जेष्ठ नागरिक र कोभिडको जोखिम

आजभोली जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैकंहरुमा लाइन बसेको देखिन्छ । यसरी लाइनमा बसेका जेष्ठ नागरिकहरुले पाउने अन्य शारीरिक सास्तीलाई परै राख्ने हो भने पनि हाल देखिएको कोभिड संक्रमणको जोखिमबाट भने बेखबर बस्न नहुने भए पनि यस विषयमा कसैको पनि ध्यान गएको देखिएन । यतिसम्म कि जेष्ठ नागरिकहरुको संघ संगठनका पदाधिकारी समेतले यस विषयमा एक शब्द समेत खर्चिएको देखिएन ।हुन त देशमा अहिले सरकारवाल दलभित्रको ठोकठाक र घोचपेच, चेपागं वस्तीमा गरिएको हात्ती हमला र आजगनी , पुर्व डिआइजी रञ्जन कोइरालाको सजाय माफि प्रकरण लगायतका विषय नै अहिले स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाका विषयहरु भएका विषयमा उमेरले नेटो काटि सकेका र युवा जत्तीकै उत्पादन दिन नसक्ने जेष्ठ नागरिकका सवालहरु पुँजीवादी ब्यवस्था भित्र  प्राथमिकतामा नपर्नु पनि कुनै अचम्मको विषय हुदैन ।२०७६ चैत्र ११ गते देखि नेपालमा कोभिड संक्रमणको आयातिक केशहरु फाट्टफूट्ट देखिएको अवस्थामा नेपाल लकडाउनमा रह्यो । यस  अवस्थामा जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता स्थानीतह मुख्य रुपमा वडाहरुले घरघरमा नै दिएका थिए । यो प्रशंसायोग्य कार्य भएको कुरा सवैले प्रचार गरियो र सँगै अव यो राम्रो कार्यको थालनी भएको र यसको नियमितताको लागि जोडवल गरियो । तर हामीले गर्ने भनेको त राम्रो लाई स्याब्बासी दिने र कमजोरीलाई सुधारका लागि आलोचना गर्ने मात्र थियो ।हिजो आयातित केसहरु मात्र भएको अवस्थामा घरघरमा दिएको भत्ता आज  संक्रमितहरुको संख्या १८ हजार भन्दा वढी भएको, सहरवजारमा संक्रमण समुदायमा फैलिएको आशंका गरिएको , सुरक्षाकर्मी , स्वास्थ्यकमी जस्ता सुरक्षाको अभ्यास गर्ने ब्यक्तिहरुमा समेत संक्रमण देखिएको  अवस्थामा स्वास्थ्यका कारणले कोरोनाको उच्च जोखिममा पर्ने जेष्ठ नागरिकहरुलाई वैकंमा लाइन लगाइयो । वैकं तथा वित्तिय संस्थाहरु सहरमा हुने , अझ आफ्ना भवन नभएका कारणले भाडामा वसेका वैकंहरुमा पर्याप्त स्थान नहुनु स्वाभाविकै थियो । यस्तो अवस्थामा हिजो घरघरमा दिन मिल्ने सामाजिक सुरक्षा भत्ता आज किन नमिल्ने भयो ? यसको चित्त वुझने जवाफ खोज्ने प्रयास स्वरुप यो आलेख तयारीको जमर्को गरिएको छ ।जेष्ठ नागरिकहरु जिउँदा इतिहास हुन र उनीहरुले देखेको र भोगेको विषय आजका लागि ज्ञान र शिप हुन्छ भन्ने कुरा आजका पिडीले वोध गरेनन । जनप्रतिनिधिहरु समेत जेष्ठ नागरिकलाई केवल भोटको रुपमा हेर्न थालेको प्रष्ट छ । किनकी  नेपालको सम्विधान २०७२ को भाग ३ मौलिक हक र कर्तब्यको धारा १८ को उपधारा ३ मा सामाजिक वा सँाँस्कृतिक रुपमा पिछडिएका ,महिला , दलित , आदिवासी जनजाति, मधेशी ,थारु ,मुस्लिम, किसान, श्रमिक, युवा , वालवालिका जेष्ठ नागरिक लगायतको संरक्षण तथा सशक्तिकरणका लागि कानुन वमोजिम विशेष ब्यवस्था गर्न रोक लगाएको मानिनै छैनन भन्ने उल्लेख गरिएको छ । यही सम्विधानको प्रावधानको आधारमा  जेष्ठ नागरिकहरुका लागि विशेष कानुन वनाइ उनीहरुले पाउने सामाजिक सुरक्षा भत्ता घरघरमा नै दिन सकिन्थ्यो तर दिइएन ।जेष्ठ नागरिक सम्वद्ध संस्थाहरुको नेतृत्वमा वस्ने नेताहरुको आत्मकेन्द्रित सोच र ब्यवहारका कारण समेत आम जेष्ठ नागरिक मारमा परेका छन । अहिले जेष्ठ नागरिकको नेतृत्व तहमा आउनका लागि ६० वर्ष पुरा हुन नपर्ने प्रावधान राखेर कम उमेरका र साधन श्रोत सम्पन्न ब्यक्तिहरु नेतृत्वमा रहने गरेका कारण समेत यस्तो अवस्था आउन पुगेको भन्न कठिन छैन ।

बि स २०५१ पुस ११ गते तत्कालिन प्रधानमन्त्री श्री मनमोहन अधिकारीले ७५ बर्ष पुरा गरेका जेष्ठ नागरीकलाई मासिक रु १०० भत्ता दिने नितीको घोषणा गरी २०५२ सालको श्रावण महिना देखि ६ महिना लागी पाँचवटा विकास क्षेत्रको पाँचवटा जिल्लामा प्रयोग गरी सोही वर्ष लागु गरीएको जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता हाल मासिक ३००० पुगेको छ ।राज्यले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउनु अत्यन्त राम्रो विषय हो । सरकारको यस कार्यक्रमलाई जेष्ठ नागरिकले आफु प्रति राज्यले गरेको सम्मानको रुपमा वुझनु पर्ने थियो । राज्य यसमा चुकेको छ  किनकी हरेक ४ महिना पस्चात जिणर् शरिर लिएर अटो रिक्सामा निसासिएर वैकंमा पुग्नुपर्ने , अनि वैकंमा दिन भरी लाइनमा कठोरका साथ वसेर मात्र रकम हात पर्ने जुन अहिलेको प्रणाली (?) छ यसले गर्दा  राज्यले जति दिएपनि राज्य प्रति उनीहरुको गुनासो रहेको उनीहरुका अनुहारवाट सहजै पढ्न सकिन्छ । यसको निकास भनेको फेरी पनि जनप्रतिनिधि नै हुन । यदी जनप्रतिनिधिहरुको अन्र्तमनको ढोका खुल्ने हो भने यस अघि जस्तै अव पनि यि भत्ताहरु घरघरमा नै वुझाउन नसकिनै हैन । यो कोभिडको महामारी जेष्ठ नागरिकहरुलाई आइसोलेसन (पृथकिकरण) मा राखेर संक्रमण हुन नदिनु पर्नेमा , सामाजिक सुरक्षा भत्ता वुझनका लागि हामी सहरमा पठाउँछौ भने यो भन्दा गम्भिर अर्को लापर्वाही के नै हुन्छन र ? ख्याल गरौं यि जेष्ठ नागरिकले तराईमा औलो पचाएर भएपनि आजका खेतियोग्य जमिन वनाएका छन , कुला ,पैनी, वाँध निर्माण गरेका छन ,अझ ठुलो कुरा त यिन कै कारण आज हामीलाई  यो पृथ्वीमा भएका अनेक वस्तु देख्ने  र भोग्ने मौका मिलेको छ ।  हाम्रो लापर्वाहीका कारण अझ कोभिडको संक्रमणमा पर्ने अवस्था आयो भने इतिहासले हामीलाई कहिल्यै माफ गर्ने छैन ।

तपाईको प्रतिक्रिया