पूर्वका नाकाबाट नेपाल आउने भन्दा भारत फर्कने चौ गुणा बढी

झापा । लकडाउनयता प्रदेश १ को काँकडभिट्टा नाकाबाट सबैभन्दा धेरै मानिसको आउजाउ भएको पाइएको छ ।
भारतसँग सिमाना जोडिएका चार जिल्लामध्ये झापाको काँकडभिट्टा नाकाबाट धेरै भारतीय भारततर्फ गएका छन् । यसैगरी त्यही नाका भएर स्वदेश फर्कने नेपालीको संख्या पनि अधिक छ । प्रदेश सरकारले नेपाल–भारत सीमाका विभिन्न पाँच नाकाबाट मात्र आउजाउ गर्न पाउने नियम लगाएको छ ।
झापाको काँकडभिट्टा, मोरङको जोगबनी र रंगेली, सुनसरीको भान्टाबारी र इलामको पशुपतिनगर नाकाबाट मात्र आउजाउ गर्न पाइन्छ । तीमध्ये पनि ठूला मानिएका काँकडभिट्टा र जोगबनीबाट मानिसहरू आउने–जाने क्रम अधिक छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश १ का विभिन्न नाकाबाट जम्मा २८ हजार ९ सय ७५ जनाले सीमा वारपार गर्दै आफ्ने गन्तव्यतर्फ गएका छन् । नेपाल आउनेभन्दा पनि भारततर्फ जाने भारतीयकै संख्या अधिक देखिएको छ । झापाको काँकडभिट्टा नाकाबाट १५ हजार ७ सय १२ भारतीय भारततर्फ गएका छन् ।
जेठ १४ देखि असार ३२ गतेसम्मको तथ्यांकअनुसार ६ हजार २ सय ६५ नेपाली स्वदेश फर्किएका छन् । १८ हजार ६ सय ९९ भारतीय भारत गएका छन् । मोरङ विराटनगरको जोगबनी नाकाबाट २ हजार ९ सय ८५ जना र इलामको पशुपति नगरबाट दुईजना भारततर्फ गएका छन् । जोगबनी नाकाबाट २ हजार ६ सय ५८, सुनसरीको भान्टाबारी नाकाबाट १ हजार ३१ र इलामको पशुपतिनगरबाट ३ हजार २ सय जना नेपालतर्फ प्रवेश गरेका छन् ।
दुवै देशका स्थानीय प्रशासनसँगको समन्वयमा अलपत्र परेका र स्वदेश फर्कन चाहने नागरिकलाई सुरक्षाकर्मीको निगरानीमा आउन र जान दिने गरिएको छ । नेपालतर्फ आउनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर सम्बन्धित पालिकातर्फ पठाउने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार जोगबनी नाका भएर कोही पनि नेपाली स्वदेश फर्किएनन् तर ९८ भारतीय भारततर्फ गए । जोगबनी नाकामा पनि नेपाल आउनेभन्दा भारततर्फ जाने धेरै छन् ।