क्रिकेट खेलाडीले पाएनन् एक वर्षको तलब, क्यानले गुहार्‍यो आईसीसी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले एक वर्ष बितिसक्दा समेत तलब पाउँन सकेका छैनन् ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा पर्दा क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलाडीको खातामा तलब पठाउँदै आएको थियो । तर, पछिल्लो एक वर्ष २०१९ को तलब भने खेलाडीले पाउन सकेका छैनन् ।
लामो समयको निलम्बनपछि क्यानमा नयाँ कार्यसमिति आयो । त्यसपछि आईसीसीले स्वयम् दिँदै आएको खेलाडीको तलब क्यानमार्फत् दिने जानकारी दिइएको थियो । त्यसका लागि आईसीसीले क्यानको आधिकारिक पत्र मागेको थियो । क्यानले पत्र बुझाउँदा समेत खेलाडीले आईसीसीबाट प्राप्त गर्दै आएको वर्ष २०१९ को तलब पाउन सकेनन् ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, “क्यानमा नयाँ कार्यसमिति आएपछि आईसीसीले क्यानमार्फत् खेलाडीको तलब दिने निर्णय गरेको थियो । त्यसका लागि क्यानबाट पत्र मागेको थियो । हामीले पत्र समेत बुझाएका थियौ । तर, तलब पाएको छैन ।”
क्यानले पत्र पठाए पनि पछिल्लो समय कोरोना भाइरस महामारीका कारण करिब तीन महिना आईसीसीले काम गर्ने सहज वातावरण नहुनुले खेलाडीको तलब नआएको हुन सक्ने उनको भनाइछ । “हामीले खेलाडीको तलब दिन आईसीसीलाई गुहारिरहेका छौं,” उनले भने ।
आईसीसीलाई सन् २०१९ देखि केन्द्रीय सम्झौतामा रहेका खेलाडीको पारिश्रमिक बढाएर दिन समेत आग्रह गर्ने उनले बताए । प्रत्येक ग्रेडका खेलाडीलाई १० हजारका दरले एक वर्षको तलबमा बढाएर पठाउन आईसीसीसँग प्रस्ताव गर्नेछौं । हाल ‘ए’ ग्रेडमा रहेका खेलाडीले ३५ हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीले २५ र ‘सी’ ग्रेडमा रहेका खेलाडीले १५ हजारका दरले मासिक भत्ता पाउने गरेका छन् ।
त्यस्तै खेलाडीको नयाँ ग्रेड २०२० बाट लागु हुने उनले बताए । यसका लागि क्यानले एक समिति गठन गरेको छ । खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टका लागि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा समिति गठन गरेको हो । लकडाउनपछि उक्त समितिले बुझाएको खेलाडी ग्रेड रिपोर्टलाई क्यान बोर्ड बैठकलले पारित गर्नेछ ।
“पुरुष खेलाडीको ग्रेडका लागि हामीलाई हतार छैन । किनभने उनीहरूको ग्रेड पहिलेदेखि नै छ । हामीले खेलाडीको ग्रेड परिमार्जित गर्न मात्र खोजेका हौं । तर, त्यसमा पनि ग्रेड छुट्याउन केही समय पक्कै लाग्नेछ,” उनले भने, “कुन खेलाडीलाई कुन ग्रेडमा राख्ने भन्ने विषयमा धेरै अध्ययन गर्नुपर्ने हुन्छ । २२ जना खेलाडी समेटेर मात्र ग्रेडमा राख्न मिल्दैन ।”
उनले महिला खेलाडीको ग्रेडिङको विषय पनि अन्तिम चरणमा पुगेको बताए । सुरुमा महिला खेलाडीको मासिक भत्ता थोरै भए पनि बिस्तारै खेलाडीको तलबमा वृद्धि हुँदै जाने उनले बताए ।

तपाईको प्रतिक्रिया