झापामा सशस्त्र प्रहरीका ३ जवानसहित ४ संक्रमित थपिए

झापा । सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका तीन जना जवानमा कोरोना संक्रमण देखिएको छ ।

झापामा आज देखिएका चार मध्ये तीन जना सशस्त्र प्रहरी र एक जना दमक वडा नम्बर ५ की महिला हुन् । उनी भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेकी थिइन् ।

संक्रमितलाई उपचारमा लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

यस अघि सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका २० जवान संक्रमित भइसकेको छ । बिहिवारका चारसहित झापामा संक्रमितको संख्या ३ सय ५५ पुगेको छ ।

नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।
बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया