सरकार र सर्वाेच्च अदालतविरुद्ध नेविसंघको विरोध प्रदर्शन


विर्तामोड । नेपाल विद्यार्थी संघ झापाले गैरजिम्मेवार सरकार र सर्वोच्च अदालत विरुद्ध ब्यापक विरोध प्रदर्शन विर्तामोडमा सम्पन्न गरेको छ ।
दुईतिहाई बहुमतको कम्युनिष्ट नेतृत्वको सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राखेको र हत्याआरोप स्वीकार गरिसकेका रञ्जन कोइरालालाई उन्मुक्ति दिएर न्यायिक पद्धतिलाई नै कमजोर बनाएको विरोधमा नेपाल विद्यार्थी संघ झापाले मंगलबार विर्तामोडमा प्रदर्शन सम्पन्न गरेको हो ।
चोलेन्द्र शमशेरलाई कारबाही गर, धार्मिक हिंसा निम्त्याउने अभिब्यक्ति बन्द गर, विधिको शासन कायम गर, गैरजिम्मेवार ओली सरकार मुर्दाबाद, चिनिया अतिक्रमण स्वीकार्य छैन, विधिसम्मत निर्णय गर्ने कि जबर्जस्ती दुई तिहाइको दम्भले रु नेविसंघ जिन्दाबाद’ लगायतका नारासहित विर्तामोडको दुर्गामन्दिर परिसरबाट निकालिएको विरोध प्रदर्शन बजार परिक्रमापछि मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीले यसअघि हत्या आरोप स्वीकार गरेर आजीवन काराबासको सजाय सुनाइएका रञ्जन कोइरालालाई छाड्नुले न्यायिक पद्धति नै मरेको बताए ।
नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाले वर्तमान सरकारमा दुईतिहाइको दम्भ र उन्माद देखिएको बताउँदै सत्ता र पैसाका पछि अल्झिएको कम्युनिष्ट नेतृत्वको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको टिप्पणी गरे । न्यायालयमाथीको सरकारको हस्तक्षेपले लोकतन्त्रलाई नै कमजोर बनाएको नेता सिटौलाको भनाइ थियो ।
वर्तमान सरकार भ्रष्टाचारमा डुवेको टिप्पणी गर्दै बक्ताहरुले कम्युनिष्ट नेतृत्वको सरकारले जनअपेक्षा अनुरुप कुनै पनि काम गर्न नसकेको धारणा राखेका थिए । नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न कोणसभाको सञ्चालन पोषराज कटुवालले गरेको प्रवक्ता सञ्जय निरौलाले जानकारी दिए ।