कुन रोगबाट बच्न कस्तो योगासन ?

डा. चूडामणि पाण्डेय

वर्तमान मानव समाज मोजमस्ती एवम् ऐशआरमको भोको छ । हरक्षण मोजमस्तीमै भुल्न एवं रमाउने यत्न गरिरहेका देखिन्छन् । यस क्रममा मीठोमसिनो खानेकुरा, आरमपूर्ण दिनचर्या अपनाएको देखिन्छ ।
तर मीठोमसिनाको चक्करमा अखाद्य कुरा पनि खाएको देखिन्छ वा आफ्नो खानपानमा ध्यान नदिंदा स्वास्थ्यसंग सम्बन्धित समस्या आएको देखिन्छ । जबकी हाम्रो धेरैजसो रोगको कारण नै खराब खानपान बनिरहेको अवस्था छ । अर्कोतिर शारीरिक सक्रियता र व्यायामको अभावमा पनि रोगी बन्दै गएको देखिन्छ । हामी सुविधाभोगी बन्दैछौ्रं, ऐशआरम खोज्दैछौं, मीठोमसिनो रोज्दैछौं । यही कारण हाम्रो शरीर जीर्ण र रोगी हुँदैछ । रोगी शरीर लिएर बाँच्नु आफैमा एक यातनापूर्ण हुन्छ । त्यसैले जीवनशैली सुधारेर, योग, ध्यान गरेर स्वस्थ जीवन बाँच्ने बाटो खोज्नुपर्नेछ ।
आजको मान्छेहरुले शारीरिक समस्या आयो भने पनि छिटो समस्या समाधान गर्न विभिन्न औषधि प्रयोग गर्दछन्, जसले हाम्रो स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेका हुन्छन् । हामीले आफू स्वास्थ रहनु पर्ने कुरामा ध्यान दिनु अनिवार्य देखिन्छ । यसका लागि विभिन्न योगासन तथा प्राणायामहरु गरेर प्रायः धेरै जस्तो रोगहरु नियन्त्रण गर्न सक्दछौ । यहाँ केही रोग र त्यसका लागि गर्नु पर्ने योगादी क्रियाको चर्चा गर्न खोजिएको छ ।
कब्जियत
कब्जियत अहिले धेरै मानिसमा व्याप्त रहेको पेटको स्वास्थ्य समस्या हो । वर्तमान समयमा हामीले खाने धेरैजसो खाद्य पदार्थहरू तेलजन्य कुराहरू र मैदाबाट बनेको हुन्छन जुन कुरा कब्जियत निम्त्याउने मुख्य कुरा हो । हरियो सागपात, प्रशस्त मात्रामा फलफुल खानाले र प्रशस्त मात्रामा पानी पिउनाले यो रोगबाट बच्न सकिन्छ । बिहान उठ्दा तामाको भाडामा राखिएको पानी पिउनु पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ। आसन, प्राणायाम तथा षट्कर्मजस्ता योगादि कार्यले कब्जियत नियन्त्रणमा सहयोग पुर्‍याउने गर्छन् ।
कब्जियत नियन्त्रणमा सहयोग पुर्‍याउने योगादि क्रियाहरू स्
आसनहरुः सूर्यनमस्कार, पवन मुक्तासन, सुप्त बज्रासन, अर्धमत्स्येन्द्रासन, मकरासन, मत्स्यासन, उष्ट्रासन, योगमुद्रा
प्राणायाम ः नाडी शोधन
षटकर्म ः लघुशंख प्रक्षलन, नौली, अग्निसार
पाइल्स
कब्जियत बढ्दै गएपछि दिसा गर्न गाह्रो भएपछि गुदद्वारमा देखापर्ने समस्या पाइल्स हो। यसबाट बच्नका लागि पीरो, मसलेदार एवं चिल्लो खानेकुरा खानु रोक्नु पर्छ। यसका साथसाथै योगासन, प्राणायाम, षट्कर्मजस्ता योगादि कार्य गर्नु राम्रो मानिन्छ ।
पाइल्स नियन्त्रणमा सहयोग पुर्‍याउने योगादि क्रियाहरूः
आसनः पश्चिमोत्तानासन, योगमुद्रा, गोरक्षासन, मकरासन, हलासन, सर्वाङ्गासन
मोटोपना
शरीरको तौल चाहिनेभन्दा बढी हुनु नै मोटोपना हो, जसले गर्दा शरीरमा अनावश्यक रुपमा बोसो बढ्छ र शरीर भारी तथा रोगको थुप्रो बन्दछ । मोटोपनाबाट बच्नका लागि कम खान खाने, व्यायाम गर्नुपर्छ । यसका साथै आसन, प्राणायाम तथा अन्य योगादि कार्यहरू गर्नुपर्छ।
मोटोपना नियन्त्रणमा सहयोग पुर्‍याउने आसनहरूः
सूर्यनमस्कार, गतिशील पादहस्तासन, बज्रासन, पवनमुक्तासन, विपरीतकरणी आसन, मत्स्यासन, मयूरासन, मकरासन आदिः
मधुमेह
