आ आफ्ना स्वार्थका कारण मेचीनगरको नगरसभा हुन सकेन्

मेचीनगर । मेचीनगर नगरपालिकाको छैठौँ नगरसभा हुन सकेन् । वडालाई कम बजेट दिएर ठूलो रकम नगर केन्द्रीत गर्न खोजिएको भन्दै कार्यपालिकामा तीब्र असन्तुष्टि देखिए पछि सभा रोकिएको हो ।
वडा केन्द्रीत बजेट बिनियोजन गर्न माग गर्दा नगर प्रमुख विमल आचार्यले नमानेपछि कार्यपालिका सदस्यले आक्रोस पोखेका छन् । ‘नगर नेतृत्वको असक्षमताका कारण नगरसभा हुन सकेन’, कार्यपालिका सदस्य निर्मला परियारको भनाई छ ।
जनमुखी बजेट बनाउनु पर्नेमा नगर नेतृत्वले आफू अनुकूलको बजेट बनाएपछि विवाद सुरु भएको उनले जानकारी दिइन् । कार्यपालिका सदस्यको माग सम्वोधन गर्न नगर प्रमुख आचार्य तयार नभएको आरोप छ ।
नगरप्रमुखले अधिकारलाई नगरपालिकामै केन्द्रीय गर्न खोजेपछि नगरसभा हुन नसकेको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य एवम् नेकपा संसदीय दलका उपनेता टीकाराम मंग्रातीले बताए ।
‘जनस्तर र जनमुखी नीति तथा कार्यक्रम बनाउन खोज्दा नगरप्रमुखले मान्नु भएन’, उनले भने, ‘नगरप्रमुखकै अडानका कारण नगरसभा बस्न सकेन, बजेट ल्याउन नगर असफल भयो ।’ स्रोत बाँडफाँडमा समेत कुरा नमिलेपछि नगरसभा स्थगन भएको हो ।
मेचीनगरको कार्यपालिकामा नगरप्रमुख बिमल आचार्यसहित आठ जना कार्यपालिका सदस्य नेपाली कांग्रेसका छन् भने उपप्रमुख मिना पोखरेलसहित १७ जना नेकपाका छन् ।
नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्नै पर्ने प्रावधान छ । तर, बजेटको आय व्यय विवरण र कार्यक्रम तयार बनाइसकेको मेचीनगरले यसपटक नागरिक तहमा छलफल नगरेकोमा वडाबासी पनि असन्तुष्ट देखिएका छन् ।
नगर प्रमुख आचार्यले नेकपाका कारण नगर सभा हुन् नसकेको बताए । उनले भने  बिषयगत शाखालाई पहिलो प्रार्थमिकता राख्नु पर्नेमा सबै बजेट वडा र कार्यपालिका सदस्यका लागि माग भए पछि सहमति हुन नसकेको हो । नगरबासीको अपेक्षा अनुरुपको निती तथा कार्यक्रम आजै नगरसभाबाट सार्बजनिक गर्नु पर्ने हो । तर गर्न सकिएन यो दुःखद् भएको बताए ।