कोरोना संक्रमणका कारण धरानका एकसहित थप तीन जनाको मृत्यु


झापा । नेपालमा कोरोना संक्रमणका कारण थप तीन जनाले ज्यान गुमाएका छन्।
पछिल्लो समय उपचारको क्रममा धरानमा एक र वीरगञ्जमा थप दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पर्सा जिल्लामा मात्रै सात जनाको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ।
बुधबार साँझ मोरङको सुनवर्सी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
उनी केही दिन अघि मात्र भारतबाट आएको खुलेको छ । पारिवारिक स्रोतका अनुसार उनी केही समयअघि भारतस्थित ससुराली गएका थिए ।
ससुरालीबाट फकिँदा बिरामी रहेका उनलाइ कोरोना सक्रमण पुष्टि भएपछि सुरुमा विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई कोशीले धरान रिफर गरेको थियो ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार बुधबार दिउँसो मात्र भर्ना गरिएका ती पुरुषको साँझ मृत्यु भएको हो ।
त्यसैगरी पर्सामा बुधबार मात्रै कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाएका छन् । ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायका अनुसार ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
गण्डक कोभिड अस्पतालका डा।उदयनारायण सिंहका अुनसार ६८ बर्षीय पुरुषमा मुटु र निमोनियाकोसमेत समस्या थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ६० छ ।
संक्रमितमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ जना, प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ ।

तपाईको प्रतिक्रिया