नेपालको राजनीतिले देखाएको डर


रिसब आचार्य
नेपाली राजनीति दिशाहीन हँुदैछ, जनताको रगतले आर्जेको लोकतन्त्र र गणतन्त्रको ब्यवस्था समेत धरापमा पर्दैछ । राजनीतिक सरगर्मी र ब्यक्तिगत प्रभाव, लोभ र अहंकारले समेत यो ब्यवस्था दुर्घटना उन्मुख दिशा लिइरहेको देखिन्छ । वि सं २०७४ मंसिर १० र २१ गते पूर्व प्रम शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले दुई चरणमा नेपालको संघीय तथा प्रादेशिक संसदहरुको चुनाव गरायो । हालको समय एक भएको पार्टी नेपाल कम्युनिष्ट पार्टीले सम्मानजनक दुई तिहाई बराबरको मत प्राप्त गर्यो । ७ मध्ये ६ प्रदेशमा एकल सरकार बनायो भने संघीय सरकारमा समाजवादी, राजपा लगायतका तत्कालीन दलसँग सहकार्यमा सरकारको निर्माण गर्यो । त्यस समय समेत सरकार निर्माणमा ढिलासुस्ती देखी अन्तिम समयमा देउवा सरकारले गरेका निर्णयहरु लगायतले सरकार निर्माणका निम्ति मार्ग प्रशस्त गर्न आनाकानी नै गरेको देखियो । प्रदेश प्रमुखको नियुक्तिदेखि सपथ लिने नलिने सन्दर्भमा दुई ठुला दलबीच रस्साकस्सी नै चल्यो ।
दुई तिहाई बराबरको मत र दुई तिहाई भन्दा धेरैको समर्थनमा बनिरहेको सरकारसँग जनता धेरै नै उत्साहित र आशावादी थिए । प्रधानमन्त्री कमरेड के पि शर्मा ओलीलाई नेपाली राजनीतिमा ध्रुब तारा झै चम्किन र उदयमान राजनीतिक भविष्यका लागि नाकाबन्दी आर्शिबाद बनेको थियो । नाकाबन्दीमा साहसी भूमिका खेलेको र राष्ट्रवादी छबि बनाएकै भरमा अमेरिकामा ट्रम्प, रसियामा पुटिन र भारतमा मोदी जस्तो झल्को दिने किसिमले कमरेड के पी शर्मा ओली प्रधानमन्त्रीको दावेदारको रुपमा उठ्नु मात्र भएन दुई तिहाईको सरकारको नेतृत्व गर्दै इतिहासमा सायदै नदोहोरीने जनमतको नायकको रुपमा समेत देखिनु भयो ।
सरकारप्रति जनता धन्य हँुदै गर्दा वा नयाँ सरकार आएको खुसी मनाउन पाँउदा नपाउँदै युनिफिकेशन चर्चको बिभिन्न गतिबिधिमा सामेल हँुदै होली वाइनको लफडामा सरकार मुछिदै गर्दा भर्खर हिन्दु राष्ट्र गुमाएर नतङ्गरिएका नेपालीजन केहि चनाखो अवश्य बने । सरकार भित्र बाहिर, गाँउ, टोल, सहर जतात्यतै होली वाइन र सरकारको संलग्नतामा प्रश्न चिन्ह खडा भयो । ६२–६३ पश्चात सल्बलाउँदै बढेको ईसाई धर्मको प्रचार र हरेक १ बर्ग कि.मि मा बनिरहेका चर्चले समेत संशकित पारेको नेपाली जनलाई होली वाइन र गाँउ टोलका नेतालाई समेत परिवारसहितको वाइन पार्टीमा गरिएको निमन्त्रणाले झनै हतोत्साहि बनायो । लगत्तै सुरुभएको सुन काण्ड, यातायातको सिन्डिकेटप्रति आक्रामक प्रहारले सरकारप्रति बिस्वास जाग्दै गर्दा आम जनताको भावना बिपरीत ति काण्डहरुको टुङ्गो लगाइनुदेखि आशलाग्दो छवि बनाएका स्वर्गीय रबिन्द्र अधिकारीको वाइड बढीमा देखिएको संलग्नता र त्यसमा प्रधानमन्त्री ओलीको बचाऊ भाषणले आमजनतालाई ठुलो चोट पुर्यायो ।
निर्मला बलात्कार र हत्याकाण्ड, पुर्ब सभामुख महरामाथि लागेको आरोप र सृजित बातावरण जस्तै सुनकाण्डमा ठुला–साना माछा भनि गरिएका संवाद वा प्रयोग भएका बिम्बहरुले समेत सरकारको साखको पारो बिस्तारै घट्दै गयो । यस्ता घटनामा चिया गफ वा टोल–टोलमा गरिने क्रान्तिसँगै वितृष्णाका भाषणहरुले समेत यस्ता घटनाहरुमा सरकार र अन्य उच्च अहोदाको ब्यक्तिहरु प्रति सन्देह समेत पैदा गर्यो । एमसीसी टेबलिङ्गको बिषयमा सभामुख फसाईएको देखी मन्त्रीका छोराको संलग्नतामा निर्मला हत्याकाण्ड घटेको जस्ता बजारू हल्लाले सरकार प्रति जनता निराशा थप्दै गयो । माननीय बिष्णु पौडेल मुछिएको बालुवाटार जग्गा प्रकरण र पुर्वमन्त्री गोकुल बास्कोटाको ७० करोडको डिलिङ्गमा सरकार र प्रधानमन्त्रीका कदम थप निराशजनक देखियो । रुकुमको चौरजहारीमा घटेको सामूहिक नरसंहार र सत्तापक्षका राम्रो छबि बनाएका नेताले त्यसमा गरेको सम्बोधन लज्जास्पद बन्यो । लगत्तै आएको बेमौसमी अध्यादेश र संसद अधिवेशनको अन्त्यले समेत नेपाली राजनीतिमा ठुलो असर पारिरहेको छ ।
यसैबीच संसदमा प्रतिपक्षको भुमिकामा रहेको नेपाली काँग्रेसले संसदमा देखाउने प्रस्तुति देखी पार्टीको किचलोले सधै निम्छरो प्रतिपक्षभन्दा माथि उक्लन सकेन । आफुलाई प्रजातन्त्रको हिमायती सम्झने नेपाली काँग्रेसको पार्टी भित्रै भने मातृका कोइराला, बीपी कोइराला, सुवर्ण शमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेर बहादुर देउवाको पालो सम्मपनि प्रजातन्त्र स्थापित हुनसकेकै छैन । टिकट बाढफाँड देखी नै सुरु भएको किचलो र चुनावी परिणामले थला परेको काँग्रेस दया लाग्दो स्थितीमा आयो । यद्यपि युवा नेताहरुबाट देखिएको हस्तक्षपकारी भुमिका र सभापति प्रतिको निर्मम प्रहारले जनतालाई केहि सहज गराए पनि बिभिन्न आग्रह, पूर्वाग्रह र लोभमा फसी त्यो समुह न एकजुट हुनसक्यो न त पार्टी रूपान्तरणमा एक ढिक्का भएर प्रस्तूत हुनसक्यो । आज प्रेस मैत्री भएको काँग्रेससँग प्रेस र जनता नजिक भएपनि पस्किएर जनतालाई दिने कन्टेन्टमा भने न त कुनै सुधार छ न त कुनै आशलाग्दो बिषयबस्तु ।
एकता पश्चात तेस्रो ठुलो दलको रुपमा उदाएको जनता समाजवादी पार्टीलाई आमजनता भारतीय जनता पार्टीको सानो भाई बाहेक अर्को रुपमा बुझ्नै नसक्ने दरिद्र मानसिकता लिएर अघि बढिरहेको छन । नागरिकताको बिषय लिएर सरकारबाट अलग भएको रा.ज.पा र पूर्व प्र.म डा. बाबुराम भट्टराई मिसिएको समाजवादी फोरम मिलेर बनेको स.ज.पा राष्ट्रीय पार्टी बन्ने अभिप्रायले अघि बढिरहेको भएता पनि आमजनता सामु यो दल मधेश केन्द्रित वा क्षेत्रीय दल भन्दा ठुलो मान्यता पाउन सकिरहेको छैन । तथापि इण्डियन एसेस्टको रुपमा चिनिएका बाबुराम भट्टराईको रणनीतिमा चलिरहेको स.ज.पा मा जोडिएका आङ्गकाजी शेर्पा, अशोक राई लगायतले यो पार्टीलाई पहाडको जनजातीको समेत पार्टी हो भनेर चिनाउन ठुलो करसत गरिरहेको छन। यद्यपि एक सिटमा सिमित डा बाबुराम भट्टराई आज तेस्रो ठुलो दलको नेत्रत्वदायि नेताको रुपमा स्थापित भएको सत्यलाई नकार्न सकिदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी, पुर्ण समानुपातिक संसद देखी लोकपालको ब्यवस्थामा वकालत गर्ने यो पार्टीको बहुराष्ट्रीय प्रदेशको अवधारणा बाहेकमा जनताको खासै बिमती भने छैन। कालापानीको बिषयमा संसदमा बोल्ने क्रममा राजेन्द्र महतोले आउदो प्रधानमन्त्री समाजवादी जनता पार्टीले दिने ढाढस दिएको कुरा समेत सोचनीय नै छ ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नक्शा सार्वजिनक गर्दा देखिएको राष्ट्रीय एकता केहि दिनमै उठेको नागरिकता विधेयकमा छताछुल्ल भइछाड्यो । देशब्यापि रुपमा सार्वजनिक जग्गा याक एन्ड यतिको पोल्टामा दिईनु, कोरोना कहरका बीच स्वास्थ सामग्रीको खरीदमा ओम्नी जस्ता कम्पनीसँग सरकार र उच्च अहोदामा आसीन ब्यक्तिहरुका नाम ठोक्किनु जस्ता कारणले जनताको लोकप्रिय मतप्राप्त सरकारको पारो तल पुगिसकेको छ । लकडाउन सुरु हँुदै गर्दा देखिएको श्रमिकहरुको पैदल यात्रा र त्यसमा प्रधानमन्त्रीले देखेको रहस्य, राहतको न्यावोचित बितरण नहुँदा शेर बहादुर तामाङ्ग वा मलर सदाले ज्यान गुमाएको बिषयले सरकारप्रति झन झन नैराश्यता थप्दै गयो ।
कोरोना ब्यवस्थापनमा देखाएको अकर्मण्यता, क्वारेन्टाईनमा सामान्य बिरामीले औषधि नपाएर मृत्यु भएको घटनाले समेत आज जनता धेरै नै निराशामा छन् । स्वच्छ छवि रहेको नेपाली सेनालाई अनेक टेन्डर प्रक्रियामा जोड्नेदेखी कोभीड नियन्त्रणमा परिचालन गर्ने कुरामा समेत आममानिस खुसी हुनसकेनन् । दुई ने क पा को एकताले बनेको डबल ने क पा भित्र सधै देखिने बरिष्ठताको लडाई र आन्तरिक लफडाबाजीले मात्र नभएर यो परिस्थितिको फाइदा लिन नसकिरहेको नेपाली काँग्रेस लगायतका दलको चुप्पीसदाईले समेत पार्टी ब्यवस्थाप्रति नै नेपाली जनको बिश्वास घटिरहेको देखिन्छ । साना साना राष्ट्रीय मुद्दा देखी पार्टीको आन्तरिक बिबादमा सतहमै देखिने गरी राजदुत र शक्तिकेन्द्रहरुको प्रभावले समेत नेपाल र नेपालीको गर्विलो सार्वभौमिकता माथि प्रश्न खडा गरिरहेको छ । BRI, MCC, IPS जस्ता शक्तिराष्ट्रहरुको सुरक्षा रणनीतिमा समेत धेरै नै लचिलो र खुकुलो भएर प्रस्तुत हुने नेपाली राजनितिज्ञहरुबाट समेत नेपाली जनता वाक्कदिक्क भइसकेका छन् ।
प्रादेशिक संरचना, बढेको कर र अनुत्पादनमुलक सरकारी खर्चले नेपालीहरु दुःखी छन जसले संघीय प्रणालीलाई समेत खतरामा पार्दै छ । प्रदेशका मन्त्रीदेखी मुख्यमन्त्रीहरुका राजश्री ठाँट, नगर र वार्डका छोटे राजाहरुबाट नेपालका भुईमान्छेले न कुनै राहत महसुस गरेका छन् न त तिनिहरुबाट आशलाग्दो छनक आउने बुझेको छन। जनता बढेको कर, ढिलासुस्ती, अकर्मण्यता, भ्रष्टचार र नेपालको तिनै तहका सरकार र जनप्रतिनिधिको बिलाशी जिवनको ठुलो मारमा परिरहेको छन् । सँगैमा बढ्दो धर्म परिवर्तन र ईसाई धर्मको प्रभाव समेत आम मानिसलाई खड्किरहेको बिषय हो। यस्ता अनेकौ कुराहरु छन जसले गर्दा हिजोको उपलब्धि मानिएको धर्म निरपेक्षता, संघीयता र गणतन्त्र आज खतरामा परिरहेको छ ।
६२–६३ पछि जन्मिएका वा प्रत्यक्ष निरङ्कुश राजतन्त्र नभोगेको एउटा युवा तप्का आज डिस्कोमा बुहारीसँग नाचीरहेको यदाकदा देखिने कुल छबि बनाएका पूर्व राजा ज्ञानेन्द्रको डाईहार्ट फ्यान बनिरहेको भेटिन्छन् । कोरोना कहरका बिच खर्च सार्वजनिक गर भन्दै स्वतस्फूर्त सडकमा सरकार बिरुद्ध निस्केको उच्च मध्यम बर्गीय युवाहरुको झुण्ड समाज, राष्ट्र सुध्दृढिकरणमा ठुलो हतियार बन्नसक्छ। हिजोका ठुला ठुला परिवर्तनको लडाईमा नदेखिएका सहरको युवा जमात आजभोली रचनात्मक शैलीमा प्रभावकारी ढङ्गले बिरोधमा उत्रनु शुभ संकेत समेत हो। सरकारको पक्षधर पार्टी भित्र देखिने सधैको किचलो, प्रचण्ड–केपी वार र त्यस्तो माहोलमा समेत जनता आफ्नो पकडमा लिने किसिमले अघि बढ्न नसकेको निम्छरो नेपाली काँग्रेस लगायतको प्रतिपक्षमा रहेका राजनीतिक दलबाट नेपाली भुईमान्छे थकित भएका छन, दिक्क भएका छन र वाक्क हुदैछन। सधै देखिने प्रधानमन्त्री बन्ने दौड, बिभिन्न समर्थन र बिरोधका रÞ्याली र नाराबाजी, देखिनेगरी हुने अन्तराष्ट्रीय हस्तक्षप, राष्ट्रपति पदको हेलीकप्टर, कार्पेटदेखी आन्तरिक पार्टी बिबादसँग जोडेर गरिएको बेइज्जति जस्ता कुराहरुले दिनदिनै नेपाली जनता भड्काईरहेको छ ।
काँग्रेसको दक्षिण मोह, समाजवादी जनता पार्टीको क्षेत्रीय मुद्दा र नेपाल कम्युनिष्ट पार्टीभित्र सधैको शक्तिसंघर्षले हरेक गाँउ, सहर र टोलटोलको तल्लो तहका झण्डा र सिद्धान्त मुनि नबसेका किशोर, युवा, बयस्कहरु हरेक दिन यो देशको अवस्था र यसलाई सृजना गर्ने यही ब्यवस्था हो भन्ने ठानी बिकल्पको बहसमा जुटीरहेको पाईन्छन । समाजको त्यो तप्काको रिस, कुण्ठा, राजनीतिक वितृष्णालाई सही दिशा दिनबाट आजको नेतृत्व चूक्यो भने यसले देशमा ठुलो राजनीतिक शून्यता वा भ्याकुमको अवस्था आउने निश्चित छ । हरेक टोलको भेला, चौतारोको गफ, चिया राजनीति देखी चोक बजारमा चल्ने गफ र हल्लाले समेत आजको नेपाली राजनीति र उपलब्धि मानिएको गणतन्त्र ब्यवस्थामाथी नै कालो बादल मडारिरहेको प्रस्ट देखिन्छ । नेपालमा आज ठुला भनिएको बिभिन्न दलका नेतृत्वहरु एक कदम पछाडि सरी स्वमूल्यांकन पश्चात राष्ट्रलाई सही दिशानिर्देश गर्न सकेनन् भने जङ्गे, महेन्द्र जस्तो निरङ्कुश शासक खोजी हिडिरहेको जमातले तेस्रो नसोचेको धारको वकालत गरी देशलाई ठुलो संकट तर्फ धकेल्न सक्ने सम्भावना बढेर जान्छ ।

तपाईको प्रतिक्रिया