रगतमा ग्लुकोजको मात्रा सन्तुलित नभएर देखापर्ने रोग मधुमेह हो । यो रोगबाट बच्नका लागि खानपिनमा चोकरयुक्त खाना खाने, कार्बोहाइड्रेटयुक्त खाना नखाने र तरकारी खानुपर्छ। त्यसका साथै विभिन्न योगादि कार्यहरू गर्नुपर्छ।
मधुमेह नियन्त्रणमा सहयोग पुर्‍याउने योगादि क्रियाहरू ः
आसन ः सूर्यनमस्कार, ताडासन, शशकासन आदि ।
प्राणायाम ः भ्रामरी, भास्त्रिका, नाडी शोधन ।
उच्च रक्तचाप
कुनै कारणले रक्तनली साँघुरो वा कडा भएमा रक्तनलीमा प्रचुर दबाब पर्दछ जुन उच्च रक्तचाप हो । यस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खानामा नुनको मात्रा कम गर्ने र बढी भन्दा बढी रसाहार तथा फलाहारमा जोड दिने गर्नुपर्छ । त्यस्तै विभिन्न योगादि क्रियाहरू गर्नुपर्छ । उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउने योगादि क्रियाहरू ।
आसनः पवन मुक्तासन, ब्रजासन, सिद्धासन
प्राणायामः कपालभाती, नाडी शोधन
निम्न रक्तचाप
शरीरमा रगतको अवस्था सामान्यभन्दा कमी हुनु निम्न रक्तचाप हो । जसले मानिसलाई धेरै हानि पुर्‍याइरहेको हुन्छ । रक्तचापलाई सामान्य अवस्थामा राख्न पानी प्रशस्त मात्रामा पिउने, फलफूल, जुस तथा हल्का सुपाच्य भोजन आवश्यकतानुसार खाने र विभिन्न योगादि क्रियाहरू गर्नुपर्छ ।
निम्न रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउने योगादि क्रियाहरू ।
आसनः सूर्य नमस्कार, कर्णपीडासन, गतिशील आसनहरू
प्राणायामः कपालभाती, भास्त्रिका ,सूर्यभेदी
दम
दम श्वासप्रश्वाससँग सम्बन्धित एउटा रोग हो । धुवाँ, धुलोलगायतको वातावरणीय प्रदूषणबाट जोगिनुपर्छ र चिसोबाट जोगिनु पर्छ। यसबाट बच्नका लागि तरकारी तथा चोकर खानेकुरा खानुका साथै योगादि क्रिया गर्नुपर्छ।
दम नियन्त्रणमा सहयोग पुर्‍याउने योगादि क्रियाहरू ।
आसनः सूर्यनमस्कार, सुप्त बज्रासन, सर्वाङ्गासन, मार्जारी आसन, उष्ट्रासन, मत्स्यासन, पादहस्तासन, शवाशन आदि ।
प्राणायामः भस्त्रिका, कपालभाती आदि ।
अनिद्रा
रातमा निन्द्रा नलाग्नु अनिद्रा हो । यसले मानिसमा मानसिक तनाव हुनुका साथै विभिन्न रोगहरू लाग्न सक्छ। फलफूल, तरकारी खाने, तनाव नलिने र विभिन्न योगादि क्रिया गर्नुपर्छ।
अनिद्रा हटाउनमा सहयोग पुर्‍याउने योगादि आसनहरू ।
आसनः सूर्य नमस्कार, ताडासन, सुप्त बज्रासन, उष्ट्रासन, धनुरासन, मकरासन, हलासन आदि
मानव जीवन पाउन त्यति सजिलो छैन । मानव जीवन हाम्रै कारणले गर्दा खतरा परेको छ। हाम्रा विभिन्न खानपानले गर्दा हाम्रो अस्तित्व नै संकटमा पर्ने देखिँदैछ । हामीले आफ्नो अस्तित्व संकट रोक्नका लागि भए पनि खानपान व्यस्थापन गर्नु जरुरी छ ।
स्वास्थ्यमा कुनै समस्या आयो भने शीघ्र लाभका निम्ति हामी औषधिको खोजीमा लाग्छौं । ती औषधिहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यसबाट स्वास्थ्यमा आउने समस्या नियन्त्रण गर्नु अनिवार्य देखिन्छ । अहिले धेरै जस्तो मानिसहरू योग तथा प्राकृतिक चिकित्सातर्फ लागेका छन् । योगादि क्रियाका माध्यमबाट धेरै दीर्घरोग एवं जटिल खालका रोगहरू पनि ठिक भएको देखिन्छ। अबका दिनमा हामीले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा तथा विभिन्न रोगहरू निर्मूल पर्न पनि योगादि कार्य गर्नु अनिवार्य देखिन्छ । हामीले हाम्रो जीवनमा योगादि क्रियाहरू गर्न सकियो वा योगादि क्रियामा हाम्रो जीवनलाई समाधिस्त गर्न सक्यौं भने हामी स्वस्थ र निरोगी हुन्छौं ।

तपाईको प्रतिक्रिया