खेलकुद प्रशिक्षणको मापदण्ड के ?

काठमाडौं । लकडाउन अन्त्य भएसँगै अन्य सबैजसो क्षेत्र सामान्य अवस्थामा फर्किएका छन् । तर खेलकुद क्षेत्र भने सामान्य बन्न अझै सकिरहेको छैन ।

कोरोना संक्रमण र लकडाउनले गर्दा चार महिनासम्म नेपाली खेलकुद ठप्प रह्यो । खेलाडीहरु यति लामो समयसम्म फुर्सदमा रहेको यो पहिलो पटक हो । लकडाउन अन्त्यपछि सरकारले भदौ १ देखि खेलकुदको प्रशिक्षण गर्न मिल्ने निणर्य गरेको छ । यसले गर्दा खेलाडीको लागि अब अभ्यास गर्ने बाटो खुलेको छ ।

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरु भदौ १ देखि सञ्चालन गर्न सकिने भनेर सरकारले निणर्य गरेको हो ।

यस्तै स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुती अर्को सूचनाबाट तोकिएको मितिदेखि सञ्चालन हुने सरकारले जनाएको छ ।

लकडाउनले गर्दा ओलम्पिक छनोट खेल्ने तयारीमा रहेका विभिन्न खेलका खेलाडीदेखि फिफा विश्वकप फुटबल छनोट खेल्ने आईसीसी विश्वकप लिग २ सिरिज खेल्ने खेलाडीहरुलगायत सबैलाई असर गर्यो ।
लकडाउन अन्त्य भएर प्रशिक्षण गर्न पाउने बाटो खुलेपछि अखिल नेपाल फुटबल संघ एन्फाले भने राष्ट्रिय टिमका खेलाडीहरुलाई बोलाएर प्रशिक्षण गराउने प्रकियाबारे तयारी थालिसकेको छ । एन्फाले साउन १६ भित्र उपत्यका बाहिर रहेका खेलाडीहरुलाई बोलाउने र दुई साता क्वारेन्टिन राख्ने र पिसिआर परिक्षण गरी १ भदौदेखि प्रशिक्षण सुरु गर्ने गरी तयारी थालेको छ । अक्टोबर-नोभेम्बरमा नेपालमै हुने फिफा विश्वकप छनोटका लागि एन्फाले यसअघिदेखि नै प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि सरकारबाट स्वीकृति नपाउँदा ढिला भएको हो ।

फुटबलसँगै क्रिकेट र भलिबल नेपालको चर्चित सामूहिक खेल हो । क्रिकेटको पनि ओडिआई विश्वकपको रोडम्यापको रुपमा रहेको आईसीसी विश्वकप लिग २ को नेपालले खेल्ने ३ सिरिज स्थगित भइसकेको छ । सेप्टेम्बरसम्म हुने लिग २ का सिरिजहरु आईसीसीले स्थगित गरिसकेको छ । त्यसैले नेपालले अब कहिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्छ भन्ने तत्काल भन्न सक्ने अवस्था छैन ।

सरकारले खेलकुदको प्रशिक्षण १ भदौदेखि सुरु गर्ने निणर्य गरे पनि कसरी गर्ने भनेर कुनै मापदण्ड बनाएको छैन । यस सन्दर्भमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकद परिषदबाट कस्तो निर्देशन आउँछ त्यसपछि थाहा हुने बताए । ‘मन्त्रालय र परिषदबाट चिठी आउनुपर्यो । यति संख्यामा, यसरी प्रशिक्षण गर्ने भन्ने मापदण्ड होला,’ चन्दले भने, ‘प्रारम्भिक भनेको छ । त्यसमा ५०-६० जना राख्ने हो कि २०-२५ जना राख्ने हो । अलि स्पष्ट गरिदिनुपर्छ होला ।’

चन्दले सबै मापदण्ड सपष्ट भए आफूहरु पनि तयार रहेको बताए । ‘त्यो सबै प्रकिया आएपछि फेरि छलफल गर्छौं । अब सरकारले सहज बनायो भने हामी तयार छौँ ।’

प्रशिक्षणमा फर्कनका लागि होटल ग्राउण्ड क्याम्प सबै सिज गरर गर्नुपर्ने चन्दले बताए । ‘अहिले तत्कालका लागि यो एक महिना प्रशिक्षण गर्न गाह्रै होला,’ चन्दले भने ।

लकडाउन रहेकै बेला केही खेलाडीले व्यक्तिगत रुपमा कीर्तिपुरस्थित टीयू मैदान पुगे प्रशिक्षण गर्न थालेका छन् । राष्ट्रिय टिमकै केही खेलाडी भने काठमाडौं बाहिर छन् । आईसीसीले पनि व्यक्तिगत र सामूहिक गरेर विभिन्न चार चरणमा प्रशिक्षण गर्न सक्ने भन्दै गाइडलाइन्स बनाएको छ । जसअनुसार भौतिक दूरी राख्ने स्यानिटाइज गर्ने लगायत विभिन्न मापदण्डहरु छन् ।

आईसीसीबाट नेपाली क्रिकेट पूणर्रुपमा फुकूवा नभएकाले अन्य विषयहरुमा पनि क्यानले अहिले केही निणर्य गर्न सकेको छैन । केही दिनअघि क्यानको कार्यसम्पादन बैठकले प्रशिक्षक व्यवस्थापक प्रवन्ध निर्देशन विपरीत निर्देशक जस्ता पदका लागि आईसीसीसँग समन्वय गरेर एक साता भित्रमा सूचना प्रकाशित गर्ने निणर्य गरेको थियो । ‘अप्रुभलका लागि आईसीसीमा पठाएका छौँ । नेपालको सवालमा अलि छुट्टै छ । निलम्बन पूणर्रुपमा फुकुवा नभएकाले हामीले हरेक कुराको सन्दर्भमा आईसीसीबाट अप्रुभल लिनुपर्छ,’ चन्दले भने ।

यस्तै राष्ट्रिय खेल भलिबल पनि प्रशिक्षणमा कहिले र कसरी फर्कने भन्ने पर्खाइमा छ ।

लकडाउनले गर्दा नेपाल भलिबल संघको निर्वाचन नै प्रभावित बनिसकेको छ । यस्तै एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप पनि कोरोना महामारीकै कारण स्थगित भएको छ । नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही सेन्ट्रल जोन हो ।

क्यान जस्तै नेपाल भलिबल संघ पनि अहिले अब कस्तो खालको निर्देशन र मापदण्ड आउँछ भनेर पर्खाइमा छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले अहिले सबैभन्दा महत्वपूणर् विषय स्वास्थ्य भएकाले तत्कालै प्रशिक्षणमा हाम नफाल्ने बताउँछन् । ‘स्वास्थ्य मुख्य विषय हो । अहिले सबैलाई बोलाएर प्रशिक्षण गर्दा भोलि एउटालाई केही भयो भने सबैमा फैलिन्छ । त्यसैले अहिले तत्कालै भलिबलको प्रशिक्षण गर्न सम्भव छैन ।’

यसैबीच पनि नेपाल ब्याडमिन्टन संघले त्रिपुरेश्वरस्थित कभर्ड हलमा र्‍याङ्किङमा रहेका खेलाडीहरुलाई बोलाएर प्रशिक्षण गराइरहेको छ ।

यस्तै टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका करातेका दुई खेलाडी अनु अधिकारी र नविन रसाइलीलाई दीपक श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया