कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु, डिस्चार्ज हुनेको संख्या ४९


काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।
कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् ।
पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।
अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् ।
टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।
महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन । उनीहरु नवौं दिनमा डिस्चार्ज भएका छन् ।
अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेको उनले जानकारी दिए । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया