झापामा मास्क नलगाई हिँड्ने क्रम बढ्यो, दैनिक ७ सय कारवाहीमा

झुलन रेग्मी
झापा । सरकारले कोरोना संक्रमणबाट बच्च सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन भने पनि झापामा भने मास्क नलगाई बाटोमा हिँड्ने क्रम बढेको छ ।
कोरोना संक्रमण रोक्ने एकमात्र उपाय मास्क भएको भन्दै गृह मन्त्रालयले मास्क नलगाउने विरुद्ध कडा कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । कोभिड–१९ संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृहले मातहतका निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गर्दै झापा प्रहरी पुनः सक्रिया भइरहेको छ ।
झापामा अहिलेसम्म मास्क नलगाई हिँड्ने १५ हजार सर्वसाधारणलाई कारवाही गरिएको प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार झापामा दैनिक ५ सयदेखि ७ सय जना सर्वसाधारणले यो नियम उल्लघंन गरिरहेका छन् ।

प्रहरी प्रमुख कोइरालाले ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा मास्क नलगाउने क्रम बढेको बताए । बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई सुरुमा रोकेर सम्झाउने, बुझाउने काम भएको पनि उनले जानकारी दिए ।

तर, अनिवार्य गरिएको मास्क नलगाउनेविरुद्ध प्रहरीले कारवाही स्वरुप जरिवाना १ सय रुपैयाँ लिएको उनले बताए । उनका अनुसार दुई दिनको अवधिमा ५० जना सर्वसाधारणले नियम उल्लघंन गरेवापत कारवाही गरिएको झापा प्रहरीले जनाएको छ । ‘मास्क अनिवार्य लगाउनु आफ्नै सुरक्षाका लागि हो,’ उनले भने, ‘सर्वसाधारण यो कुरा बुझ्ने हो भने कारवाही गर्नुपर्ने अवस्था आउने थिएन ।’
सरकारले मास्कमा कडाइ गर्नु सर्वसाधारणको हितमा रहेको सामाजिक अभियन्ता विजय डालमियाले बताए । उनले मास्क लगाउनु आफ्नो सुरक्षाका लागि भएकाले कसैले पनि हेलचेक्रयाइँ गर्न नहुने बताए । उनले मास्क नलगाउनेविरुद्ध बाध्यकारी नियम लगाउनु सुधारको लागि भएको बताए । ‘हेल्मेट नलगाई मोटरसाइकल कुदाउन नियमले पाइदैन,’ उनले भने, ‘यस्तै हो, मास्क नलगाई हिँड्नु भनेको कोरोनाको जोखिममा पर्नु हो ।’ त्यसैले मास्क लगाउनु बाध्यकारी नियम भए पनि आफ्नै लागि हो भनेर बुझन् उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया