अब समृद्धि चेतनामा आउनु पर्छ

सरकार भौतिक संरचना निर्माणमा समृद्धि देख्छ । तर आम नागरिकमा चेतनामा समृद्धि आवश्यक रहेको देखिन्छ । सरकार दृष्यरुपमा देखिने र आम मान्छेलाई सोझै औँलाले हामीले गरेको बिकास र ल्याएको समृद्धि भनेर बाटो, पुल पुलेसो ठुल—ठुलठुला भौतिक संरचना देखाउने र त्यसैलाई समृद्धिको वकालत गरिरहेको छ ।
तर कोभिड १९ बाट उत्पन्न कोरोना संक्रमणले लामो समयदेखि मुलुकमा लकडाउन छ । यो सकसपुर्ण दिनचर्याले आम नागरिकलाई थिलथिलो बनाएको छ । कोरोना संक्रमित र त्यसबाट मृत्युवरण गर्नेको संख्या बढ्दो छ । तीनै तहका सरकार ब्यवस्थापनमा लागेका छन् । तर खासमा आम नागरिकमा चेतना जगाउने खालका गतिविधि देखिएन । यसको ज्वालन्त उदाहरण हो । अहिले अनिवार्य मास्क प्रयोग गर्ने । पछिल्लो समय लकडाउन केही खुकुलो बनाउने सरकारले रणनीति अपनाएको छ । भौतिक दुरी कायम गर्दै बिशेष सतर्कता अपनाएर अनिबार्य मास्क लगाउनु पर्ने यदि नलगाएमा कारबाही गर्ने भन्दै प्रहरी प्रशासन र स्थानीय संघ संस्था सडकमा छन् ।
कोरोना संक्रमणबाट बच्न सरकरारले ठुलो धनराशी र जनशक्ति खर्चेको छ । तर आम नागरिक मास्क लगाउन समेत जान्दैनन् । मास्क किन लगाउने मास्क लगाउँदा के हुन्छ ? भन्ने समेत जानकारी नहुनु दुःखद् हो । खासै आर्थिक रुपमा पनि ठुलो आर्थिक ब्ययभार पर्दैन । तर पनि सरकार जनतालाई मास्क नत्र कारबाही भन्दै धम्क्याइरहेको छ । तर आम नागरिक टेर्ने वाला छैनन् । त्यसकारण सरकार भौतिक संरचना निर्माण मात्रै समृद्धि र चेतनाको कडी होइन भन्ने चेतना भया । अब जनतामा चेतनाको समृद्धि ल्याउनुको बिकल्प छैन ।
नेपाली समाज बौद्धिक छ, तर आवरणमा ।अर्कालाई ज्ञानगुणका कुरा बाँड्छ । अर्ती उपदेश फिरीमा समुहमा वा एकल सबैलाई बिना कन्जुस्याई बाँड्न तछाड मछाड गर्छ । तर आफु भने पटकै पालना गर्दैन् । किनभने उ आफुलाई सबै बिषयको जानकार छु भन्ने भ्रममा छ । त्यसले उसलाई अहमताको सीडिमा उठाउँदैछ । उस्ले बुझेको नियम कानुन र आफै दिएको उपदेशप्रति बिश्वास छैन । त्यही भएर उ आफु चाहिँ पालना गर्दैन् । यो एउटा भ्रमपुर्ण बौदिकताको उपच हो ।
प्रश्न उल्टो उठ्न सक्छ । सरकार पटक—पटक सनकका भरमा नियम कानुन ल्याउँदै छ । जस्तै केही दिन अगाडि मोटरसाइकलमा दुइजना सवार हुन नपाउने ? यस्ता अपरिपक्क नियम ल्याउने अनि फेरि ब्याक हुने । आम नागरिकसँग सम्बन्धित नियम कानुन ल्याउनु भन्दा पहिला घनिभूत रुपमा छलफल गर्नु पर्दैन ? सनकका भरमा ल्याएर हुन्छ ? आम नागरिकको जिज्ञासा हुन सक्छ ।
आज नागरिकलाई अनिबार्य गरिएको नियम र कानुन सबैका लागि हो की ? सर्ब साधारणका लागि मात्रै हो ? अनि सर्ब साधारण जनतालाई अनिबार्य मास्क लगाउन उर्दि गर्ने र गराउने निकाय यो नियमको पालना गर्दैछ की छैन ? त्यसकारण पनि आमनागरिक बिश्वस्त छैनन् । पहिला बिश्वस्त तुल्याउन आवश्यक छ । तर बिगतदेखि बर्तमानसम्म हेर्दा कानुनको धज्जी उडाउनेमा पहुँच र शक्तिमा रहेकाबाट भएका प्रशस्त घटना छन् । यो संक्रमणकालमा पनि यस्ता गतिबिधिहरु स्थानीय तह, प्रहरी प्रशासन र राजनीतिक दलका नाममा भएका छन् ।
बिश्व आज कोरोना संक्रमणको सामना गरिरहेको छ । त्यसले हामीलाई पनि छाडेको छैन । कोरोना संक्रमणको सामना गर्नुको बिकल्प पनि छैन । संक्रमणबाट बाँच्न प्रत्येक नागरिकले सचेत हुनुको बिकल्प छैन । त्यसकारण पनि राज्यले तोकेको नियम र स्वास्थ्य सचेतनाको पुर्णपालना गर्नु हामी आम नागरिकको कर्तब्य नै हो ।
आज सडक चोक बजारमा बिभिन्न संघ–संस्था समेतको उपस्थितिमा कोरोना संक्रमणबाट बच्न अनिबार्य मास्कको प्रयोग गरौँ भनेर खबरदारी गरेका दृष्यले हामी सचेत नागरिकलाई कुरीकुरी गरिरहेको छ । यो महामारीमा प्रत्येक नागरिक सचेत र अनुशासीत हुन आवश्यक छ । अब सञ्चारमाध्यमबाट मास्क नलगाउँदा यति जना कारबाहीमा परे भन्ने समाचार सुन्न, हेर्न र देख्ने निर्लज्जापनको अवस्थाको अन्त्य हुन आवश्यक छ । लामो समयको लकडाउनले अर्थतन्त्र थिलथिलो भएको छ । हामी सबैको दैनिकी कष्टकर नै छ र तर पनि पहिलो प्राथमिकता भनेको बाँच र बचाउनै हो । त्यसकारण बिश्वलाई चेतनाको नयाँ दियो बाल्ने काम हामी नेपालीबाटै शुरु हुनु पर्छ ।

तपाईको प्रतिक्रिया