काँकरभिट्टामा होल्डिङ प्वाइन्ट र १४ वडामा क्वारेन्टाइन स्थापना


मेचीनगर/ मेचीनगर नगरपालिकाले एउटा होल्डिङ्ग प्वाइन्टसहित १४ वटा वडामा क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।
नगरलाई कोरोना भाइरसको जोखिमबाट सुरक्षित राख्न नगरपालिकाले आइतबारदेखि एउटा होल्डिङ्ग प्वाइन्टसहित सबै वडामा क्वारेन्टाइनको प्रबन्ध गरेको हो ।
छिमेकी देश भारतलगायत तेस्रो मुलुकबाट पूर्वी नाका हुँदै प्रवेश गर्ने मेचीनगरवासीको स्वास्थ्य सुरक्षाका लागि होल्डिङ्ग प्वाइन्ट र क्वारेन्टाइन स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख विमल आचार्यका अनुसार विभिन्न देशबाट मेचीनगर भित्रिने नागरिकलाई कोरोनाबाट जोगाउन सम्बन्धित वडाका क्वारेन्टाइनमा राखिनेछ ।
भारतबाट काँकरभिट्टा भित्रिने नेपालीहरुको संख्या बढेसँगै कोरोनाको संक्रमण रोकथामका लागि सबै वडामा धमाधम क्वारेन्टाइनको व्यवस्था गर्न थालिएको उनले बताए ।
नगरले वडा नम्बर १ को जनकल्याण प्रावि, २ को मेची जनसाधारण मावि, ३ को नवज्योति आधारभूत विद्यालय र जनता मावि, ४ को पशुपति मावि र सरस्वती मावि तथा ५ को बालकल्याण माविलाई क्वारेन्टाइन बनाउनेछ ।
त्यस्तै, वडा नम्बर ७ को सरस्वती प्रावि, ८ को आदर्श मावि, ९ को कवि शिरोमणि मावि, १० को राधास्वामी भवन, ११ को धाइजन स्वास्थ्य चौकी तथा १२ को अमर प्रावि, बालकल्याण मावि र कालिका आधारभूत विद्यालय क्वारेन्टाइन बन्नेछन् ।
यसैगरी, वडा नम्बर १३ को शहिद दशरथ चन्द मावि, १४ को कृष्ण प्रावि र बाल सुबोधिनि आधारभूत विद्यालय तथा १५ को ज्यामिरगढी मावि र र ज्ञानदिप प्रावि क्वारेन्टाइनका रुपमा रहनेछन् ।
नगरका सामाजिक विकास समिति संयोजक नविन बरालका अनुसार वडा नम्बर ६ स्थित काँकरभिट्टा माविमा होल्डिङ्ग प्वाइन्ट राखिएको छ भने वडा नम्बर ६ मा क्वारेन्टाइन समेत राख्ने तयारी भइरहेकोछ ।
भारतबाट आउने सबै नेपालीलाई उक्त होल्डिङ्ग प्वाइन्टमा राखेर कोरोना परीक्षणपछि सम्बन्धित ठाउँमा पठाइने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।
उनका अनुसार क्वारेन्टाइनको टुंङ्गो लागेसँगै भारतबाट आएका नागरिकहरु आ–आफ्ना वडाका क्वारेन्टाइनमा आइतबारदेखि नै बस्न थालिसकेका छन् ।
क्वारेन्टाइनको व्यवस्थापन गर्न नगरपालिकाले सामाजिक विकास समिति संयोजक बराल र वरिष्ठ प्रसाशकीय अधिकृत वस्तीलाई सम्पर्क व्यक्तिको जिम्मेवारी प्रदान गरेको छ ।
क्वारेन्टाइनमा रहनेहरुका लागि नगरपालिकाले भूर्इँमा ओछ्याउने म्याटको व्यवस्था गर्ने जनाएको छ । उनीहरुका लागि आवश्यक खाद्यान्न र लत्ताकपडाको प्रबन्ध सम्बन्धित परिवारले गर्नुपर्ने बताइएको छ ।
भारतको चेन्नईमा उपचारपछि भद्रपुर हुँदै आफ्नो वडा आएका २ जना महिलालाई आइतबार राधास्वामी क्वारेन्टाइनमा राखिएको छ । अन्य वडावासीलाई आफ्नो वडाको क्वारेन्टाइनमा नराखिने वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुले बताएका छन् ।