् । तर, हामी कलाकार, नेता र मन्त्रीलाई मात्र किन महत्व दिएर पछि लागेका छौं ?

हामीले जुन कुरालाई महत्व दिएर, प्रशंसा गरेर त्यसको पछाडि लाग्न थाल्छौं, नयाँ पुस्ताहरुलाई यसले पथभ्रष्ट बनाउन सक्छ । सबै गजुर नै बन्न खोज्छन्, टुँडाल नै बन्न खोज्छन् । जग बन्न कोही तयार हुँदैनन्, राजी हुँदैनन् । तब के होला ?

त्यसैले समाजमा असल योगदान दिनेहरु, कर्म गर्नेहरुको पहिचान गरौं । उनीहरुको कामको मूल्यांकन गरौं । उनीहरुको चर्चा परिचर्चा गरौं । सामाजिक सञ्जाल, संचार माध्यमहरुमा उनीहरुलाई स्थान दिऔं । तब मात्र सार्थक समाजको निर्माण हुनसक्छ । नभए त, भ्रम र भुलभुलैयामा नै हाम्रो समाज कुहिरोको काग झै होला । अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया